|

बागलुङ : धार्मिक, पर्यटन, कला संस्कृतिसँगै विविधताले भरिपूर्ण बागलुङको गलकोट अब यहाँका असला माछाले पनि चिनिन थालेको छ।

गलकोटको दरमखोलामा पाइने असला माछा देश विदेश लैजाने गरिएको छ। यसले गर्दा पछिल्लो समय गलकोटका असला माछाको मोल प्रति केजी १० हजार रूपैयाँसम्म पर्ने गरेको छ।

दरमखोलाको चिसो पानीमा पाइने असला माछा निकै स्वादिलो हुने भएकाले यसको माग बढ्दो छ। गलकोट क्षेत्र भएर बग्ने दरमखोलामा पाइने असला माछाको माग विदेशमा समेत बढेपछि यसको मूल्य केही वर्षयता ह्वात्तै बढेको हो।

अन्यत्रका माछाभन्दा बढी स्वादिष्ट हुने भएपछि दरमखोलाका माछा जापान, अमेरिका, बेलायतलगायत युरोपका विभिन्न मुलुकमा लग्ने गरिएको छ।

गलकोटबाट विश्वका विभिन्न मुलुकमा पुगेका स्वदेशीहरूलाई गाउँघरबाट कोसेली पठाउन चर्को मूल्य तिरेर माछा किन्न थालिएपछि अहिले असला माछाको मूल्य बढेको हो । अहिले दरमखोलाबाट समातेर सुकाइएका असला माछाको मूल्य प्रति किलो ५ हजार रूपैयाँभन्दा बढी पर्ने गरेको स्थानीय बताउँछन्।

विदेश पठाउन पहिले नै अर्डर लिएर माछा मार्ने गरेका स्थानीय जलारीहरूले माछा सुकाएर विदेश पठाउने गरेका छन्। आलो माछा प्रति किलोग्राम १ हजार रूपैयाँसम्म पर्ने गरेकोमा सुकेको माछाको मूल्य १० हजारसम्म पुगेको स्थानीय जलारी नविन काउचाले बताए।

‘माछा मार्न सके यसबाट कमाई राम्रै छ, आलो माछाको मूल्य १ हजार छ, कतिपय १५ सय रूपैयाँमा १ किलो माछा किन्नसमेत तयार हुन्छन्,’ उनले भने‚ ‘सुकेको माछाको प्रतिकिलो १० हजार रूपैयाँसम्म पर्ने गरेको छ।’

‘अर्गानिक असला’ माछा पाइने दरमखोलामा बढेको प्रदूषण, करेन्ट प्रयोग गरी माछा मार्ने परिपाटीका कारण माछा कम हुँदै गए पनि त्यहाँका माछा विदेश लैजान थालिएपछि माछाको मूल्य बढेको व्यवसायीको भनाई छ।

गलकोट क्षेत्रमा विश्वका विभिन्न मुलुकमा पुगेका आफ्ना आफन्तलाई कोसेली पठाउन भने जति रकम तिरेर माछा किन्ने प्रचलन बढेपछि माछाको मूल्य पनि बढेको हो।

व्यावसायिक रुपमा माछा विदेश निर्यात नभए पनि कोसेलीका रुपमा विदेश पठाउने चलन बढेको गलकोट होटल व्यवसायी संघका अध्यक्ष कौशिला घर्तीले बताइन्।

‘विदेशमा बस्ने आफन्तलाई कोसेली पठाउन यहाँको माछा निकै लोकप्रिय भएको छ,’ घर्तीले भनिन्‚ ‘विदेश पठाउनेले भने जति मूल्य तिर्ने भएपछि अहिले माछाको मूल्यसमेत चर्को भएको छ।’

खोलामा माछा कम पाइने र पाइएका माछा पनि सीधै विदेश जाने भएपछि दरमखोलाका असला खानकै लागि गलकोट आउनेलाई पुर्‍याउन धौ–धौ हुने गरेको घर्तीको भनाई छ।

‘पहिले पहिले दरमखोलामा माछा जति पनि पाइन्थ्यो, गलकोटको चिनारीकै रुपमा रहेको असला खानका लागि टाढा टाढाबाट मानिसहरु आउँथे,’ उनले भनिन् ‘यहाँको होटेल व्यवसाय पनि माछाकै कारण राम्रोसँग फस्टाएको थियो, अहिले माछा विदेश पठाउने परिपाटीका कारण महंगो मूल्य तिरेर माछा खान आउनेहरुलाई पनि पुर्‍याउन सकेका छैनौं।’

आफूलगायत अहिले पनि दरमखोलामा २०/२५ जनाले माछा मारेरै जीविकोपार्जन गर्ने गरेको काउचाले बताए। ‘अहिले दरमखोलामा हामी २०/२५ जना जति दैनिक माछा मारेरै गुजारा चलाईरहेका छौं,’ उनले भने‚ ‘विदेश पठाउने ग्राहक पाए कमाई राम्रो हुने गरेको छ।’

उनले अधिकांश विदेशमा र केही मात्र गलकोट क्षेत्रका होटल व्यवसायीहरुलाई बिक्री गर्ने गरेको बताए।

गलकोट क्षेत्रबाट जापान, अमेरिका, बेलायतलगायत युरोपका विभिन्न मुलुकमा धेरै युवा रोजगारीका लागि गएकाले पनि सुकेको माछा त्यहाँ पठाउने चलन बढेको जलारीहरूको भनाई छ।

‘अहिले जापानलगायत मुलुकमा गलकोटे युवाका होटल तथा रेष्टुरेण्ट छन्, यहाँ खरिद गरेर लैजाने माछा त्यहाँको रेष्टुरेन्टमा अझ महङ्गोमा बिक्री हुन्छ,’ जलारी काउचा भन्छन्।

मध्यपहाडी लोकमार्गले यातायात सहज बनाएपछि नेपालभित्रकै विभिन्न ठाउँबाट आउनेले पनि दरमखोलाको माछा किनेर लैजाने गरेका छन्।

‘सडक नचल्दा आलो माछा बिक्री गर्ने बजार गलकोट क्षेत्रका बजार मात्र थिए, अहिले सडक सञ्चालनमा आएपछि पूर्व पश्चिमका मानिसले पनि माछा खरिद गरेर लैजाने गरेका छन्,’ स्थानीय होटल व्यवसायी अर्जुन केसीले भने‚ ‘एक पटक यहाँको माछाको स्वाद लिनेहरु माछा किनेर लैजान चाहन्छन्।’

पछिल्ला दिन खोलामा माछा पनि घटेको जलारी रामबहादुर श्रीसले बताए। ‘विषादीको प्रयोग र करेन्ट लगाएर माछा मार्ने चलनले गर्दा अहिले खोलामा माछा कम हुँदै गएको छ,’ श्रीसले भने‚ ‘आलो र सुकेको दुवै प्रकारको माछाको माग धेरै नै छ, हामीले मागअनुसार माछा पुर्‍याउन सकेका छैनौं।’

गलकोटको पहिचान बनेको असला माछा जोगाउन करेन्ट तथा विषादीको प्रयोग गरेर माछा मार्नेलाई कारवाही गर्नुपर्ने स्थानीय बताउँछन्। माछाबाट राम्रो आम्दानी हुने भएपछि गलकोटमा जलारीहरूको संख्यासमेत बढेको उनीहरू बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.