|

खोटाङ : हलेसी–घुर्मी सडकखण्ड, पक्की भएपनि ठाउँ ठाउँमा कालोपत्रे उक्किएकाले आफूले चाहेजति सवारी हाँक्न नपाइने।

सोही दिन फिर्ने गरी खोटाङको सदरमुकाम दिक्तेलबाट बिहान ११ बजे उदयपुरको घुर्मीसम्मको यात्रामा निक्लिएको म बाटोमा कतै नरोकिने सोचमा थिएँ।

हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटार प्रहरी चौकीभन्दा करिब ३ सय मिटर वर पुगेपछि प्लास्टिकमा केही बोकेर हात हल्लाई रहेका दुई उस्तै र उत्रै बहिनीहरू भेटिए।

‘दाई किन्नुस्न, दाई प्लिज किन्नुस्न’, दुई बहिनीहरू एउटै आवाजमा भनिरहेका थिए। उनीहरू भनिमात्र रहेनन् बीच सडकमै उत्रिए। म मोटरसाइकल रोक्न बाध्य भएँ।

‘मैले के किन्नु पर्यो हो नानी, के हो त्यो प्लास्टिकको?’, ‘खनिउँँ हो दाइ मिठो हुन्छ, अनि गर्मीमा शीतल पनि हुन्छ।’

ओहो खनिउँँ पो, पहिले बाख्रा चराउन जाँदा, घाँस काट्न जाँदा बोटभरी खनिउँँका दाना देख्दा वास्ता नगर्ने मान्छे म, अब अहिले किनेर खाउँला त? मैले खनिउँँ नकिन्ने निर्णय गरेर मोटरसाइकल थोरै अघि बढाएँ।

‘प्लिज दाइ किन्दिनुस्न् कापी किन्नु छ के हामीले’, पछाडिबाट आएको यो आवाजले मन चसक्क बनायो र पुनः म रोक्किए, मोटरसाइकलबाट झरेँ। खनिउँँ नलाने तर १-१ सय रुपैयाँ दिने भनेपछि उनीहरू मुस्कुराए, निन्याउरो उनीहरूको मुहारमा खुशी देख्दा मैले पनि ओठ बाँधिराख्न सकिन।

हतारमा भएपनि त्यी दुई बहिनीसँग एकैछिन गफिन मन लाग्यो र सडक छेउमा गएर हामी तीन जना बस्यौँ, उनीहरूले बोतलमा बोकेको पानी दिए, मैले पनि घुटुघुटु पिएँ।   

एउटी बहिनीको नाम रमिला अधिकारी उनी च्यास्मिटार माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्छिन् रे। अनि अर्की बहिनी सुस्मा परियार उनी देउराली आधारभूत विद्यालयमा कक्षा ५ मा पढ्दै गरेको कुरा सुनाइन्। अन्य दिन उनीहरू झोलाभरी किताब बोकेर विद्यालय दौडिँदा रहेछन्, अनि विद्यालय बन्द भएको दिन विभिन्न फलफूल बोकेर सडकमा बेच्न आउँछन् रे।

साउन महिनाको २८ गते खनिउँँ बेचिरहँदा सडकमा मसँग भेट्टिएका दुई बहिनी सिजन अनुसार अम्बक, लालीगुराँस, ऐँसेलु, अमला, टिम्मुर बेच्छौँ भन्दै थिए। विद्यालय बिदा भएको दिन त्यसरी सडकमा गएर फलफूल बेच्दा कहिले २ सय, कहिले ५ सय अनि कहिले १ हजार सम्म कमाइ हुने कुरा उनीहरूले मलाई सुनाए।

त्यो रकमले पढाइमा आवश्यक कापी र डट्पेन किन्ने, विद्यालयमा जाँदा खाजा खाने र घरमा आमा बुबालाई पनि दिने गरेको बताए।

त्यो दिन धेरै सुमो, बस, मोटरसाइकल लगायतका सवारी साधन रोक्दा पनि कसैले खनिउँँ नकिनेर निराश रहेछन् त्यी बहिनीहरू, मैले २ सय दिँदा खुशी भए। केही समयपछि हलेसी तर्फबाट एउटा सुमो आयो बहिनीहरू त्यसैगरी खनिउँँ किन्न बिन्ती बिसाउँदै सडकमा उत्रिए।

हलेसी दर्शन गरेर इलाम फर्किएको बताउने सुमन काफ्ले र उनको समूहले बहिनीहरूलाई १ हजार दिए। 

रकम दिदैँ सुमनको समूह

त्यसपछि सुमो घुर्मीतर्फ लाग्यो, बहिनीहरूसँग बिदा मागेर मैले पनि मोटरसाइकल स्टार्ट गरेर सुमो कुदेका बाटो समाएँ। बहिनीहरू भन्दै थिए, 'दाइ तपाईं त आइरहनु है, हामीले धेरै पैसा पाउँदो रहेछौँ।'

बहिनीहरूसँगको गफ त सकियो, अब उनीहरूसँग त्यसैगरी फेरि भेट होला या नहोला त्यो मलाइ थाहा छैन, तर अब मैले मेरो आफ्नै मनसँग गफिनु पर्ने भयो।

नेपालको संविधान २०७२ को भाग ३, धारा (३९) ले भन्छ, प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुनेछ। खै त यो संविधानले भनेका कुरा त्यी बहिनीहरूमा लागू भएको जो कि खनिउँका दाना बोकेर यात्रुहरूले किन्ने आशामा सडकमा कुदिरहेछन्।

यसो सम्झिएँ विद्यालय पनि हुन्छ भन्ने कुरा थाहै नभएका, भोकै अनि नांगै सिंहदरबार, सर्वोच्च अदालत, मानव अधिकार जस्ता कार्यालय कै अगाडि हिँडिरहेका-बसिरहेका त्यी निर्दोष बालबालिकालाई नदेख्ने त्यो संविधानले, त्यो राज्यले, यो विकट गाउँका दुई बहिनीहरूलाई कहाँ देख्छ ?

यात्राकै क्रममा त्यी दुई बहिनी र संविधान बीचको भिन्नतालाई सम्झिएँ। आफैँभित्र लाजले पनि लाज मान्यो।

राजकुमार भट्टराई

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.