|

इलाम :  रसुवा पुर्ख्यौली घर भएका तुलु तामाङ २०५२ सालमा डेरी उद्योगमा काम गर्न इलाम हानिए। यती डेरीमा काम गर्न इलाम आएका उनी सुरुवातमा  दूध बोक्ने, दूध तताउने,दाउरा मिलाउने, उद्योग सफा गर्ने काम गर्थे।

उद्योगको मालिक परिर्वतन हुने र समयसमयमा चीज कारखाना बन्द हुन थालेपछि एक समय उनी बेरोजगार जस्तै भएका थिए। तर अहिले तुलु आफैँले सफल उद्यमीको पहिचान बनाइसकेका छन्।   २०६६ सालमा आफैँले लक्की डेरी स्थापना गरेर चीज उत्पादन थालेका तुलुसँग अहिले करोडौँको सम्पती छ। ४० लिटर दुध खरिदबाट सुरु भएको उनको डेरीले अहिले करिब ३ हजार लिटर दुध प्रशोधन गरेर चीज, घिउ, छुर्पी लगायतको सामाग्री बनाउँछ।

 लक्की डेरीबाट उत्पादन भएको चीज देशका काठमाण्डौ, पोखरा, विराटनगरका अतिरिक्त भारतका सिक्किम, दाजिलिङ, आसाममा निर्यात हुँदै आएको छ। उत्पादित चीज नेपाल र भारतमै खपत हुने भएकाले तेश्रो मुलुक निर्यात गर्न नसकिएको उनी बताउँछन्।

२०७३ सालको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत भएका तामाङको आफ्नै गाई फार्म पनि छ। उनको उद्योगमा ९ जनाले रोजगारी पाएका छन्। दोलखाको स्यामा पुख्र्यौली घर भएका रिञ्जी फुर्वा शेर्पाले २०२९ सालमा एसएलसी गरेलगत्तै चीज बनाउने तालिम गरे।

त्यसपछि उनले दुग्ध विकास संस्थान र इलाम पशुपतिनगरको प्रशान्त डेरीमा चीज मेकरका रूपमा काम गरे। शेर्पा आफैँले ब्यवसाय गर्ने मनसायले २०६७ सालमा इलामकै सुलुबुङस्थित देउराली बजारमा चीज उद्योग खोले। सदरमुकामबाट १६ किलोमिटर टाढा रहेको देउरालीमा उद्योग खोलेर शेर्पाले गाउँकै युवालाई रोजगारीका अवसर खोलेका छन्।

चीज उद्योग खुलेपछि गाउँका युवाहरूले प्रत्यक्ष रोजगारी पाएका छन् भने किसानलाई व्यावसायिक गाई पालनमा आकर्षण बढेको छ। शेर्पा डेरीमा एक हजार तीन सय लिटरभन्दा धेरै दूध संकलन भइरहेको छ। ‘कृषकले हामीलाई पत्याएका छन', शेर्पाले भने, ‘हामीले वार्षिक  करोडौँ रुपैयाँ कृषकको हातमा पुर्‍याएका छौँ।’

शेर्पाको डेरीमा किसानले प्रतिलिटर ६० रुपैयाँसम्म दूधको मूल्य पाएका छन्। शेर्पाको मिहिनेतलाई देखेर कृषि र पशुपालन सम्बन्धी विभिन्न आयोजनाले लाखौको मेसिनरी र प्राविधिक उपकरण समेत सहयोग गरेका छन्। दूध ढुवानीका लागि बेलेरो पिकअप, अन्तराष्ट्रियस्तरको फेब्रिकेटर कोल्ड स्टोर, दूध तताउने स्टीम लगायतको सामाग्रीहरू उनले उन्नती समावेशी कार्यक्रमबाट केही बर्ष अघि अनुदान पाए। उद्योगमा फेब्रिकेटर कोल्ड स्टोर निर्माण भएपछि भुकम्प र नाकाबन्दी भएका बेला ६ महिनासम्म उत्पादन भएको चीज स्टोर गर्न सकिने शेर्पा बताउँछन्।

‘बजारको समस्या आएका बेला १८ हजार किलोसम्म स्टोर गर्न सकिने भएकाले कम मुल्यमा बिक्रि गर्नुपर्ने समस्या आउँदैन’, उनी भन्छन्।

चीज उद्योगमा लगानी शुरू गरेका सूर्योदय नगरपालिका -२ का गोविन्द खड्का इलाममा सबैभन्दा बढी चीज बनाउने उद्यमी हुन्। २०६५ सालमा २ लाख ६० हजार लगानीमा उद्योग खोलेर शुरूका दिनमा २३ लिटर दूध संकलन गरि प्रशोधन गरेर चीज बनाएका खड्का अहिले तीन उद्योगका मालिक भएका छन्। अनमोल चीज उद्योगको नाममा लगानी शुरू गरेका खड्काको सूर्योदय नगरपालिका २ को पशुपतिनगर बजार, फाटक र माईजोगमाई गाउँपालिकाको नयाँबजारमा उद्योग छन्।

दुग्धजन्य उद्योगबाट समृद्धि हासिल गर्ने तुलु, गोविन्द र रिञ्जिी प्रतिनिधि पात्र मात्र हुन्। इलामका ग्रामिण क्षेत्रका किसानले दुग्ध विकास संस्थान अन्र्तगतको विराटनगर दुग्ध वितरण आयोजनामा मात्र दैनिक २५ हजार लिटर दुध विक्री गर्छन्।

गाउँमै दुग्धजन्य उद्योग स्थापना हुने क्रम बढेसँगै सरकारी स्वामित्वको दुग्ध विकास संस्थानमा निर्यात हुने दुध वर्षेनी घट्दै छ। केही बर्ष अघिसम्म दैनिक ४० देखि ५० हजार लिटरसम्म दूध विराटनगरस्थित दुग्ध वितरण आयोजनामा जाने गरे थियो।

इलाममा अहिले गाउँ गाउँमा ललिपप, पुष्टकारी, बम्बाइसन, छुर्पी, चीज बनाउने उद्योगहरू बढ्दो क्रममा छन्।  दुग्धजन्य खुल्ने क्रमले इलाममा उत्पादन भएको दूध तराईका बजारमा निर्यात हुने मात्र घट्दै गएको हो। जसले गर्दा गाउँमा रोजगारीका अवसर पनि बढ्दै गएका छन्।

ललीपप उद्योगमा ललिपप, पुष्टकारी बनाइन्छ भने छुर्पी उद्योगमा घिउ र छुर्पी बनाइन्छ। महिलाहरूले बढी रोजगार पाएको ललिपप उद्योगमा वार्षिक  दुर्ई लाख ८७ हजार चार सय ५० लिटर दूध प्रशोधनबाट २२ हजार ७ सय किलो ललिपप र ३ हजार २ सय ४५ किलो पुष्टकारी उत्पादन हुने गरेको छ। जसमा एक करोड ७० लाख रूपैयाँ बराबरको मात्रै दूध प्रशोधन हुँदै आएको छ। वार्षिक  रूपमा इलामले दुइ लाख आन्तरिक पर्यटकले कित्रे कोसेलीको पहिलो रोजाई रहन्छ, ललिपप। दुर्ई सयदेखि एक हजार लिटरसम्म दूध प्रशोधन हुने ललिपप उद्योगमा न्यूनतम पाँच जनाले रोजगारी पाएका छन्। ‘दूध फटाउनमा पुरुष कामदार हुन्छन’, जनहित दुग्ध उत्पादन सहकारी संस्थाका सचिव तोयानाथ भट्टराई भन्छन्, ‘बाँकी सबै काममा महिला कामदार रहेका छन्।’

कुकुरको आहाराको लागि यूरोप निर्यात हुने छुर्पी उद्योग इलाममा एकसय ३० वटाको हाराहारीमा छन्। एक उद्योगमा न्यूनतम् तीन जना देखि १८ जना स्थानीयले प्रत्यक्ष रोजगारी पाएका छन्।  किसानले उत्पादन गरेको दूध गाउँमै प्रशोधन गर्ने उद्योगमा चीज उद्योग अग्रणी रुपमा छन्।

नेपाल आउने अन्तराष्ट्रिय पर्यटकले अत्याधिक रुचाउने चीज उद्योग इलाममा स्थापनाको क्रम बढेको हो। २०३९ सालमा साविक पशुपतिनगर गाविसमा दुग्ध विकास संस्थानले इलाममा चीज उत्पादन शुरू गरेको थियो। माग बढ्दै गएपछि संस्थानले इलामका अन्य क्षेत्रमा उद्योग बिस्तार गरेको छ भने निजी लगानीमा संस्थानको भन्दा तीन गुणा बढी उद्योग सञ्चालनमा छन्।

 किसानबाट संकलन भएको दूध उद्योगसम्म पुर्याउन पुलको काम गर्दै आएका दुग्ध उत्पादक सहकारी संस्था स्थापनाले गाउँमा स्वरोजगारको मुल नै फुटेको छ। किसानबाट आएको दूध संकलन गरि दुग्ध उद्योग र चिस्यान केन्द्रसम्म पुर्याउनका लागि इलाममा एक सय २२ वटा दुग्ध सहकारी संस्था छन्। यी सहकारी संस्थामा एक÷एक जना व्यवस्थापक र कार्यालय सहयोगीले स्थायी रुपमा रोजगारी पाएका छन् भने दूध संकलक र ढुवानीमा काम गरेर गुजारा चलाउनेको संख्या १ हजारभन्दा बढी छ।

उद्योगले दुग्ध सहकारी संस्थासम्म पुर्याउने किसानलाई दूधको मूल्य बाहेक प्रतिलिटर १ रुपैयाँ र सहकारी संस्थाबाट उद्योगसम्म पुर्‍याएको प्रतिलिटर २ रुपैयाँसम्म ढुवानी खर्च दिन्छन्। सरकारी चीज उद्योग र चिस्यान केन्द्रले भने ढुवानी खर्च मात्रै दिने गरेको छ।

शहरीकरण बढ्दै जाँदा बजारमा दुग्धजन्य सामग्रीको माग पनि बढ्दै गएको छ। भ्रमणका लागि आउने बिदेशी पर्यटकको संख्या बर्षेनी बढ्दै गएकाले पनि नेपाली दुग्ध उत्पादनको खपत आन्तरिक बजारमा बढ्दै गएको हिमालय चीज एशोसिएसनका अध्यक्ष रिञ्जि शेर्पाले बताए।

दूधबाट बन्ने उत्पादनहरूको गुणस्तर राम्रो भएपछि पछिल्लो समय छुर्पी युरोपका बजारमा समेत माग बढ्दै गएको उनी बताउँछन्। विदेशी पर्यटकको रोजाइमा पर्ने चीजको माग पनि नेपालका पर्यटकीय शहर काठमाडौं, पोखरा, चितवनमा बढी खपत हुँदै आएको छ भने दार्जिलिङ लगायतका भारतीय पर्यटकीय शहरमा समेत माग बढ्दै गएको चीज व्यवसायी महेन्द्र प्रधानले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.