|

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सले निर्यात प्रवर्द्धन गर्न सातै प्रदेशमा निर्यात घर खोल्न आग्रह गरेको छ।

औद्योगिक वातावरण बनाएर निर्यात प्रवर्द्धन गर्न सकिने विभिन्न विकल्पबारे चेम्बरले उद्योग सचिव डा. तोयनारायण ज्ञवालीसँग गरेको छलफलमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले यस्तो आग्रह गरेका हुन्।

औद्योगिक क्षेत्रमा वैदेशिक लगानी एवं सिप प्रवर्द्धन गर्न सरकार र चेम्बर अफ कमर्सबीच सहकार्य गर्न लागिएको अध्यक्ष मल्लले बताए। उनले भने, ‘विदेशमा सिकेको सिप र लगानी हाम्रा उद्योगहरूमा प्रवर्द्धन गर्न सकियो भने कहालीलाग्दो व्यापार घाटा कम गर्न सकिन्छ। यसका लागि सरकारसँग हातेमालो गर्न चेम्बर सदैव तयार छ।’

औद्योगिक ब्याजदर बढ्दा उत्पादन लागत बढेकाले उद्योगहरूमा एकल ब्याजदरको व्यवस्था कायम गर्न पनि अध्यक्ष मल्लले आग्रह गरे। १० करोड रूपैयाँ बराबरको विद्युत खपत गर्ने उद्योगलाई मात्रै १० प्रतिशत छुट दिएको भन्दै उनले सबैखाले उद्योगमा सहुलियत दिने हो भने निर्यात प्रवर्द्धन गर्न सकिने बताए।

मुख्य मुख्य भन्सार नाकामा उच्चस्तरीय प्रयोगशाला नहुँदा नेपाली वस्तुको निर्यातमा पटक पटक समस्या आउने गरेको अध्यक्ष मल्लको भनाइ छ। 
उद्योगहरूमा वातावरणीय प्रभाव मूल्यांकन (इआइए)को व्यवस्थामा सहजीकरण गरिदिन पनि अध्यक्ष मल्लले सचिव ज्ञवालीसँग आग्रह गरे।

चेम्बर पदाधिकारीसँगको भेटका क्रममा उद्योग सचिव ज्ञवालीले औद्योगिक प्रर्वद्धन बोर्डमा निजी क्षेत्रका तर्फबाट चेम्बरको प्रतिनिधित्व गराउन आफूले पहल गर्ने बताए।

विदेशबाट फर्किएका युवाको सिप र लगानी प्रवर्द्धनका लागि छुट्टै नीतिगत व्यवस्थाको तयारी भइरहेको उनले बताए। यसका लागि वैदेशिक रोजगारसम्बन्धी छुट्टै रोष्टर बनाउने तयारी भइरहेको उनको भनाइ छ।

वार्षिक ९ खर्ब रूपैँया बराबरको निर्यात क्षमता भए पनि यसबाट लाभ लिन नसकिएको ज्ञवालीले बताए। चेम्बरका पदाधिकारीसँग सचिव ज्ञवालीले उद्योगहरूमा वातावरणीय प्रभाव मूल्यांकनको सहजीकरणमा आफूले पहल गर्ने बताए।

उत्पादन वृद्धिमार्फत निर्यात प्रवर्द्धनका लागि चेम्बरले सचिव ज्ञवालीलाई १६ बुँदे ध्यानाकर्षण पत्रसमेत बुझाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.