|

सोलुखुम्बु : सम्झौता भएको ९ बितेको भए पनि जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुको निर्माणाधीन भवन अलपत्र परेको छ। ठेकेदार कम्पनीको लापरबाही र नियमनकारी निकायको मौनताका कारण उक्त भवन अलपत्र बनेको हो।

वि.स.२०७१ साल माघ २० गते २ वर्षमा निर्माण सक्ने गरी सम्झौँ ता भएको भवन निर्माणको काम अहिलेसम्म पनि पूरा हुन नसक्दा निर्माणाधीन भवनमा प्रयोग गरिएका काठहरू कुहिएर काम नलाग्ने अवस्थामा पुगिसकेका छन्। निर्माणको ठेक्का लिएको निलगिरी निर्माण कम्पनीका प्रमुख युवराज डाँगीले २०७५ सालको असार मसान्तसम भवन निर्माणका काम सक्ने बताउँदै आएको भए पनि त्यो वचन अहिलेसम्म  पूरा भएको छैन।

२ करोड ३८ लाख ३ हजार ५३ रुपैयाँ ३२ पैसाको लागतमा निर्माणको जिम्मा लिएको भवनको अहिले करिब ८० प्रतिशत कार्य सम्पन्न भएको बताइको छ। तर, २० प्रतिशत कार्य सम्पन्न नहुँदा भवन निर्माण सम्पन्न नहुँदै जीर्ण बन्न थालिसकेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नारद सुवेदीको भनाइ छ।

अहिले पनि भवन अलपत्र अवस्थामै रहेको उनले गुनासो गरे। आफूले फोन गर्दा युवराज डाँगीले फोन नउठाउने गरेको गुनासो गर्दै अहिले आफूहरूले वार्षिक ५ लाख भाडा तिरिरहेको बताए।

भाडाको भवनमा बस्दा सुरक्षाका हिसाबले पनि जोखिम बढी रहेको भन्दै घरबेटी पनि सोहि घरमा बस्ने भएकाले असहजता महशुस हुने उनको भनाइ छ । यस विषयमा प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयमा पत्र पठाएको भए पनि त्यसको कुनै पनि जवाफ नआएको उनको भनाइ छ।

भवन बनेको खण्डमा भाडा बापतको रकमले अन्य कामहरू गर्न सकिने उनको भनाइ छ।  यता निलिगिरी कम्पनीका प्रमुख युवराज डाँगीसंग फोन सम्पर्क हुन सकेन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.