|

बारा : बाराको सिमरा विमानस्थलको धावनमार्ग मर्मत सम्पन्न गर्न ठेकेदार कम्पनीले आलटाल गरेको छ। नियमित मर्मत कार्य गरेर समयमै सम्पन्न गर्नुको सट्टा मुख्य ठेकेदार सम्पर्कविहीन भएर गैरजिम्मेवार बन्नुले आलटाल प्रष्ट भएको छ।

जेठ २४ गतेदेखि धावन मार्गको मात्रै मर्मतको काम सुरु गरेको ठेकेदार कम्पनीले २० दिनमा (असार १२ गतेभित्र) काम पूरा गर्ने सम्झौतामा उल्लेख छ। तर ५३ दिन बढी भइसक्दा पनि १० प्रतिशत काम अधुरै छ भने ठेक्काको अन्य पाटो छुनै बाँकी छ।

सप्तकोशी जलाधार ओमसाई प्रालिले एक हजार एकसय ९२ मिटर धावन मार्गमा ओभरल्याप (पिचमाथि पिच) गर्ने, विमानस्थलको चारैतर्फ तारजाली, पार्किङ क्षेत्र पिच, एउटा गेट र नाला निर्माणलगायत कार्यका लागि करिब १० करोड रुपैँयामा ठेक्का लिएको हो।

कम्पनीले धावनमार्ग जस्तो संवेदनशील स्थानको काममा अझै एक सय ५० मिटर ओभरल्यापको काम थाती राखेको छ।

दिनभरी जहाज चल्ने भएकाले बेलुका ७ देखि बिहान ५ बजेसम्म रन वे मर्मतको काम गर्नुपर्ने हुन्छ। विमानस्थल प्रमुख सुरेन्द्र कुश्वाहाले भने, 'सुरु गरेपछि नरोकी गर्नुपर्ने, नियमित कार्य गर्दा मात्रै १४ दिनमा सकिने काम हो, भैपरी आउने बाधालाई मध्येनजर गरेर २० दिनको सम्झौता गरेकोमा ठेकेदार गम्भीर नबन्दा रन वे मर्मत जस्तो कार्य धेरै ढिलो भयो। यसले गर्दा व्यवस्थापनमा सास्ती खेप्नुपर्‍याे।'

सिमरा विमानस्थल सूत्रका अनुसार विमानस्थलको मर्मत सम्भारको सम्पूर्ण जिम्मा लिएको सप्तकोशी जलाधार प्रालिले पप्पु कन्स्ट्रक्सनलाई पेटी ठेकेदारको रुपमा प्रयोग गरेको छ। पप्पु कन्स्ट्रक्सन यसअघि नै समयै निर्माण सम्पन्न नगर्ने ठेकेदार कम्पनीका रुपमा पटकपटक कारबाहीमा पर्दै आएको कम्पनी हो।

सप्तकोशी जलाधार ओमसाई प्रालिका ईन्जिनियर निरञ्जन कुमार यादवले धावन मार्गमा लगाईएको पुरानो पेन्ट निकाल्न, ठेक्का सर्भे गर्न तथा मौसम प्रतिकूल भएर समय लागेको बताए। आन्तरिक कारणले रन वेको काम नियमित हुन नसकेर ढिलो भएको स्वीकार्दै इन्जिनियर यादवले भने ‘लगभग धावनमार्गको पिच थप्ने काम ९० प्रतिशत सकिएको छ, बाँकी काम गर्न फेरि सुरु गरिसकेका छौँ अब चाँडै रन वे कम्प्लिट हुन्छ, अरु बाँकी काम पनि समयभित्रै सक्छौँ।'


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.