|

काठमाडौं : काठमाडौं उपत्यकामा डेंगु ज्वरोका बिरामी बढेको पाइएको छ। उपत्यकामा पछिल्ला दिनमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक १० जनाभन्दा बढी ज्वरोका विरामी जाने गरेको र यसरी गएका ज्वरोका बिरामीमा परीक्षण गर्दा डेंगु पोजेटिभ देखिएको अस्पतालका इमर्जेन्सी इन्चार्ज लीलानाथ भण्डारीले बताए।

‘ केही दिनयता अस्पतालमा आउने ज्वरोका बिरामी बढेका छन् यसरी आएकामध्ये अधिकांशमा डेंगु संक्रमण भएको पाइएको छ’‚ भण्डारीले बताए।

उनका अनुसार डेंगुसँगै केही बिरामीमा कोभिड संक्रमण पनि भेटिएको उनले बताए।

अहिले टेकु अस्पतालमा कोभिडका भन्दा डेंगु संक्रमणका बिरामी धेरै आउन थालेको समेत उनको भनाइ छ।‘ प्रायः ज्वरो आउने, टाउको दुख्यो भन्दै इमर्जेन्सी आउनेलाई कोभिड पनि बढिरहेको अवस्थामा कोभिड परीक्षण पनि गरिएको छ तर परीक्षणमा कोभिडभन्दा पनि धेरैमा डेंगु देखिएको छ’‚ भण्डारीले भने।

केही दिनयता काठमाडौंमा बढ्दो गर्मीको प्रभावले समेत डेंगुका बिरामी बढेको हुनसक्ने भण्डारीले बताए।

यता अस्पतालकै ओपिडीमा दैनिक १०/१५ जना सम्म ज्वरोका बिरामी आउने र उनीहरूको परीक्षण गर्दा प्रायः सबैमा डेंगु देखिएको पाइएको अस्पतालका ओपिडी इन्चार्ज शंखर पाण्डेले बताए।

यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पनि काठमाडौंमा डेंगु संक्रमण बढ्दै गएको बताएको छ। महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार हाल ललितपुरमा सबैभन्दा धेरै डेंगु संक्रमण बढेको र त्यसपछि काठमाडौं जिल्लामा रहेको बताए। डा. दाहालका अनुसार हाल ललितपुरमा २६४, काठमाडौंमा ८५ भन्दा बढी र भक्तपुरमा ११ जना संक्रमित रहेको समेत उनले बताए। ‘केही दिनयता काठमाडौं उपत्यकामा डेंगु संक्रमण तीव्ररूपमा बढ्दै गएको हाम्रो रिपोटिङमा देखिएको छ, गर्मी बढ्दै गएको वेला अझै केश बढ्ने जोखिम रहेको समेत देखिन्छ’‚ उनले भने।

रातभन्दा दिनमा सक्रिय हुन्छ डेंगु भाइरस फैलाउने ‘एडिस लामखुट्टे

डेंगु संक्रमण गराउन सक्ने एडिस जातको लामखुट्टे रातमा भन्दा दिनमा नै सक्रिय हुने हुँदा दिउँसोको समयमा लामखुट्टेको टोकाइबाट जोखिनुपर्ने बताउँछन् डा. शेरबहादुर पुन। ‘डेंगु भाइरस फैलाउने एडिस जातको लामखुट्टे दिनमा नै बढी सक्रिय हुने र टोक्ने हुँदा सतर्क हुनु आवश्यक छ’‚ डा. पुनले भने।

यस्तै हाल डेंगु व्यापक फैलदो अवस्थामा रहेको हुँदा सतर्क रहनुपर्ने अवस्था आएको समेत डा. पुनले बताए।

के हो डेंगु संक्रमण

एडिस प्रजातिको लामखुट्टेको टोकाइबाट देखिने डेंगु संक्रमण देखिने गर्छ। यो जातको लामखुट्टे रातभन्दा दिनमा सक्रिय रहने डा. पुनले बताए। उनका अनुसार एडिस नामको लामखुट्टेले पारेको अण्डा, प्युपा र लार्भाबाट हुर्कने सबै लामखुट्टेले टोकेमा डेंगु सर्ने गर्दछ।

एडिस प्रजातिको लामखुट्टेले टोकेपछि दुई दिनसम्म सामान्य टाउको दुख्ने, दुई-तीन दिनपछि लगातार ज्वरो आउँछ, टाउको दुख्ने, जोर्नी र मांशपेशी दुख्ने जस्ता लक्षण देखिन्छन्।

काठमाडौं उपत्यकामा २०७६ सालमा डेंगु संक्रमण तीव्र रूपमा फैलिको थियो। त्यस समयमा उपत्यकामा १९ सयभन्दा बढी डेंगुका बिरामी भेटिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.