|

संसारमा जलचर, स्थलचर र उभयचर सबै प्राणीहरूका आ–आफ्नै दुःख छन्। वास्तवमा सांसारिक दुःखका विभिन्न कारणहरू हुन्छन्। कहिले स्वयं आफ्नै कारणले दुःख निम्तिन्छ भने कहिले अरु कसैका कारण अथवा कुनै अवस्थाले दुःख सिर्जना गरिदिन्छ।

मलाई लाग्छ- संसारमा सबैभन्दा ठूलो दुःखको कारण जिब्रो हो। जबसम्म जिब्रोले ‘सही सलामत’ यात्रा गरिरहन्छ, हाम्रो अवस्था पनि सही नै रहन्छ तर जब जिब्रो चिप्लिन्छ तब जिन्दगी नै चिप्लिन पनि बेर लाग्दैन।

‘थुतुनो र अर्को कुन्नि के जाति जोगाउन सकिएन भने दुःख पाइन्छ’ भनेर बुढापाकाले ​ विना अनुभव त पक्कै भनेका होइनन्।

संसारका ठूला ठूला युद्धहरूको मुख्य कारण समेत जिब्रो चिप्लिनु नै हो। उदाहरणका लागि अचानक किम जोन उनको जिब्रो चिप्लिएर 'न्युक्लियर' बम हान्दिम्? भन्न भ्याए भने संसार नै थर्कमान हुन्छ।

जिब्रो चिप्लिनुको नतिजा कतिपय अवस्थामा तत्काल देखिन सक्छ भने कतिपय अवस्थामा लामो समयको अन्तरालमा बल्ल देखिन्छ। जेलेन्स्की रुसमाथि जिब्रो चिप्लाउँछन्। पुटिनको गिदीमा झट्का सुरु हुन्छ। यता पुटिनले जिब्रो चिप्लाउँछ, जेलेन्स्कीसहित युरोप र अमेरिकाको टाउकोमा झट्का सुरु हुन्छ।

परिणाम संसारले अहिले अनुभव गरिरहेका छन्। 

अमेरिका, चीन लगायतका देशका राष्ट्रप्रमुखका जिब्रा चिप्लिँदा पनि संसारले नै प्रत्यक्ष अप्रत्यक्ष असरको अनुभव गरिरहेकै हुन्छ। हाम्रो देशका नेताहरूको जिब्रो चिप्लिएको त हामीले वेलामौकामा अनुभव गरिरहन पाएकै छौँ। तर हाम्रो देशका नेताको जिब्रो चिप्लिनुको भने हाम्रै देशको लागि नकारात्मक असर पर्ने र उनीहरूले नै बारम्बार आत्मालोचना गर्नुपर्ने बाहेक अन्य खासै असर देखिन्न। मान्छेहरू जिब्रो चिप्लिसकेपछि उठाउन भन्दा पनि चिप्लिनु नै सही थियो भनेर प्रमाणित गर्न तर्फ तल्लीन भइदिने हुनाले जिब्रो चिप्लिएपछिको परिणाम अझ भयानक हुन जान्छ।

शक्तिशाली व्यक्तिको जिब्रो पनि शक्तिशाली नै हुने हुँदा चिप्लिँदा समेत ठूलै कम्पन पैदा हुन्छ र असर समेत ठूलै हुन्छ तर हामीजस्ता भुईँमान्छेको जिब्रो चिप्लिँदा प्रभावक्षेत्र कम हुने भए पनि केही न केही र कोही न कोहीलाई अलिकति भए पनि असर गरेकै हुन्छ। अरु कसैलाई असर गरेन भने  स्वयं आफैँलाई मात्र भए पनि असर त गर्छ गर्छ।

ठूला मान्छेको जिब्रो चिप्लाइबारे सात भूगोलले अनुभव गरिरहेकै छ। तर, यहाँ म जस्ता सामान्य जिन्दगी जिउने मान्छेका पनि आफ्नै दु:ख छन्, जसले जिब्रो चिप्लिएकै भरमा बेलाबखतमा अप्ठ्यारो गौँडामा हिँड्नुपर्छ। केही घटनाका अनुभव छन्, केही घटना छन् जो मेरो स्मृतिपटलमा आइरहन्छन्।

आठ\नौ कक्षा पढ्ने बेला एकदिन सानोतिनो कुरामा नै आफ्नै कक्षाको एउटा भुस्तिघ्रे साथीसँग झगडाको स्थिति भयो। भनाभन चल्दै गर्दा मेरो जिब्रो चिप्लिहाल्यो, लौ छोएर त देखा।

उसले पनि ‘लौ छोएँ के गर्छस्’ भन्दै मेरा पाखुरामा प्याट्ट हान्यो। रिसको झोँकमा आफ्नो बल विचार नगरी मैले पनि हेर्छस् के गर्छु भन्दै मुख नै ताकेर एक चोट कसिलै पाराले बजाइदिएँ।

त्यसपछि बल्ल पो लौ छोएर त देखा भन्दै चिप्लिएको मेरो जिब्रोको प्रभाव देखिन थाल्यो। मेरो एक चोटको बदलामा मेरो शरीरमा त्यो कोक्ल्याँटो भुस्तिघ्रेका कति मुड्की बजारिए मैले मेसो पाइनँ।

प्लस टु पढ्दाताका हाम्रो ग्याङमा खूब पौडी खेल्न जाने लहर थियो। पौडी पोखरी नजिकै एउटी दिदीको घर थियो। पौडिएर फर्किँदा हामी जहिल्यै दिदीको घरमा पसेर भेटघाट गरेर आउँथ्यौँ।

दिदी खूब स्नेही हुनुहुन्थ्यो। गएपछि केही नखुवाई हिँड्नै दिनुहुन्नथ्यो। तर हाम्रो ग्यांगको एउटा साथीको जिब्रो असाध्यै चिप्लो थियो। हामी पुग्नासाथ दिदी लस्सी बनाउँछु भन्नुहुन्थ्यो तर त्यो चिप्लो जिब्रोवाला साथीको जिब्रो चिप्लिएर ‘हैन हैन दिदी दुःख नगर्नू भर्खर खाजा खाएर आएको’ भनिहाल्थ्यो।

दिदीले जे खुवाउँछु भन्दा पनि पर्दैन भन्ने उसको थेगो भएको हुँदा त्यसको प्रत्यक्ष मारमा हामी जस्ता हन्तकाली साथीहरू परेका थियौँ। दिदीले केही न केही त खुवाएरै छाड्नुहुन्थ्यो तर त्यो एउटा साथीको जिब्रो चिप्लिनाले अगस्तिको जस्तो हाम्रो भुँडीले कहिल्यै शान्तिको सास फेर्न पाउँदैनथ्यो।

त्यहीताका भर्खर किशोरावस्था पार गर्न लागेको उमेरको लहडले केही साथीहरू धूमपानको लतमा पर्न थालेका थिए। खाजा खाने छुट्टीमा क्याम्पस नजिकैको पसलमा गएर चिया खाने क्रममा एक दुई जना साथीहरू चुरोट पनि खान्थे र अन्त्यमा चुरोटको गन्ध नआवोस् भनेर भिक्स चकलेट खाएर फर्किन्थे। एकदिन एउटा साथीले चकलेट खान बिर्सिएछ। साथीको दिदी पनि त्यही क्याम्पस पढ्नुहुन्थ्यो।

गेटबाट छिर्नासाथ दिदीसँग जम्काभेट भयो। चुरोटको गन्ध सिधै दिदीको नाकमा ठोकिएछ। ‘चुरोट खाएर आइस् गोरु’ भन्दै दिदी पड्कनुभयो। साथीले होइन, छैन भनेर जिद्दी गरेर उम्किनुपर्ने तर विचरा हड्डी नभएको उसको जिब्रो चिप्लिहाल्यो। धत्तेरी चकलेट खानै बिर्सेछु। त्यति भनेपछि त के चाहियो र ? तँलाई पख्, बेलुका घर त आउलास् नि भन्दै दिदी जानुभयो। धूमपानले त फोक्सोमा असर गर्नुपर्ने हो तर भोलिपल्ट पो थाहा भयो, साथीको जिब्रो चिप्लिनाले धूमपानले साथीको फोक्सोमा होइन ढाडमा पो असर गरेछ। दिदीले भाइको कर्तुत बुबाको कानसम्म पुर्‍याइदिनाले बुबाको हातबाट साथीको ढाडले मिठै मालिस भेटेछ।

क्याम्पस पढ्न शुरु गरेपछि हामी पैसा हुनासाथ भृकुटीमण्डप पार्कमा पिङ खेल्न जान्थ्यौँ। आफ्नै क्याम्पसको गेटअगाडि भर्खर मात्र खुलेको पार्कले हामीजस्ता बुद्धिले काम गर्दा खल्तीमा पैसा नहुने, खल्तीमा पैसा हुँदा बुद्धिले काम नगर्ने उमेरका केटाहरूलाई राम्रै मनोरञ्जन दिन्थ्यो।

हामी पनि खल्तीमा पैसा हुनासाथ प्रायः त्यतै गइहाल्ने हुनाले त्यहाँका कर्मचारीहरूले समेत हामीलाई चिन्न थालिसकेका थिए। संस्कृत विश्वविद्यालय अन्तर्गतको वाल्मीकि विद्यापीठमा पढ्ने भएपनि पश्चिमी संस्कृतिको बढ्दो प्रभाव भनौँ वा अल्लारे उमेरको प्रभावले हामीलाई संस्कृत पढ्छु भन्न लाज लाग्थ्यो। त्यसकारण कसैले कहाँ पढ्छस् भनेर सोधे भने हामी अर्कै क्याम्पसको नाम भन्थ्यौँ।

एकदिन पार्कको कर्मचारीले बाबुहरू दिनदिनै यतै हुन्छौ, कहाँ पढ्छौ र? भनेर सोधे। साथीले हतार हतार रत्नराज्य क्याम्पस भनिहाल्यो। उनले फेरि कुन तहमा? भनेर सोधे। यसपाली भने साथीको जिब्रोले गति छोड्यो, 'बीबीएस' उसले जवाफ दियो। ‘रत्नराज्यमा बीबीएस छ र?’,  उनले फेरि पनि सोधे।

साथीले म तिर फर्केर ‘ओई आरआरमा बिबिएस छैन र?’ भनेर सोध्यो। त्यो मानविकी क्याम्पस हो कहाँ व्यवस्थापन छ त ? त्यहाँ बीए मात्र हुन्छ बीबीएस हुँदैन।  मैले यति भन्दा भन्दै साथी लाजले भुतुक्क हुँदै त्यहाँबाट सुइँकुच्चा ठोक्यो। पछि क्याम्पस चौरमा पुगेपछि बल्ल केटो होसमा आएझैँ भयो। ‘अब त कहिल्यै कसैलाई ढाँट्दिनँ। जसले सोधे पनि वाल्मीकि विद्यापीठमा शास्त्री पढ्छु भनेर भन्छु। लाजमर्दो नै भयो’, भन्न थाल्यो।

 यो साथीको भने सही ठाउँमा जिब्रो चिप्लिएछ, त्यही एउटा घटनाले उसलाई आजीवन सत्यवादी बनायो। त्यसपछि त केटो गजब तरिकाले सुध्रिने छाँट देखायो।

एक पटक गाउँकै एउटा भाइको विवाहमा जन्त गएर फर्कँदै थियौँ। बीच बाटोमा आइपुगेपछि साथीहरू माझ आज त्यहीँ बस्ने र भोलि घर फर्कने भन्ने योजना बनाउन शुरु भयो। योजना लगभग लगभग सहमति नजिक पुग्न लागिसकेको थियो। त्यही बेला एउटा साथीले बस्न असहमति जनाउँदै ‘मेरो त घरमा भैँसी एकहाते छ यार म त बेलुका जसरी पनि घर पुग्नुपर्छ’ भन्यो।

त्यसपछि ठट्टाको मूडमा रहेको अघिल्लो सिटको साथीको जिब्रो चिप्लियो ‘मेरो नि घरमा बुढी एकहाते छे, म पनि बेलुका त घर पुग्नै पर्छ यार।’ बसमा हाँसोको फोहरा छुट्यो। साथीहरूको समूहमा त्यसरी जिब्रो चिप्लिनु त स्वाभाविक नै हुन्थ्यो तर जिब्रो गलत ठाउँमा चिप्लिएछ भन्ने त तब मात्र थाहा भयो, जब त्यो साथीको छेउको सिटमा स्वयं उसकै बुबा बसिरहनुभएको कुरा ख्याल भयो। त्यसपछि यात्रा अवधिभर साथीका बाबुछोरा मौन रहे भने अन्य साथीहरू माझ हाँसोले लामो बेग मार्‍यो।

हामीजस्ता भुईँमान्छेको जिब्रो चिप्लिँदा घट्ने त यस्तै सामान्य घटना हुन्। तर संसारमा मान्छेको जिब्रो चिप्लिनाले नै ठूल्ठूला युद्ध पनि निम्तिएका छन् अनि ठूला ठूला सन्धि सम्झौता पनि भएका छन्। जिब्रो चिप्लिएरै तालुमा आलु फलेका भाग्यमानी देखि कुवेलामा आलु खानु परेका अभागीहरूका अनेक कथा हामीले सुन्दै आएका छौँ।

हाड नभएको जिब्रो हो कहिलेकाहीँ चिप्लिनु अस्वाभाविक त होइन तर पुर्खाहरूले थुतुनो जोगाउन दिएको सन्देशलाई शिरोपर गर्दै हाँस्दा–बोल्दा कतै जिब्रो चिप्लिहाल्छ कि भनेर ख्याल त गर्ने गर्नुहोला है।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.