|

जनकपुरधाम : मधेस प्रदेश सरकारले आइतबारदेखि संघीय सरकारविरुद्ध आन्दोलन गर्न लागेको छ।

शनिबार मधेस प्रदेशका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले पत्रकार सम्मेलनको आयोजना गरी पहिलो चरणमा आइतबारदेखि संघीय सरकारविरुद्ध सडक आन्दोलन थाल्ने बताएका हुन्। मन्त्री साहले आइतबार बिहान ११ बजेदेखि १ बजेसम्म प्रदेश प्रमुखको कार्यालय अगाडि धर्ना दिने पत्रकार सम्मेलनमार्फत  जानकारी दिए। 

मन्त्री साहका अनुसार  आइतबारदेखि एक हप्तासम्म प्रत्येक दिन सोही समयमा धर्ना दिने बताए। धर्नामा प्रदेश सरकारका मन्त्रीहरू, प्रदेशसभाका सदस्यहरू, नागरिक समाजका अगुवाहरूलगायत सबै पक्षको सहभागिता रहने मन्त्री साहले जानकारी गराए।

एक हप्तासम्ममा पनि संघीय सरकारको ध्यानाकर्षण नभए दोस्रो चरणका आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरिने मन्त्री साहले चेतावनीसमेत दिए।

संघीय गृह मन्त्रालयले प्रहरी समायोजनको सम्पूर्ण काम पूरा गरिसकेको र नेपाल सरकारले निर्देशन दिए सात दिनभित्र समायोजन गर्न सकिने बताइसकेको अवस्थामा प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव अघि समायोजन सम्भव नभएको आशयको प्रतिक्रिया दिएको मन्त्री साहले बताए। 

मन्त्री साह आफूहरूको आन्दोलनमा अन्य ६ प्रदेशको समेत साथ रहेको बताउँदै जनकपुरधाममा भएको सबै प्रदेशका गृहमन्त्रीको सामूहिक घोषणा पत्रले पनि स्पष्ट गरिरहेको दाबी गरे। 

मन्त्री साहले प्रदेश प्रहरी समायोजन र प्रमुख जिल्ला अधिकारी प्रदेश मातहत ल्याएर मात्र चुनावमा जानुपर्ने अन्यथा आफूहरूको आन्दोलन संघसम्म पुग्ने भएकाले चुनाव समेत प्रभावित हुने बताए। मन्त्री साहले संविधानले प्रदेश सरकारलाई दिएको अधिकारसमेत संघीय सरकारले खोस्ने, अपव्याख्या गर्ने र आश्वासन मात्रै दिने गरेकाले प्रदेश सरकार संघर्षमा उत्रिन बाध्य भएको हो।

यसअघि, २२ श्रावणमा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्य, सांसदसहित सामूहिक रूपमा प्रदेश प्रहरी समायोजनका लागि प्रदेश प्रमुख हरिशंकर मिश्रलाई ज्ञापन पत्र बुझाएर संघीय सरकारलाई सात दिनको अल्टिमेटम दिएका थिए। 

मधेश सरकारको अगुवाइमा गत असार २३ गते ६ वटा प्रदेशका गृहमन्त्रीको भेला गरेर प्रहरी समायोजन ऐन र प्रहरी समन्वयसम्बन्धी ऐनको आधारमा संघीय सरकारले श्रावणभित्र प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न माग गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.