|

ललितपुर : ठेचोमा मनाइने मत्या जात्रा यो वर्ष रोकिएको छ। हरेक वर्ष गाईजात्राको भोलिपल्ट मनाइने यो जात्रा नवदुर्गा भवानीको १२ वर्षे जात्राका कारण स्थगित भएको हो।

नगरपालिकाका प्रमुख गजेन्द्र मर्हजनका अनुसार १२ वर्षे जात्राका क्रममा कुनै पनि बाजागाजा बजाउन नमिल्ने भएकाले यो वर्ष मत्या जात्रा स्थगन गरिएको हो।

उनका अनुसार मत्या रोकिए पनि एक वर्षभर मृत्यु भएकाहरूको घरबाट सापारु भने निकालिएको छ तर तामझाम र बाजागाजासहित लाखे जात्रा भने गरिएन। 

मत्या जात्रा नहुँदा खल्लो भए पनि १२ वर्षे नवदुर्गा जात्रा गर्नैपर्ने अवस्था रहेको स्थानीय प्रविण मर्हजनले सुनाए। सबै संस्कृतिलाई स्थान दिनै परेकाले बाजागाजासहित रमाइलो र व्यङ्ग्य गर्दै मनाउने मत्या नमनाउँदा खल्लो महशुस गरेको वडा नम्बर १२ का अध्यक्ष जगतबहादुर मर्हजनले जानकारी दिए। 

ठेचोमा दुई साताअघि नवदुर्गा भवानीको १२ वर्षे जात्रा सुरु भएको हो। घण्टाकर्ण चतुर्दशी गठेमंगलका दिन राति नवदुर्गा मन्दिर अगाडि विधिवत् रूपमा बलि सहित पूजाआजा गरेपछि यो जात्रा सुरु भएको हो। देवता गुप्तबासमा अर्थात् दुःखमा बस्ने भएकाले यो अवधिमा ठेचोमा खुसियाली मनाउन नहुने नवदुर्गा भवानी नाच गुठी संरक्षण समितिका अध्यक्ष प्रशान्त मालीले जानकारी दिए। 

उनका अनुसार विभिन्न शक्तिपीठबाट तन्त्र साधनामार्फत गोप्य पूजा गरी देवता र जल मन्दिरमा ल्याउनुपर्छ भन्ने मान्यता छ। त्यसैले यो कर्ममा बाधा नपुगोस् भनी परापूर्वकालदेखि नै राति हिँडडुल गर्न निषेध गरिएको हो’, उनले भने। यो अवधिमा नवदुर्गा गुठीको बाजाबाहेक बस्तीमा अन्य बाजा, घण्ट, सिठ्ठी, ताली आदि बजाउन निषेध गरिएको छ। यस्तै बिहे, व्रतबन्ध र भोजभतेर गर्न नपाइने नियम छ। 

बौद्धमार्गी नेवार समुदायले दिवंगत परिवारका सदस्य र आफन्तको चिरआत्माको शान्तिको कामना गर्दै यो पर्व मनाउँछन्। मतया जात्रा विभिन्न मठ मन्दिर , विहार र चैत्यको परिक्रममा गरी मनाउने परम्परा छ। हातमा पानस सहितको बत्ती लिएर ती स्थलमा श्रद्धालुले परिक्रमा गर्दै गच्छेअनुसार ठाँउठाँउमा दान गर्ने परम्परा छ।

ठेचोमा नमनाइए पनि पाटन, सुनाकोठी र  सानागाउँमा लगायत स्थानमा भने मत्या जात्रा मनाइएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.