|

दाङ :  श्रावण शुक्ल पूर्णिमामा बिहान सबेरै नदी, तलाउमा नुहाई ऋषिलाई तर्पण दिई नयाँ जनै लगाउने सनातन वैदिक धर्मावलम्बीको परम्परा छ।

पुरोहितले हातमा रक्षाबन्धन लगाउने चलन छ। पछिल्लो समय दिदीबहिनीले दाजुभाइलाई राखी बाँध्ने चलन पनि बढेको छ।  

जनै लगाउँदा थर नै जनैदार
तुलसीपुर उपमहानगरपालिका-१८ का टोपबहादुर दमाईंले २०५१- ५२ सालमा जनै लगाउनका लागि तत्कालीन राजा वीरेन्द्रलाई पत्र पठाए। राजा वीरेन्द्रले हिन्दु धर्म मान्ने जुनसुकै व्यक्तिले जनै लगाउने मिल्ने जवाफ दिएपछि उनले जनै लगाउन शुरु गरेको बताए। उनले भने, ‘म दमाईंको छोरा हुँ। अहिले जनैदार लेख्ने गरेको छु। राजाबाट नै मलाई जनैदार भनेर हुकुम आएको थियो।’  उनले हिन्दु धर्मावलम्बीलाई समान अधिकार भएको वेदमा पनि लेखेको हुँदा आफूलाई जनै लगाउने रहर लागेको र तत्कालीन राजाबाट पनि हिन्दु धर्म मान्नेलाई समान अधिकार भएको भन्ने जवाफ आएपछि आफूले जनै लगाउन शुरु गरेको बताए।

उनले पढ्ने वेला पनि मनुस्मृतिमा पनि ब्राह्मण‚ क्षेत्री, वैश्यले फरक फरक खालका जनै लगाउनु भन्ने उल्लेख रहेको पनि बताए। जनै लगाउने विषयमा सूद्रलाई केही नभनेकाले आफूले त्यसको खोजी गर्दा लगाउन मिल्ने कुरा आएपछि लगाउन शुरु गरेको पनि उनको भनाइ छ।

उनले आफूले धरानका छविलाल पण्डितबाट जनै धारण गरेको भन्दै जनै लगाउँदा सभ्य समाजको सिर्जना गर्ने भएकाले पनि आफूले लगाएको बताए। उनले भने, ‘यसमा पनि नियम हुन्छन्। जसले गर्दा मानिसलाई राम्रा काम गर्नतर्फ मदत गर्दछ। म सधैँ बिहान नुहाएर मात्र खान्छु। यसले गर्दा स्वास्थ्यमा पनि फाइदा पुगेको छ। म सबै दलितलाई जनै लगाउन आग्रह गर्दछु। हिन्दु धर्म मान्ने सबैलाई समान अधिकार छ।’
 
उनले जनै लगाउनका लागि कसैले पनि नरोकेको उल्लेख गरे। उनले हिन्दु धर्मावलम्बीले जनै लगाउने मिल्ने भएकाले यसमा कानुन र धर्मले पनि नरोकेको उल्लेख गरे। उनले पछिल्लो समय युवा पुस्तामा जनै लगाउने संस्कृति हराउँदै गएकोमा दुःख व्यक्त गरे। उनले भने, ‘यो भनेको हामी हिन्दुको संस्कृति, धर्म र परम्परा हो। पछिल्लो पुस्तामा नेपाली संस्कृतिभन्दा विदेशी संस्कृति बढ्दो छ। त्यसैले हामी सबैले आफ्नो धर्म, संस्कृति संरक्षण गर्न जरुरी छ।’
 
पुराना पुस्तालाई चिन्ता
तुलसीपुर उपमहानगरपालिका-१८ मनिकापुरका ७० वर्षीय जुद्धबहादुर वली पछिल्लो समय जनै लगाउनेको संख्या घट्दै गएको बताए। पुर्खादेखि लगाउँदै आएको जनै पछिल्लो समय युवाहरूले झन्झट मानेको बताए। उनले आफ्नो धर्मकर्म छाड्न नहुने बताए।

उनले भने, ‘हामी पुर्खाले गर्दै आएका धर्मकर्म गरेर अहिले यहाँसम्म आइपुगेका छौँ। मैले पोहोर पनि जनै पुजाएर लगेको थिएँ। योपटक पनि पुजाएँ। पहिला हामीले आफैँले जनै बनाउँथ्यौँ। बुवाहरूले जनै बनाउन शुरु गरेपछि हामीलाई जनै पूर्णिमा छिटै आउँदै छ  भन्ने लाग्यो। अब त लगाउन पनि छाड्न लागिसके।’  उनले पछिल्लो पुस्ताकाले यसका बारेमा जानकारी भए पनि विभिन्न बहानामा थाहा नपाएको जस्तो गर्ने गरेको पनि बताए।

जनै पूर्णिमा र रक्षाबन्धनको महत्त्व नयाँ पुस्तालाई दिन जरुरी
तुलसीपुर उपमहानगरपालिका-६ का भीमलाल मरासिनीले रक्षाबन्धन, जनै पूर्णिमा र श्रावणीको महत्त्व नयाँ पुस्तालाई बताउन जरुरी रहेको बताए। यसको ज्ञान र महत्त्व बुझाउन नसक्दा पछिल्लो पुस्तामा यसको महत्त्व घट्दै गएको उनले उल्लेख गरे। उनले भने, ‘आज एक दिन जसोतसो लगाउने चलन छ‚ कमैले सधैँ लगाउने गरेको पाइन्छ। जनैको महत्व बुझाउन जरुरी छ।’

उनले हाम्रो रीतिरिवाज चाडपर्व धर्म संस्कृतिका बारेमा घरपरिवारले बुझाउन नसक्दा र युवापुस्ता धर्म संस्कृति, संस्कार र परम्परामा घुलमिल नभएर पश्चिममा संस्कृतिमा रमाउँदा अहिले समस्या भइरहेको पनि बताए।

नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डी दाङका सहप्राध्यापक डा. अर्जुनप्रसाद भट्टराईले जनै लगाउने र नलाउने भन्नेमा कसैलाई भेदभाव गर्न नहुने बताए।


 

  अघिल्लो समाचार

पछिल्लो समाचार  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.