|

रौतहट : पछिल्लो समय सुकुम्वासी बताएर रौतहटमा वन मासेर घर बनाउने क्रम बढ्दै गएको छ।

जिल्लाका विभिन्न स्थानमा आफूलाई सुकुम्वासी बताएर वन मासेर घर बनाउने समूह सक्रिय रहेको भएपनि डिभिजन वन कार्यालयले उनीहरुलाई हटाउन सकेको छैन।

रौतहटको चुरे क्षेत्र र तल्लो भेगमा सुकुम्वासीको नाममा वन मासेर घर बस्ती बस्दै आएको हो। चन्द्रपुर–६ स्थित राष्ट्रिय वन क्षेत्रमा केही व्यक्तिले घरै बनाएर बसेका छन्। कुनै पनि बेला रूख ढल्ने वा हाँगा झरेर दुर्घटना हुन सक्ने भन्दै वन कार्यालयले उनीहरूलाई हट्न अनुरोध गरेको छ।

तर, उनीहरूले अटेर गर्दै आएका छन्। डिभिजन वन कार्यालय अन्तर्गत चोचो वन सेक्टरमा पर्ने क्षेत्रमा दर्जनौँ घर बनाइएको हो। हावाहुरीका बेला रूख ढल्ने खतरा हुन्छ। गत वर्ष रुखको हाँगाले लागेर चन्द्रपुर–६ जंगल टोलका सुकराम साह घाइते भएका थिए।

चन्द्रपुर–६ को चिम्नी टोल, बेल्टी, बेतोनालगायतका स्थानमा यस्तो घर बनाइएको हो। उनीहरूले आफूलाई सुकुम्वासी बताउँदै आएका छन्।

वन क्षेत्र अतिक्रमण गरेर बस्दै आएकाहरूले पछिल्लो समय रूखकै फेदमा घर बनाउन थालेको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख सुनिल कुमार कर्णले बताए।

हामीले हट्न भन्दै आएका छौँ। उनीहरूले अटेर गरेका छन्। भोलि रूख ढल्यो वा हाँगाले लागेर घटना भयो भने समस्या हुन्छ, उनले भने।

वन कार्यालयले यस विषयमा कर्मचारी र राजनीतिक दलसित संवाद थाल्ने जनाएको छ। रौतहटमा २९ हजार ४ सय हेक्टरमा राष्ट्रिय वन क्षेत्र छ। पछिल्लो समय ३ हजार ५ सय हेक्टर अतिक्रमणमा परेको वन कार्यालयले जनाएकाे छ।

कार्यालयका अनुसार चुरे क्षेत्रमा १ हजार ६ सय हेक्टर अतिक्रमण भएको छ। यहाँको बेतौना, वनबोहरी, गैँडाटार, जुडिबेला, कनकपुर, जंगलसैया, चन्द्रनिगाहपुर, सन्तपुर, रंगपुर, मैरा, बलरीखोर, वाग्मती र भोलनटार क्षेत्रमा वनभित्रै घर बनाएर बसेका छन्।

बेतौनाका सुरेन्द्र चौधरीले सुकुम्वासीका लागि वन क्षेत्र सुरक्षित रहेकाले घर बनाई बसेको बताए। 'सरकारले स्थायी बसोबासको व्यवस्था गर्नुपर्छ', उनले भने, नम्बरी जग्गा नभएपछि बाध्य भएर वन क्षेत्रमा बस्नुपरेको हो। चुरेका स्थानीय सत्यमान वाइवाले सरकारले स्थायी बसोबासको व्यवस्था गरे आफूहरू चुरे क्षेत्र छाड्न तयार रहेको बताए। यता, बढ्दो वन विनाश, अतिक्रमण र ढुंगा उत्खननले चुरे क्षेत्र संकटमा परेको छ।

त्यस क्षेत्रमा बसोबास गर्ने सुकुम्वासीले चुरे कब्जा गरी रूख काटेर खेती लगाउने गरेका छन्। चुरे अतिक्रमण हटाउन वन कार्यालयले प्रयास गरे पनि सकेको छैन। अतिक्रमण हटाउन थाल्यो भने दलका नेताहरू त्यसो नगर्नुस् भन्छन्।

त्यतिकै छाड्दा राष्ट्रिय वन सकिन्छ भन्ने चिन्ता छ, वन अधिकृत कर्ण भन्छन्, 'अतिक्रमण हटाउन वनले मात्र सम्भव छैन। चुरे क्षेत्रमा झन्डै १ हजारको हाराहारीमा घर बनाइएको छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.