शेखर कोइरालादेखि भानुभक्त ढकालसम्मको चर्चा

|

विराटनगर : निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ गते देशैभरि एकै चरणमा गर्ने घोषणा गरेसँगै यतिवेला मोरङमा चुनावी माहोल तातिएको छ।

त्यसमा पनि प्रदेश १ को राजधानी रहेको विराटनगर विभिन्न औद्योगिक र राजनीतिक आन्दोलनको इतिहास बोकेको स्थान हो। जुन स्थान नेपालका शीर्ष नेताहरू गिरिजाप्रसाद कोइरालादेखि मनमोहन अधिकारीसम्मको राजनीतिक भविष्यको मार्गचित्र कोरिएको थियो।

अर्थात उनीहरूले मोरङमा राजनीति गरेका थिए। यतिवेला मंसिर ४ गतेको निर्वाचनका लागि टिकट कसले पाउने भन्ने विषयको चर्चाले स्थान ओगटेको छ।

को—को छन् त टिकटको लाइनमा?

स्थानीय निर्वाचनको चर्चा सेलाएसँगै प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको चर्चाले यतिवेला चिया पसल होस् या चोकमा टिकट कसले पाउला? टिकट पाइहाले कसले जित हात पार्ला भन्ने विषयले विशेष स्थान पाउने गरेको छ।

यतिवेला मोरङबाट शेखर कोइराला, नोबेल मेडिकल कलेजका संचालक सुनिल शर्मा, पूर्व कानुनमन्त्री शिवमाया तुम्बाहाम्फे चुनावी मैदानमा उत्रिन जोड रहेका छन्।

पूर्व मन्त्री भानुभक्त ढकालले पनि पुनः मोरङबाटै चुनाव लड्ने तयारी गरिरहेका छन्। स्थानीय तहको निर्वाचनतर्फ हेर्ने हो भने कांग्रेसले सोँचे जस्तो मत परिणाम ल्याउन सकेन।

यता एमालेले एक्लै चुनावी मैदानमा उत्रिँदा ९ स्थानीय तहमा जित हात पारेको छ। आन्तरिक द्वन्द्व कारण फुटको संघारमा पुगेको एमालेलाई स्थानीय तह निर्वाचनमा फुटको छिटाले खासै नकारात्मक असर परेन।

तर गठबन्धन गर्दा पनि नेपाली कांग्रेस, जसपा, माओवादीलगायत दलले खासै सोचेको जस्तो मत परिणाम ल्याउन नसकेको स्थानीय तह निर्वाचनमा प्रदेश र संघको निर्वाचनमा कांग्रेस, माओवादी र एमालेको मत परिणाम कस्तो आउला भन्ने चासोको विषय बनेको छ।  

स्थानीय निर्वाचनमा मतदाताले आफूहरूको मनोभावनाअनुसार उम्मेदवार चुन्ने र सङ्घको निर्वाचनमा पार्टीलाई प्राथमिकतामा राखेर उम्मेदवार चयन गर्ने भएकाले स्थानीय तहको  निर्वाचनको मत परिणामलाई आधार मानेर ढुक्क पर्नु नहुनेमा नेताहरू जोड दिन्छन्।

कुन क्षेत्रबाट कसको अपेक्षा?

क्षेत्र नम्बर १

६ वटा निर्वाचन क्षेत्र रहेको मोरङ काठमाडौंपछिको सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको जिल्लाको रुपमा लिइन्छ। जहाँबाट निर्वाचनको तयारीमा व्यवसायी घराना‚ बाल्यकालदेखि राजनीतिक पृष्ठभूमिबाट उदाएकाहरूले अब आउने निर्वाचनमा अपेक्षा राखेका छन्।

मोरङको क्षेत्र नम्बर १ मा वाम गठबन्धनबाट एमालेका घनश्याम खतिवडाले चुनाव जितेका थिए। दोस्रो संविधानसभामा साबिकको क्षेत्र नम्बर ९ बाट घनश्याम खतिवडा र वर्षमान पुनलाई पराजित गरेर सांसद बनेका डिगबहादुर लिम्बु अहिले प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्र नं १ बाट उम्मेदवार बन्ने दौडमा छन् तर २०७४ को निर्वाचनमा भने खतिवडाले लिम्बुलाई हराएका थिए।

बहालवाला सांसदसमेत रहेका खतिवडा यस पटक पनि टिकट लिने दाउमा छन्। उपसभामुख हुँदै कानुनमन्त्री समेत भएकी डा.शिवमाया तुम्बाहाम्फे पनि सोही क्षेत्रकी हुन्। उनी एमालेभित्र खतिवडाभन्दा प्रभावशाली मानिन्छिन्।

क्षेत्र नम्बर २

दोस्रो संविधानसभा निर्वाचनमा साबिक मोरङ क्षेत्र नं १ बाट निर्वाचित भएका एमालेका ऋषिकेश पोखरेल र बहालवाला सांसद मिनेन्द्र रिजालको प्रतिस्पर्धा हुने सम्भावना रहेको छ। २०७४ को निर्वाचनमा रिजालसँग पोख्रेलले पराजय भोगेका थिए।

एमालेका जिल्ला अध्यक्षसमेत रहेका पोख्रेलको एकल उम्मेदवारी रहने एमाले निकट नेताहरू बताउँछन्। यता रिजाललाई भने कांग्रेसकै नेतृ सुजाता कोइरालाले चुनौती दिइरहेकी छिन्। यदि नेतृ सुजाताले टिकट पाए गिरिजाको निर्वाचन क्षेत्रसमेत रहेकाले उनको प्रभाव पर्ने नेताहरूको भनाइ रहेको छ।    

क्षेत्र नम्बर ३

मोरङ क्षेत्र नम्बर ३ मा डाक्टर सुनिल शर्माको प्रभाव पर्ने क्षेत्र मानिन्छ यद्यपि उनले निर्वाचन भने जित्न सकेका छैनन्। अर्थात गत चुनावमा भानुभक्त ढकालसँग  पराजित भएका थिए। बाम गठबन्धन हुँदा झन्डै २१ हजारभन्दा बढी मत रहेको मोरङ क्षेत्र नम्बर ३ मा  ढकालले १९ सय ६ मतको अन्तरले विजयी बनेका थिए।

तर, यो पटक क्षेत्र नम्बर ३ को राजनीतिक माहोल फेरिएको छ। एमाले फुटको छिटाको प्रभाव पर्ने सम्भावनाले गर्दा पनि यो पटक शर्माको जित्ने चान्स धेरै रहेको स्थानीयहरू बताउँछन्।

कांग्रेसभित्रै सुनिल शर्मासँगै संस्थापन पक्षका दिलीप गच्छदार टक्कर दिने प्रयासमा छन्। उनी संविधानसभा सदस्य थिए।

यता नेकपा एकीकृत समाजवादीका चन्द्र गुरुङले पनि इच्छा देखाएका छन्। गुरुङ सभासदसमेत हुन्। एमालेका तीनजना पूर्व सांसदहरू एकीकृत समाजवादीमा गएपछि एमालेलाई संकट पर्ने देखिएको छ।

क्षेत्र नम्बर ४

क्षेत्र नं. ४ मा तत्कालीन वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका अमनलाल मोदीले चुनाव जितेका थिए। मोदीले कांग्रेस नेता महेश आचार्यलाई फराकिलो मतान्तरले पराजित गर्दै विजयी भएका थिए। यस क्षेत्रमा माओवादीबाट उनकै प्रभाव र सम्भावना पनि देखिन्छ।

आचार्य अहिले पनि टिकट लिने दौडमा रहेका छन् भने अर्का प्रभावशाली नेता गुरुराज घिमिरे पनि दौडमा छन्। अब नयाँ पुस्तालाई टिकट दिनुपर्ने घिमिरे बताउँछन्।

यता एमालेबाट विनोद ढकाल पनि सो क्षेत्र बाट चुनाव लड्ने तयारीमा रहेका छन्। उनी मोरङका प्रभावशाली मानिन्छन्। पूर्व सामाजिक विकासमन्त्री समेत रहेका जीवन घिमिरे पनि टिकटको दौडमा रहेका छन्।

नम्बर ५                                                     

०६४ को संविधानसभाको निर्वाचनमा यस क्षेत्रबाट तत्कालीन मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका थिए। २०७० सालको संविधानसभा दोस्रो निर्वाचनमा उपेन्द्र यादव नेपाली कांग्रेसका उम्मेदवार अमृतकुमार अर्यालबाट पराजित भएका थिए।

२०७० सालको संविधानसभा निर्वाचनमा तत्कालीन क्षेत्र नं ४ बाट नेकपा (माओवादी केन्द्र)बाट शिवकुमार मण्डल विजयी भएका थिए।

उनी २०७४ सालको निर्वाचनमा क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका थिए। विराटनगरलाई प्रदेशको राजधानी बनाउने र रंगेली–विराटनगर क्षेत्रभित्र औद्योगिक क्षेत्रको विकास गर्ने शिवकुमार मण्डलको एजेन्डा रहेका छन्।

यस क्षेत्रमा मण्डलले टिकट पाए अर्याल समानुपातिकमा बस्ने सम्भावना पनि रहेको छ। कांग्रेसका अमृत अर्याल कांग्रेसभित्रकै एक्ला उम्मेदवार हुन्। एमालेका योगचन्द्र मण्डल सो क्षेत्रमा एक्ला उम्मेदवार बन्ने सम्भावना रहेको छ। मण्डल जीवन विकास लघु वित्तिय संस्थाका अध्यक्ष हुन्।

क्षेत्र नम्बर ६

०७४ मा यो क्षेत्रबाट लालबाबु पण्डितले प्रतिनिधिसभा सदस्यमा विजयी हासिल गरेका थिए। कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालालाई ६ सय ७५ मतान्तरमा पराजित गरेका थिए। पूर्व सामान्य प्रशासनमन्त्री समेत रहेका पण्डितले यस पटक पनि टिकट पाउने सम्भावना बढी छ।

कांग्रेसका शेखर कोइराला पनि गत चुनावमा हार बेहोरेपछि आफ्नो क्षेत्रमा बाक्लो उपस्थिति बनाइरहेका छन्। बिरामीको उपचार गर्नदेखि जनताका कुरा सुन्नसम्म उनी निर्वाचन क्षेत्रमा जाने गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.