|
फाइल तस्वीर

काठमाडौं : यसै साता नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त मनोज प्रभाकरले नेपाली टोलीको अभ्यास गराउन थालेका छन्।

कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा प्रभाकरले प्रशिक्षण थालनी गरेका हुन्। उनको प्रशिक्षणमा नेपाली टोली केन्या भ्रमणमा जाँदै छ। पुबुदु दासानायकेले ७ महिनाको प्रशिक्षण यात्रालाई अन्त्य गरेसँगै नियुक्त भएका प्रभाकरले नेपाली टोलीको मुख्य समस्या ब्याटिङलाई सुधार गर्ने प्रतिवद्धता जनाएका थिए।

पहिलो दिनको सामान्य अवलोकनपछि प्रभाकरले नेपाली टोलीमा टेक्निकको समस्या रहेको बताए। केन्या भ्रमण गर्न लागेको टोलीमा नेपाल क्रिकेट संघ क्यानले पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई समेट्दै १६ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।

अगस्ट २५ देखि सेप्टेम्बर ५ सम्म केन्यामा आयोजना हुन लागेको ५ टी–२० र ३ एकदिवसीय सिरिजका लागि क्यानले लेग स्पिनर सन्दिप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको छ।

जसमा ज्ञानेन्द्र मल्लले पुनरागमन गरेका छन् भने यू–१९ टोलीका विकेटकिपर अर्जुन साउद पनि टोलीमा अटाएका छन्। मल्लले पछिल्लो पटक विश्व क्रिकेट लिग–२ अन्तर्गत मार्चमा युएईसँगको खेल खेलेका थिए।

राष्ट्रिय टोलीमा पछिल्लो पटक स्कटल्याण्ड भ्रमण गरेका विनोद भण्डारी, कुशल भूर्तेल र सुनिल धमला टोलीबाट बाहिरिएका छन् भने अर्जुन साउद पहिलो पटक राष्ट्रिय टोलीमा अटाएका हुन्।

वैकल्पिक खेलाडीमा क्यानले ४ खेलाडी समावेश गरेको छ। वैकल्पिकमा तीव्र गतिका बलर जितेन्द्र मुखियासहित भीम सार्की, प्रतिश जिसी र हरिशंकर शाह रहेका छन्।

घोषणा भएको टोलीले अगस्ट २५ देखि सेप्टेम्बर ५ सम्म केन्यामा आयोजना हुने सिरिज खेल्नेछ। दुवै सिरिज केन्याको घरेलु मैदानमा हुनेछ।

घरेलु टोली केन्यासँगको सिरिजको लागि तालिकासमेत सार्वजनिक गरेको छ। तालिकाअनुसार नेपालले टी–२० सिरिज खेल्नेछ।

पहिलो टी–२० अगस्ट २५ मा हुनेछ भने दोस्रो अगस्ट २६, तेस्रो अगस्ट २८, चौथो अगस्ट २९ र अन्तिम अगस्ट ३० मा हुनेछ।

पहिलो एकदिवसीय सेप्टेम्बर २, दोस्रो एकदिवसीय सेप्टम्बर ३ र अन्तिम एकदिवसीय सेप्टेम्बर ५ मा हुने तालिका रहेको छ। नेपाली टोली नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरको नेतृत्वमा केन्या भ्रमणमा जानेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.