|

काठमाडौं : मधेश प्रदेश सरकारले आजदेखि संघ सरकारविरुद्ध पहिलो चरणको आन्दोलन सुरु गर्दैछ।

प्रदेश सरकारलाई संविधान बमोजिम अधिकार हस्तान्तरण नगरिएको भन्दै मधेस सरकारले आन्दोलन सुरु गर्न लागेको हो । प्रदेश सरकारले आजबाट हरेक दिन २ घण्टा प्रदेश प्रमुखको कार्यालय अगाडि धर्ना दिने भएको छ। ​

आज विहान ११ बजेदेखि १ बजेसम्म प्रदेश प्रमुख कार्यालयमा धर्ना दिइने प्रदेशका गृहमन्त्री भरतप्रसाद साहले जानकारी दिए। धर्नामा प्रदेशका मन्त्री, प्रदेश सांसदको सहभागिता रहने मन्त्री साहले बताए। 

आगामी एक हप्तासम्म पनि संघीय सरकारले माग सम्बोधन नगरे दोस्रो चरणको आन्दोलन गर्ने मन्त्री साहले चेतावनी दिएका छन्। मधेस सरकारले प्रदेश प्रहरी संरचना बनाउन संघ सरकारले अधिकार हस्तान्तरण नगरेको आरोप लगाउँदै आएको छ। तत्काल प्रहरी समायोजन नभए प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रभावित हुने चेतावनी मधेश प्रदेश सरकारले दिएको छ।

केही समयअघि मधेश प्रदेश सरकार सहित सातै प्रदेशका गृह मन्त्रीहरुले राजधानी आएर प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ दलका शीर्ष नेताहरुलाई भेटेर प्रहरी समायोजनको ध्यानाकर्षण समेत गराएका थिए। तर, प्रहरी समायोजनमा सरकारको चासोमा नपरेपछि मधेस प्रदेश सरकारले प्रदेश प्रमुख मार्फत प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण पत्र पठाउँदै प्रहरी समायोजनको लागि ७ दिनको अल्टिमेटम दिएको थियो। उक्त समय हिजो शनिबार सकिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.