|
फाइल तस्वीर

काठमाडौं : उपत्यकाको फोहोर बञ्चरेडाँडामा फाल्न भइरहेको अवरोध हटाउन आज तीनबुँदे सहमति बनेको छ।

काठमाडौं, नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारी, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेंशी नगरपालिकाका जनप्रतिनिधिहरू तथा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूबीच भएको छलफलपछि तीनबुँदे सहमति भएको नुवाकोटका प्रजिअ नारायणप्रसाद रिसालले जानकारी दिए।

उनले थाहाखबरसँग बञ्चरेडाँडामा फोहोर थुपारेको ठाउँमा गन्ध नआउने औषधि दैनिक छर्किनुपर्ने, जथाभावी फोहोर खसाल्न नपाइने र विगतमा भएको सहमति कार्यान्वयन गर्दै जाने सहमति भएको बताए। साथै फोहोर बोक्ने गाडीले बाटोमा लिचड चुहाउन नपाउने सहमतिपछि फोहोर व्यवस्थापनमा अवरोध अन्त्य भएको उनले बताए।

५ घण्टा लामो छलफलपछि भएको आजको सहमतिपश्चात् भोलिदेखि फोहोर व्यवस्थापन सहज हुने अपेक्षा गरिएको छ।

स्थानीयले निरन्तर अवरोध गरेपछि काठमाडौँ महानगरपालिकाले बुधबार पनि सुरक्षा घेराबाटै उपत्यकाको फोहोर व्यवस्थापन गरको थियो। स्थानीयले निरन्तर अवरोध र लामो समयसम्म उपत्यकामै फोहर राख्नु परेकाले प्रहरी प्रशासन परिचालन गरेर फोहोर व्यवस्थापन गरिएको थियो।

प्रहरी प्रशासनको सहयोग लिएर हिजो १ सय ८६ गाडी फोहोर ल्यान्डफिल साइटमा लगिएको थियो। कहिले बाटो मर्मतको काम त कहिले सिसडोल र बञ्चरेडाँडाका स्थानीयले गरेको अवरोधका कारण काठमाडौँ उपत्यकाको फोहर २ महिनादेखि उठ्न सकेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.