|

दैलेख : दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले नागरिकतामा नाम सच्याउन आएका व्यक्तिमाथि जिल्ला प्रशासन कार्यालय दैलेखमा अपमानपूर्ण व्यवहार गरिएको भन्दै भ्रामक टीका टिप्पणी गरिएको बताएका छन्।

संघीय संसद्‍मा सांसद लक्ष्मी परियारले प्रशासनमा नाम सच्याउन पुगेका नागरिक माथि जातीय विभेदलाई प्रश्रय दिने गरी अपमानपूर्वक व्यवहार गरेको भन्दै अभिव्यक्ति दिएपछि प्रमुख जिल्ला अधिकारी प्याकुरेलले मङ्गलबार पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन्।

उनले नागरिकतामा नाम सच्याउन आएका व्यक्तिलाई प्रक्रिया पुर्‍याएर आउन भनिएको बताए। ‘हामीले प्रशासनमा नाम सच्याउन आएका व्यक्तिलाई प्रक्रिया पुर्‍याएर आउन भनेका हौँ। त्यही अनुसार यहाँबाट जानुभएकाे हो। यो विषयलाई अनावश्यक टीका टिप्पणी गरियो’, प्याकुरेलले भने।

उनले भगवतीमाई गाउँपालिका–५ बस्ने नागरिकतामा ठगे कामी नाम उल्लेख गरिएका व्यक्तिले आफ्नो नाम ठगे कामीबाट कर्णबहादुर कामी कायम गर्न नागरिकता प्रमाणपत्र संशोधनका लागि प्रशासनमा आएकाे र आफूले कर्णबहादुर बनाउँदा नाम थर पूर्ण फरक पर्ने देखिएकाले सहमतिमै 'ठ' अक्षरबाट कुनै अर्को नाम राख्न मात्र भनेको प्रजिअ प्याकुरेलले बताए।

उनले नेपाल नागरिकता ऐन, २०६३ को दफा १७ ले दिएको कानुनी सुविधा बमोजिम सामान्य प्रकृतिका आधारमा नागरिकता संशोधन गर्न सकिने प्रावधान भएको हुँदा ठगे कामीको सट्टा कर्णबहादुर नाम बनाउन नमिल्ने बताए।

आफूले निवेदककै सहमतिमा 'ठ' अक्षरबाट आउने कुनै अर्को नाम राखी पेस गर्न मात्र भनेको प्रमुख जिल्ला अधिकारी प्याकुरेलको भनाइ छ। उनले टिप्पणी गरिए जस्तो प्रशासनबाट कुनै अभ्यास नभएको बताए।

यता ठगेन्द्रको नाम सच्याउन जिल्ला प्रशासन कार्यालयमा सहयोगीका रूपमा पुगेका भगवतीमाई गाउँपालिका मेहेल तोलीका जगत रेग्मीले प्रशासनमा कुनै अपमानपूर्ण व्यवहार नभएको बताए।

‘म आफै पनि प्रशासनमा गएको थिएँ, सिडिओ साब र नाम सच्याउन आएका व्यक्तिबीच 'ठ'बाट आउने कुनै अर्को नाम राख्ने सहमति भएको हो। सहमति पछि उहाँ जानुभयो’‚ रेग्मीले थाहाखबरसँग भने। 

   
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.