|

गुल्मी : जिल्लाको रेसुंगा नगरपालिकाले घर घरमै गएर व्यक्तिगत घटना दर्ता गर्ने अभियान चलाएको छ।

नगरपालिकाले यस आर्थिक वर्षमा लिएको नीति तथा कार्यक्रम अनुसार घर घरमै गएर व्यक्तिगत घटना दर्ता गर्ने कार्यक्रमलाई अभियानकै रुपमा चलाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिए।

अहिलेको समयमा सेवाग्राही सेवा लिन कार्यालयमा धाउने भन्दा पनि सेवाप्रदायक संस्था वा कार्यालय जनताको घरदैलोमै गई सेवा प्रदान गर्नुपर्छ भन्ने मान्यताका साथ व्यक्तिगत घटना दर्ता घर घरमै गई गर्ने अभियान संचालन गरेको मरासिनीले बताए।

नगरपालिकाबाट प्रदान गर्ने सेवाहरु मध्ये अहिले व्यक्तिगत घटना दर्ताबाट सुरुवात गरिएको भन्दै अन्य सेवाहरुलाई पनि यसै गरी अभियानकै रुपमा संचालन गर्ने तयारी रहेको उनको दाबी छ।

यता नगरप्रमुख खिलध्वज पन्थीले जनतालाई सहज र सरल रुपमा सेवा प्रदान गर्नका लागि र स्थानीय सरकारको अनुभूति प्रदान गर्न आफूले घरमै गएर सेवा प्रदान गर्ने नीति लिएको दाबी गरे।

अहिलेको अवस्थामा जनतालाई बिना झन्झट, सहज र सरल तरिकाले सेवा प्रदान गर्नु नै उत्तम हुने भएकाले अभियान चलाइएको र यस अभियानलाई निरन्तर जारी राख्ने पन्थीको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.