|

बारा : हत्या गरी सीमा कटाइएका २३ वार्षीय राजकुमार ठाकुरको परिवारले हत्यामा संलग्नलाई कडा कारबाहीको माग गरेका छन्। ठाकुरको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका पटेल दाजुभाइले आशंकाकै भरमा ज्यान लिएको भन्दै कडा कारबाहीको माग गरेका हुन्।

“छारछिमेकमा बोलचाल जस्को पनि हुन्छ, तर ज्यानै लिनु त हुँदैन नि? हामीले त छोरा गुमायौं तर यस्तालाई कडा कारबाही भएन भने मृत छोराले न्याय पाउँदैन।” भन्छन् मृतकका बुवा मोतिलाल ठाकुर। उनका छोरा २३ वर्षीय राजकुमार ठाकुरको गत २४ गते हत्या गरी शव सीमापार पुर्‍याइएको थियो।

बारा विश्रामपुर गाउँपालिका–५ ईटियाहीका ३० वर्षीय प्रितम पटेल र उनका २८ वर्षीय भाइ उत्तम पटेललाई हत्या आरोपमा पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।

बहिनीसँग प्रेम सम्बन्ध रहेको आशंकामा ठाकुरको हत्या गरेको पटेलद्वयले प्रहरीलाई बयान दिएका छन्। सिसिटिभी फुटेजका आधारमा उनीहरुले वीरगन्ज–१६ नगवामा टेलरिङ पसल गर्ने पटेल दाजुभाइले छिमेकी २३ वर्षीय राजकुमार ठाकुरको हत्या गरी लाश भारतीय रेलमा छाडेको बयान दिएको पर्सा प्रहरीले जनाएको छ।

गत मंगलबार बिहान ९ बजे ट्युसन पढ्न वीरगन्ज–१६ नगवातर्फ साइकलमा हिँडेका राजकुमार घर फर्किएनन्। खोजी गर्दा पनि छोरा नभेटिएपछि बाबु मोतीलालले जिल्ला प्रहरी कार्यालय पर्सामा छोराको  खोजतलाशका लागि निवेदन दिएका थिए।

पर्सा प्रहरीले खोजीका क्रममा गत शुक्रबार पटेल दाजुभाइलाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको थियो। उनीहरूले राजकुमार र आफ्नी १६ वर्षीया बहिनीबीच प्रेम सम्बन्ध रहेको शंकामा हत्या गरेको स्विकारेपछि शव पनि पत्ता लागेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले बताए।

कार्कीका अनुसार ट्युसन पढ्न हिँडेका ठाकुरलाई पटेल दाजुभाइले बाटोबाटै नियन्त्रणमा लिएर आफ्नै पसलमा लगेर हत्या गरेको बयान दिएका छन्। हत्यापछि शव बोरामा राखेर ना३८प ४३९५ नम्बरको मोटरसाइकलमा सीमावर्ती भारतको रक्सौल रेलवे स्टेसन पु¥याएर मुजफ्फरपुर जाने रेलको शौचालय छेउको खाली ठाउँमा शव लुकाइएको बोरा राखिदिएर उनीहरू वीरगन्ज फर्किएका थिए।

पटेल दाजुभाइको बयानपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक विनोद कुमार सिंहको नेतृत्वको टोली र मृतकको आफन्त भारत गए। रेलमा चढाइएको शव रक्सौलबाट करिब पौने १० घण्टा दूरीको भागलपुर पुगेको थियो। करिब ४ सय किलोमिटर टाढा पुगेको शव भारतीय प्रहरीको समन्वयमा साउन २८ गते बरामद गरेर नेपाल ल्याएको छ।

शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको प्रनानि कार्कीले बताए। पक्राउ परेका पटेल दाजुभाइविरुद्ध अपहरण तथा शरीर बन्धक र ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा कारबाहीका लागि अनुसन्धान भइरहेको छ।

मृतक राजकुमारका आफन्त तथा गाउँलेले पटेल दाजुभाइलाई कडा कारबाहीको माग गर्दै आइतबार जिल्ला प्रहरी कार्यालय पर्सामै नाराबाजी गरेका छन्। प्रहरीका अनुसार पटेल दाजुभाइले शंका गरेजस्तो ठाकुरको प्रेम सम्बन्ध रहेको भन्ने पुष्टि भएको छैन। बरु पटेल दाजुभाइले बहिनीलाई कडा नियन्त्रणमा राख्ने कोसिस गरिरहने, कोही केटाले बोलेको देख्यो भने पनि उसलाई गाली गर्ने र धम्क्याउने गर्दै आएको खुलेको जनाएको छ।

बयानमा आए जस्तो प्रेम सम्बन्ध नभएको भन्दै ठाकुरका आफन्त तथा टेलवासीले समान्य बोलचाल पनि नपचाउने र कुटपिटमा उत्रीहाल्ने पटेल परिवारको पुरानै रबैया रहेको दावी गरेका छन्। स्थानीय राम कुमारी पासवानले कृष्णाको परिवारले आफ्नो छोरालाई पनि निर्घात कुटपीट गरेको आरोप लगाइन्।

‘छेउको किराना पसलमा सामान किन्न जाँदा बाटोमा आवश्‍यक परेर मेरो छोराले हर्न बजाउँदा उनीहरुले छोरीलाई जिस्काएको भनेर हतौडीले हानेर निर्घात कुटपिट गरे।’ उनले भनिन् ‘लाखौं खर्चेर उपचार गरी बचाउन त बचाँए। तर उसको मानसिक सन्तुलन अझै बिग्रेको छ।’

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.