|

सर्लाही : सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रमा सर्पदंशका बिरामीको उपचारमा समस्या भएको छ।

प्रदेश सरकारले उपलब्ध गराएको आइसियू र भेन्टिलेटर लामो समयदेखि संचालनमा नआउँदा सर्पदंशका गम्भीर खाले बिरामीको उपचार गर्न समस्या परेको हो।

दुई वर्षअघि सर्पले टोकेर उपचारका लागि ल्याइएको हरिवनकी एक बालिकाको उपचारकै क्रममा मृत्यु भएपछि उनका आफन्तले आइसियू र भेन्टिलेटरमा तोडफोड गरी क्षति पुर्‍याएका थिए।

त्यसपछि केही समय आइसियू र भेन्टिलेटर थन्काएर राखेका थिए। पछि मर्मत गरेर प्रयोगमा ल्याइए पनि अक्सिजन लिक हुने समस्या आएपछि पुनः थन्काएर राखिएको नवलपुर सर्पदंश उपचार केन्द्रका संचालक समितिका अध्यक्ष उद्धव पौडेलले जनाए।

उनले आइसियू र भेन्टिलेटर खरिद गरेको कम्पनीले प्राविधिक पठाउन ढिला गर्दा समस्या भइरहेको बताएका छन्। आफूले मर्मतका लागि प्राविधिक पठाइदिन बारम्बार फोन गरिरहेको उनले जनाए।

'भेन्टिलेटर र आइसियू खरिद गरेको कम्पनीका प्रतिनिधिसँग प्राविधिक पठाइदिन कयौँ पटक फोन गरिसक्यौँ, भोलि–भोलि भनेर टारेको टार्‍यै छन्', अध्यक्ष पौडेलले गुनासो गर्दै भने, 'प्राविधिक कुरा हामीले गरेर मात्रै नहुने रहेछ, प्राविधिक नआइदिँदा उपचारमा समस्या परिरहेको छ।'

दुईजना चिकित्सकलाई आइसियू र भेन्टिलेटर चलाउने तालिम दिएर ल्याइसकिएको पौडेलले बताए। 'दुई जना डाक्टरले धरानमा तालिम लिएर आइसकेका छन्, तर उपकरण नै ठीक छैनन्, पौडेलले भने।'

सर्पदंश उपचार केन्द्र आफैँले भेन्टिलेटर र आइसियू संचालनका लागि दुई जना एमबीबीएस डाक्टर नियुक्त गरेको छ। केन्द्रका हेल्थ असिस्टेन्ट जगन्नाथ यादवले सामान्य अवस्थाका बिरामीलाई एन्टिभेनम चलाएर उपचार गर्दै आएको बताए।

जटिल अवस्थामा ल्याइएका बिरामीलाई भने आइसियू र भेन्टिलेटरको अभावमा उपचार गर्न समस्या हुने गरेको यादवले बताए। सामान्य अवस्थाका बिरामीलाई त एन्टिभेनम चलाएर यहीँ उपचार गर्दै आएका छौँ तर सिरियस अवस्थाका बिरामीलाई सुविधा सम्पन्न अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता रहेको हेल्थ असिस्टेन्ट यादवले भने।'

उनका अनुसार अहिले अत्यधिक विषालु हुने कालो करेतले टोकेका बिरामी धेरै आउने गरेका छन्। केन्द्रमा अहिले सर्पले डसेर दैनिक चार/पाँच जना बिरामी उपचारका लागि आउने गरेका केन्द्रले जनाएको छ।


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.