|

काठमाडौं : डाक्टरहरूका कारण स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङ हैरान भएका छन्। काठमाडौं बाहिर नजाने अड्डी लिएर बसेका बेरोजगार डाक्टरहरू दिनहुँ मन्त्रालयमा आउने गरेको मन्त्री खापुङले बताए।

नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा गरेको कार्यक्रममा मन्त्री खापुङले देशका कैयौं अस्पतालमा डाक्टर अभाव रहे पनि काठमाडौं बाहिर जान नमान्दा बेरोजगार बस्नु परेको सुनाएका हुन्।

उनले अस्पतालहरूमा डाक्टरको अभाव रहे पनि धेरै डाक्टर बेरोजगार हुँदा पनि राजधानी काठमाडौंबाहिर जान नचाहेको र धेरै एमबिबिएस, डेण्टलमा विशिष्टता हासिल गरेका डाक्टर बेरोजगार रहेको भन्दै मन्त्रालयमा आउने गरेको बताए। उनका अनुसार तर ती डाक्टरहरू कोही पनि दुर्गम क्षेत्रमा काम गर्न जान तयार नभएको गुनासो गरे।

‘अस्पतालहरूमा डाक्टरको अभाव छ। अर्कोतर्फ धेरै डाक्टर बेरोजगार बसेको पाएको छु। धेरै डाक्टर मैले एमबिबिएस, डेण्टलमा विशिष्टता हासिल गरेको छु भन्दै मन्त्रालयमा आउनुहुन्छ। तर उहाँहरूलाई देशको कुनै पनि स्थानमा गएर सेवा गर्न तयार हुनुहुन्छ‚ राम्रो पारिश्रमिक पाउनुहुन्छ भन्दा कोही पनि तयार हुनुहुन्न’, उनले भने, ‘उहाँहरू सबैलाई काठमाडौं मात्रै चाहिन्छ। काठमाडौंमा डाक्टरको संख्या अत्यधिक छ। उदाहरण नै दिँदा आर्यघाटमा ७ जना डाक्टर छन् तर त्यहाँ दरबन्दी छैन। खास काम पनि छैन।’

उनले दरबन्दी र काम नभएको आर्यघाटमा समेत ७ जना डाक्टर रहेको बताए। मन्त्री खापुङले बीमा गर्ने व्यक्तिहरूसँग बीमाको सदुपयोग गर्न आग्रह पनि गरेका छन्। स्वास्थ्य बीमा गर्नेहरूले बीमा गरेकै आधारमा अनुचित फाइदा उठाउन खोजेकाले समस्या आएको उनको भनाइ छ।

स्वास्थ्यमन्त्री खापुङले स्वास्थ्य बीमाबापतको रकम भुक्तानीको विषयमा अस्पतालहरूले चिन्ता लिन आवश्यक नभएको बताए।

‘स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्न स्वास्थ्य मन्त्रालय तयार छ। स्वास्थ्य बीमाबापतको रकम भुक्तानी नै हुँदैन कि भन्ने चिन्ता छ। त्यो विषयमा चिन्ता लिनुपर्ने आवश्यकता छैन’, उनले भने, ‘स्वास्थ्य बीमा गर्नेहरूले पनि बीमा गरेकै छु भन्ने हिसाबले पनि अनुचित फाइदा लिन खोजेको देखिन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.