|

काठमाडौं : परराष्ट्रमन्त्री डा. नारायण खड्काले आज संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए)को नेपाल कार्यालयका लागि नयाँ प्रतिनिधि योङ होङको ओहदाको प्रमाणपत्र ग्रहण गरेका छन्।   

परराष्ट्र मन्त्रालयद्वारा आयोजित ओहदाको प्रमाणपत्र ग्रहण समारोहमा मन्त्री खड्का र नेपाल प्रतिनिधि होङले नेपाल सरकार र युएनएफपिएबीच ५० वर्षदेखि स्थापित सम्बन्धको महत्त्वबारे चर्चा गरे।

उनीहरूले महामारी तथा युद्धका कारण सबैभन्दा धेरै प्रभावित भएका महिला तथा किशोरीलाई राष्ट्रिय विकासमा पूर्णतः सहभागी गराउन सशक्तिकरणका लागि बलियो साझेदारीमा जोड दिए। 

परराष्ट्रमन्त्री खड्काले भने, ‘कोभिड १९ को महामारी र जारी युद्धले विश्वव्यापीरूपमा असमानता र गरिबी बढाएको छ। यसले सबै नागरिक, विशेष गरी महिला तथा किशोरीहरू लगायत जोखिममा परेका समूहको गुणस्तरीय सेवामा पहुँच बढाउन युएनएफपिए जस्ता साझेदार संस्थाहरूसँगको रणनीतिक समन्वय र सहकार्यको आवश्यकता औंल्याएको छ।’

नेपाल प्रतिनिधि होङले युएनएफपिएको म्यान्डेटप्रति नेपालको बलियो समर्थन र सन् २०१९ मा आयोजित नैरोबी ग्लोबल समिटमा जनसंख्या र विकाससम्बन्धी अन्तरराष्ट्रिय सम्मेलनको भिजनप्रति नेपाल सरकारले दोहोर्‍याएर व्यक्त गरेको प्रतिबद्धताको प्रशंसा गरिन्। उनले देशमा यौन तथा प्रजनन स्वास्थ्य अधिकारको सुधारमा नेपाल सरकारले गर्ने प्रयासमा युएनएफपिएको सहयोग रहने प्रतिबद्धता दोहोर्‍याइन्।

नेपाल प्रतिनिधि होङले दिगो विकासका लक्ष्य तथा आईसीपीडीको केन्द्रमा रहेको ‘तीन शून्य’ (परिवार नियोजनका साधनको पूरा हुन नसकेका (अपरिपूर्त) माग शून्यमा झार्ने, रोक्न सकिने मातृमृत्युको अवस्था शून्यमा झार्ने र लैङ्गिक हिंसा र बालविवाह जस्ता हानिकारक अभ्यास शून्यमा झार्ने) परिणाम हासिल गर्नका लागि दृढ संकल्प व्यक्त गरिन्।     

‘युएनएफपिएले रूपान्तरणकारी ‘तीन शून्य’को उपलब्धि हासिल गर्न विश्वव्यापी रूपमा महत्त्वाकांक्षी लक्ष्य तय गरेको छ र यी लक्ष्य नेपालका लागि हाम्रा प्राथमिकता हुन्। नेपालमा हामी यी लक्ष्यप्रति दृढतापूर्वक प्रतिबद्ध छौं र महिला तथा किशोरीहरूका लागि यौन तथा प्रजनन स्वास्थ्य अधिकार र समाजमा सक्रिय भूमिका निर्वाह गर्न हानिनोक्सानी रहितको जीवन बाँच्ने अधिकार सुनिश्चित गर्न हामी काम गर्नेछौं। नेपाल सरकारसँगको हाम्रो साझेदारीलाई निरन्तरता दिन हामी तत्पर छौं’, नेपाल प्रतिनिधि होङले भनिन्।  

होङले संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका नेपाल प्रतिनिधिको जिम्मेवारी जुलाई ११, २०२२ देखि सम्हालेकी हुन्। अन्तरराष्ट्रिय विकासमा १६ वर्षभन्दा धेरै अनुभव सँगालेकी होङ दक्षिण कोरियाली नागरिक हुन्। नेपाल प्रतिनिधिको जिम्मेवारी सम्हाल्नुअघि उनी मलावीका युएनएफपिए प्रतिनिधि र त्यसअघि मोजाम्बिकमा डेपुटी प्रतिनिधि थिइन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.