|

रुकुम (पूर्व) : रुकुमपूर्वको सदरमुकाम रहेको सिस्ने गाउँपालिका–६ रूकुमकोट स्थित छिप्रिदह बजार। छिप्रिदह बजारको पश्चिम तर्फ बालुवा बजार जाने सडक छेउमा सानो टहरो। टहरो भित्र आरन। 

असरल्ल छरिएका फलामका टुक्राहरू। कट्याङकुटुङ आवाज। थैलोमा पोको पारिएको कोइला। फलामबाट विभिन्न सामग्री तयार बनाउन कोइला पोल्न प्रयोग गरिने चुलो। चुलो नजिकै घन र हथौडा। 

जोस जाँगरले भरिएको मन। शिष्ट, सरल स्वभाव। रुकुमपूर्वको सिस्ने गाउँपालिका–२ सुद्रिका ४५ वर्षीय हर्कबिर कामी। उनले आरनमा बसेर फलामका सामग्री बनाउने काम गर्ने गरेका छन्। उनले आरनमा फलामका सामान बनाउन थालेको तीन दशक भइसक्यो। 

सानै उमेर देखि हर्कबिर आफ्नो बुबाबाट फलामका सामग्री बनाउने प्रेरित भए। १५ वर्ष उमेर पुगे देखि हर्कबिर फलामका सामग्री बनाउने सिपालु भएका हुन्। १५ वर्ष उमेर देखि उनी आगोको रापतापसँग जिन्दगीको गुजारा चलाइ राखेका छन्। 

दुई दशक भन्दा बढी गाउँमै आरन व्यवसाय गरी घरपरिवार पालिरहेका थिए। त्यसपछि उनले आफ्नो आरन व्यवसायलाई थप व्यवस्थित गर्ने विचार गरे। साथै उनलाई गाउँको भन्दा बजारमा व्यवसाय फस्टाउला भन्ने लाग्यो। त्यसपछि २०७७ साल देखि जिल्लाको हाल सदरमुकाम रहेको रूकुमकोट स्थित छिप्रिदहमा स्वाभिमान आरन उद्योग नामको दर्ता गरे। आरन उद्योग दर्ता पछि जग्गा भाडामा लिइ एक सानो टिनको टहरो निर्माण गरेका छन्। 

त्यसपछि उनले गाउँकै जस्तै छिप्रिदहमा पनि खुकुरी, हँसिया, दाउ, बन्चरो, कुटो, कोदालो लगायत ग्राहकको माग अनुसार फलामका विभिन्न सामग्री तयार गरिराखेका छन्। ‘बिहान देखि साँझ सम्म आरनमा आगोको रापतापमा काम गर्न सारै गाह्रो छ’ उनले भने, ‘तर पनि सानै देखि अँगालेको पेसा हुँदा यसमै खुसी मानी काम गरिराखिएको छ।’ 

पहिले देखि घर परिवार पालन, पोषण गर्न आयस्रोत आरन नै भएको उनको भनाइ छ। हाल पनि ६ जना परिवारको लवाइखुवाइमा आरन नै मुख्य स्रोतको रूपमा रहेको छ। फलामका सामग्री तयार बनाउन श्रम मात्र नभइ कोइला देखि काँचो फलाम खरिद गर्नु पर्दा कमाइ कमै मात्र हुने गरेको उनले बताए। विभिन्न सामान जोरजाममा लागेको खर्च कटाइ मासिक १६÷१७ हजार रुपैयाँ उनको कमाइ हुने गरेको छ। 

विष्ट कमाउने प्रथा आफैँले तोडे 

आफ्नो पुर्खाले विष्ट कमाउँदै आएको विष्ट प्रथा हर्कबिर आफैँले २०५८ सालमा तोडे। विगतमा गाउँ तिर दलितले विष्ट कमाउने परम्परा रहेको थियो। 

कपडा सिलाइ दिए अथवा फलामका सामग्री बनाइ दिए बापत आफूले कमाएको विष्टका घरपरिवारबाट ज्याला भने मौसम अनुसार उब्जिने मकै, गहुँ, जौँ लगायत अन्न बुझ्ने खलो प्रथा थियो। उक्त खलो प्रथा हर्कबिरले २०५८ सालमा तोडे र त्यस पछि नगद ज्याला लिने सुरु गरेको सुनाए।   

त्यतिबेला खलो प्रथाको नियमअनुसार, एक विष्टका घरपरिवारबाट ६ महिनामा गहुँ, जौँ पाक्दा ६÷७ पाथीसम्म फेरी ६ महिनामा मकै पाक्दा २ डोकोसम्म मकैका घोगा ज्याला पाउँथे। यही कमाइका भरमा उनले एक दशक भन्दा बढी घरपरिवार पाले। पछि गाउँमा चेतनाको विकास भइसकेपछि आफूले विष्ट कमाउने प्रथा अन्त्य गरेको बताए। 

पहाडी भेगमा ६÷६ महिना मात्र बाली पाख्ने (वर्षे र हिउँदे) भएकोले काम गरे बापतको ज्याला पनि ६ महिना पछि मात्र विष्टले दिने गरेका थिए। काम गरेको ज्याला ६ महिना कुर्नु पर्दाको पीडा हर्कबिरसँग छ। त्यी पीडालाई लिएर विष्ट कमाउने छोडेपछि उनले नगद ज्याला ल्याउने गरे। त्यस दिन देखि उनले सामान निर्माण गरेकै दिन नगद लिने गरेका छन्। 

पुरानै औजारकै भर 

उहाँले परम्परागत औजार उपकरणका माध्यमबाट फलामका सामग्री तयार गरिराखेका छन्। ओल्डिङ गर्ने उपकरण बाहेक अरु सबै पुरानो औजार, उपकरण रहेको छ। 

उनले आरन उद्योग सञ्चालनको लागि प्रमाण पत्र पनि पाएका छन्। उक्त उद्योग मार्फत सरकारले आधुनिकरण आरन उद्योग सञ्चालनका लागि अनुदान दिएमा दैनिक कालो मोसो, रातो फलाम हातले कुट्ने र बनाउने दुःख कष्ट अन्त्य हुन्थ्यो भन्ने उनलाई लागेको छ। 

‘आधुनिक उपकरणबाट आरन उद्योग सञ्चालन भएमा केही युवालाई रोजगारी सिर्जना हुनुका साथै जिल्लामा बाहिरबाट आउने सामग्री आयातको अन्त्य हुन्थ्यो’ उनले भने, ‘तर, उद्योग धन्दा स्थापना गरी धेरैलाई आत्मनिर्भर बनाउने तर्फ कुनै पनि नेतृत्व वर्गको ध्यान नै छैन।’

श्रमका खानी भएकाहरूको लागि बुझिदिने, सोचिदिने जुन पार्टीका सरकार आए पनि आफू जस्ता श्रमजीवी सधैँ सरकारबाट उपेक्षित परिराखेको उनको गुनासो छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.