‘म युवाहरू भन्दा कम सक्रिय छैन’

|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनको सरकारले राजनीतिलाई दुश्मनीतिर लैजान खोजेको आरोप लगाएका छन्। 

काठमाडौंमा आइतबार आयोजित राष्ट्रिय युवा सम्मेलनलाई सम्बोधन गर्दै उनले कहिले जातका नाममा, कहिले भूगोलका नाममा नेपालीलाई भिडाउन खोजिएको बताएका हुन्। 

अहिलेको नेपाली समाजलाई स्वस्थ प्रतिस्पर्धातिर जानुपर्ने बताए। उनले जातको पहिचानको नाममा एकले अर्कोलाई घृणा गर्ने परिपाटीको अन्त्य गर्नुपर्ने बताए। 

‘अहिले गठबन्धनमा भएका दलले दुश्मनीतिर राजनीति लैजान खोजेका छन्। हाम्रो समाज स्वस्थ प्रतिस्पर्धातिर जाने कि दुश्मनीतिर? कहिले जातका नाममा, कहिले भूगोलका नाममा नेपालीलाई भिडाउन खोजिन्छ, सेन्टिमेन्टमा ल्याउन खोजिन्छ‚ हाम्रो पहिचान भनेर। नेपाली पहिचान। हामीले खोज्नुपर्ने नेपाली पहिचान हो‚’ उनले भने, ‘जातका पहिचान यो भन्यो, अनि एकले अर्कोलाई घृणा गर्‍यो। यसरी नेपालीलाई फुटाउन, विभाजन गर्न खोजिएको छ। त्यसो गर्नु राम्रो होइन, हाम्रो देश विविधतायुक्त देश छ।’

आफूसँग स्वास्थ्योपचारका लागिसमेत पैसा नभएको उनले बताए। उनले आफ्नो र आफ्नो श्रीमतीको नाममा रहेको सबै सम्पत्ति मरणोपरान्त राज्यको नाममा समर्पित गरिसकेको बताए। घरघडेरी बेचेर उपचार गर्छु भन्न पनि मिल्ने अवस्था पनि नरहेको बताए। 

उनले यो सबै आफ्नो कर्म देशका लागि समर्पित रहेकोले देशकै लागि सम्पत्ति दान गरेको बताए। उनले देशको विकासका लागि काम गर्दा विरोधीहरूले काम गर्न नदिएको भन्दै देश विकास र समृद्ध बनाउने अभियानमा अघि बढिरहने प्रतिवद्धता जनाए। उनले कुनैपनि युवाभन्दा आफू सक्रियतामा कम नरहेको दाबी गरे। 

‘भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ भन्नेमात्र होइन, मैले आफ्नो प्राइभेट प्रपर्टी, मेरो र मेरो श्रीमतीको सम्पूर्ण सम्पत्ति आफ्नो होइन अब राज्यको सम्पत्ति भनेर पास गरिसकेको छु। किनभने म देशका लागि समर्पित छु। त्यसकारण मेरो घर म बाँचुन्जेल, मेरो श्रीमती बाँचुन्जेल, म बस्न पाउँछु, त्यसपछि राज्यको हुन्छ। बिरामी भएँ भने तपाईंहरूले उपचार गराउनु भयो भने हो नत्र मसँग पैसा छैन‚’ उनले भने।

‘सांसद छु सांसदको हिसाबले थोरै त आउँछ। नत्र मैले घर बेचेर उपचार गर्छु भन्न मिल्दैन, राज्यलाई दान दिइसकेँ। मेरो डेडिकेशन छ तर इनएक्टिभ खालको होइन, एक्टिभ छ। जबसम्म म जीवित रहन्छु देशका लागि जनताका लागि रहन्छु। कुन्ती मोक्तानले गाएको म त हिँड्छु मेरै बाटो खुट्टा तान्दै गर भने झैँ छु। गीत पनि गाउँदै गर्छु‚ अघि पनि बढ्दै गर्छु। आफ्नो कुरामा आफ्नो अभियानमा म अघि बढिरहन्छु। म युवाहरूभन्दा कम सक्रिय छैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.