स्थानीय तहमा करका दरहरू निर्धारण गर्दा सबैको सहमति लिन निर्देशन

|

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पनि नेपाली कांग्रेसलाई स्थानीय तह निर्वाचनकै हैसियतमा पुर्‍याउने गरी आ–आफ्नो ठाउँबाट लाग्न पार्टीको सिंगो पंक्तिलाई आह्वान गरेका छन्। 

काठमाडौंमा स्थानीय तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरूसँगको भेटघाट कार्यक्रममा बुधबार उनले मुलुकको ऐतिहासिक राजनीतिक परिवर्तनको नेतृत्व गरेको कांग्रेसलाई देशको आर्थिक समृद्धिको दिशामा अग्रसर गराउने जिम्मेवारी पनि आगामी निर्वाचनबाट पाउने गरी निर्वाचनमा तयारीमा जुट्नुपर्ने बताएका हुन्। 

उनले मुलुकको स्थिरता र तीव्र आर्थिक विकासका लागि कांग्रेस र सत्तारुढ गठबन्धनको विकल्प नभएको पनि पटकपटक दोहोर्‍याए। आगामी निर्वाचनमा पनि पाँचदलीय गठबन्धन कायमै रहने उल्लेख गर्दै मन्त्री कार्कीले स्थानीय तह निर्वाचनमा कांग्रेसले हासिल गरेको सफलता प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पनि हासिल गर्नुपर्ने बताए। 

‘अब हामी निर्वाचनको संघारमा छौं। अब आउने निर्वाचनमा पाँचदलीय गठबन्धन नै रहनेछ। यो मुलुकको स्थिरताका निमित्त, यो मुलुकको विकासको निमित्त र यो मुलुकलाई तीव्रगतिमा विकासमा अगाडि बढाएर विकासोन्मुख मुलुकबाट विकासशील देशमा हाम्रो देशलाई पुर्‍याउनका निमित्त अब आउने निर्वाचनमा हामीले एकताका साथ नेपाली काँग्रेसलाई जसले यो मुलुकको ऐतिहासिक राजनीतिक परिवर्तनहरु गरेको छ‚’ उनले भने, ‘जसरी अहिले हामीले स्थानीय निर्वाचनमा काँग्रेसको जुन स्थान हामीले बनाएका छौं। त्यही स्थान आगामी निर्वाचनमा पनि बनाउनका निमित्त हामी सबै आ-आफ्नो तर्फबाट लागौं।’

५ वर्षपछि हुने स्थानीय तह निर्वाचनमा पनि नेपाली कांग्रेस नै विजयी हुनेगरी काम गर्न स्थानीय तहका पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई उनले आग्रह गरे। स्थानीय तहमा करका दरहरु निर्धारण गर्दा सबैको सहमति लिन जरुरी रहेको उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.