|

पाल्पा : नेकपा एमालेका सचिव गोकर्ण विष्टले आगामी मंसिरमा हुने निर्वाचन देशकै लागि जीवन र मरणको लडाइँ भएको बताएका छन्।

नेकपा एमाले जिल्ला कमिटी पाल्पाले शनिबार तानसेनमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले नेकपा एमाले पराजित भए मुलुक नै असफल हुने बताए।

उनले भने, ‘एमालेले जिते देशको स्वाधीनता, स्वतन्त्रता र आत्मसम्मान जोगिने छ र यदि एमाले चुनाव हार्‍यो भने देशको स्वाधीनता र स्वतन्त्रता कमजोर हुने छ र समाजवादको यात्रा रोकिने छ।’

पूँजीवादी शक्तिको आडमा एमालेविरुद्ध गठबन्धन गरेका दलहरू विदेशीको इशारामा चलेका उनले बताए। राष्ट्रियतका हितमा काम गरिरहेको एक मात्र पार्टी एमालेलाई परास्त गर्न साम्राज्यवादीको चलखेल भएको विष्टले दाबी गरे।

मुलुकको हित र जनताको जीविका भन्दापनि गठबन्धनका नेता पार्टीका नीति, सिद्धान्त र विचार छाडेर सत्ताका लागि लिप्त भएको उनले आरोप लगाए। ती नेताहरूको स्वार्थ पूरा गर्न नदिनको लागि कफन बाँधेर निर्वाचन जान कार्यकर्तालाई निर्देशन दिए।

एमालेले चुनाव जित्यो भने आर्थिक सामाजिक रुपान्तरण अगाडि बढ्ने छ। अन्यथा यो अभियान रोकिने छ। यस्तो कठिन अवस्थामा हुन गइरहेको निर्वाचनमा एमालेको बहुमतको जित हुने गरी गतिविधि सञ्चालन गर्नुपर्ने छ।

नेकपा एमालेको सरकारले गरेका काम र गठबन्धन सरकारले एक वर्षमा गरेका कामका बारेमा जनतालाई छर्लङ्ग बुझाउन सके आगामी निर्वाचनमा एमालेको जित पक्का भएको उनले बताए।

कांग्रेसलाई इन्जिन र नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई डिब्बाको संज्ञा दिँदै उनले थपे ‘इन्जिनमा लतारिएका डिब्बा कतिबेला चुँडिएर बाटोमा अलपत्र हुनेछन्। अहिले त्यस्तै अवस्थामा माधव कुमार नेपाल र प्रचण्ड पुगेका छन्।’

फरक विचार र सिद्धान्त भएका दलहरूबीचको गठबन्धन स्वार्थ पूरा नभएपछि टुट्ने अवस्थामा पुगेको उनले बताए। गठबन्धनकाे सीट बाँडफाँडकै विषयमा सहमति हुने संभावना कम रहेको नेता विष्टले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.