|

बागलुङ : केही समय अगाडिसम्म बडिगाड गाउँपालिका वडा नम्बर २ दगातुम्डाँडामा खानेपानीको चरम समस्या थियो। खानेपानीको अभावले स्थानीयले विभिन्न समस्याहरु खेप्नु परेको थियो।

अहिले घर–घरमा चिटिक्कका धारा बनेका छन्। घरमै धारो बनेर पानी आउन थालेपछि गाउँले हर्षित भएका छन्। खानेपानी अभावमा काकाकुल बनेका स्थानीयले अब धित मर्ने गरि पानी पिउन पाउने भएका छन्।

यस वडामा ‘एक घर एक धारा’ कार्यक्रम संचालन भइरहेको छ। योजनाको काम पनि अन्तिम चरणमा पुगेको नेपाल स्वास्थ्यका लागि पानी (नेवा) का सामाजिक प्राविधिक कुशल थापाले जानकारी दिए। ७ सय घरधुरी रहेको यस वडामा करिब ५ सय घरमा ‘एक घर एक धारा’ सञ्चालनमा आइसकेको गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनले जानकारी दिए।

साबिक दगातुम्डाँडा गाविसको वडा नम्बर ६, ७, ८ र ९ वडामध्ये ८ र ९ वडामा ‘एक घर एक धारा’ तयार भैसकेको र साविकका वडा नम्बर ६ र ७ मा पनि तीव्र गतिमा काम भएको उनको भनाइ छ।

बडिगाड गाउँपालिका र नेवासँगको सहकार्यमा एक घर एक धारा निर्माण भइरहेको छ। सक्न्यार, लफरे सिरसिरे र राक्से बडहरे खानेपानी आयोजनाको काम पनि सकिएको उपाध्यक्ष वनले बताए।

हाँडीखोलामा पनि खानेपानी आयोजनामा काम शुरु भएको उनको भनाइ छ। जिमी सक्न्यार खानेपानी आयोजनाबाट ३ विद्यालयसहित १२७ धारा, लफरे सिरसिरे खानेपानी आयोजनाबाट ५९ धारा र राक्से बडहरे खानेपानी आयोजनाबाट ६० धारा निर्माण गरि साविक वडा नम्बर ८ र ९ का सबै घरधुरीमा खानेपानी पुगेको उनले बताए।

जिमी सक्न्यार खानेपानी आयोजनामा नेवाको ६२ लाख, गाउँपालिकाको २९ लाख ३९ हजार ४१२, स्थानीयको ३ लाख ९९ हजार सहयोग र २९ लाख बराबरको जनश्रमदान गरि कुल १ करोड २४ लाख ३८ हजार ४१२ रूपैयाँमा सम्पन्न भएको हो।

बडिगाड वडा नम्बर १ बेतनीमा खानेपानी मुहान रहेको उक्त आयोजनामा १२ वटा खानेपानी ट्याङ्की निर्माण गरिएको छ भने २६ हजार ९ सय ११ मिटर पाइप बिछ्याइएको नेवाका सामाजिक प्राविधिक कुशल थापाको भनाइ छ।

नेवाको २९ लाख ३४ हजार ५७३, बडिगाड गाउँपालिकाको ५ लाख ८३ हजार ७ सय २९, स्थानीयको १ लाख ५६ हजार ६ सय र जनश्रमदान १३ लाख ६ हजार २६० गरि कुल ३८ लाख ११ हजार १६२ रूपैयाँ लागतमा लफरे सिरसिरे खानेपानी आयोजनासमेत सम्पन्न भएको थापाले बताए।

१५ लाख ९९ हजार २२२ रूपैयाँ नेपाल स्वास्थ्यका लागि पानी (नेवा), बडिगाडको ५ लाख, समुदायको २ लाख ३६ हजार र जनश्रमदान ४ लाख ९१ हजार ७०५ गरि कुल २८ लाख २६ हजार ९२७ रूपैयाँको लागतमा राक्से बडहरे खानेपानी आयोजनासमेत सम्पन्न भएको उनको भनाइ छ।

बडहरेमा मुहान रहेको उक्त खानेपानी आयोजनाको लागि चारवटा ट्याङ्की निर्माण गरिएको छ। जसबाट ६० धारामा खानेपानी पुगेको छ। राक्से बडहरे खानेपानी आयोजनाको लागि ७ हजार ५६० मिटर पाइप बिछ्याइएको छ।

साबिक दगातुम्डाँडा गाविसको वडा नम्बर ६ र ७ का ४ सय घरधुरी लाभान्वित हुने गरि प्रदेश सरकारमार्फत खर्बाङ दनिया लिफ्टिङ खानेपानी आयोजनाको काम भइरहेको थापाको भनाइ छ।

नेवा र बडिगाड गाउँपालिकाको सहकार्यमा अन्य वडामा पनि खानेपानी योजना संचालनमा छन्। तीमध्ये केही सम्पन्न भइसके भने केही निर्माणाधीन रहेको गाउँपालिकाले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.