|

ललितपुर : पाटनको कृष्ण मन्दिरमा कृष्णजन्माष्टमीको अवसरमा चहलपहल सुरु भएको छ। हरेक वर्षको भाद्र कृष्ण अष्‍टमीका दिन कृष्ण जन्माष्टमी मनाउने परम्परा छ। अष्‍टमीको अघिल्लो साँझदेखि नै मन्दिर वरपर भक्तजनको चहलपहल बढिरहेको छ।

पाटन दरबार स्क्वायर क्षेत्रमा रहेको ढुंगैढुंगाले बनेको कलात्मक कृष्ण मन्दिरमा शुक्रबार सर्वसाधारणले ढुक्कसँग पूजाआजा र दर्शन गर्न पाउने भएका छन्। यसपालि दर्शनार्थीले लाइनमा बसेर सहजै दर्शन गर्नसक्ने पुजारी प्रतापधर राजोपाध्यायले जानकारी दिए।

​बिहीबार राति १२ बजेदेखि नै मन्दिरमा दर्शनको निम्ति भक्तजनका लागि खुला गरिएको छ, पुजारी प्रतापधरले भने, भोलिपल्टसम्म निरन्तर मन्दिरको ढोका खुलिरहनेछ। लाइनमा बसेर कृष्ण भगवानको दर्शन गर्ने व्यवस्था मिलाइएको पुजारी प्रतापधरले जानकारी दिए।

उनका अनुसार यसपालि रुपन राजोपाध्यायले मन्दिरमा पूजाआजाको मुख्य जिम्मा लिनेछन्। अर्को वर्ष फेरि कृष्णजन्माष्टमीका दिन प्रतापधरकै पूजाका लागि पालो आउनेछ।

केही वर्षयता यो मन्दिर सर्वसाधारणका लागि खुला गरिएको हाे।

मन्दिर वरपरका केही सम्पदा पुनर्निर्माण चलिरहँदा सर्वसाधारणले मन्दिरमा दर्शन गर्न सहज ढंगले सकेका थिएनन्। पुग्दा केही समस्या झेलेर दर्शन गर्नुपरेको पुजारी राजोपाध्यायले जानकारी दिए।

२०७२ को भूकम्पपछि करिब २ वर्ष लगाएर जीर्णोद्धार गरेपछि शिखर शैलीमा रहेको सो कृष्ण मन्दिर भक्तजनका लागि दर्शन गर्न योग्य बनेको थियो। सिद्धि नरसिंह मल्लका पालामा बनेको सो मन्दिर ०७२ सालको भूकम्पका परी आंशिक क्षति भएको थियो। मन्दिरमा क्षति पुग्दा ०७३ र ०७४ को कृष्ण जन्माष्टमीमा मन्दिर घुम्न र बाहिरैबाट परिक्रमा गर्ने मात्र व्यवस्था मिलाइएको थियो।

महादेव मन्दिर बनाउन राखिएको जग्गामा सपनामा कृष्णले मन्दिर बनाउन भनेपछि राजा सिद्धिनरसिंह मल्लले खन्न लगाउँदा जमिनमुनि कृष्णको मन्दिर फेला परेको किम्बदन्ती छ। त्यसपछि तल शिव र माथि कृष्णको मन्दिर स्थापना गरिएको यसअघिका मन्दिरका पुजारी विष्णुधर राजोपाध्यायले बताएका थिए।

कृष्ण र राधा बनाउने प्रचलन बढ्दै

कृष्ण अष्टमीका दिन साना साना बालबालिकालाई कृष्ण र राधा बनाउने प्रचलन बढ्दै गएको छ। ५ वर्षभन्दा कम उमेरका बालबालिकालाई कृष्ण या राधाको भेषमा सजाई पूजाआजा गर्ने चलन छ। विशेष गरी छोरीलाई राधा र छोरालाई कृष्ण बनाउने गरिएको छ। विभिन्न विद्यालयमा पनि अष्‍टमीको १–२ दिन अघि नै राधा र कृष्णको भेषमा सजाउने गरिन्छ। सामाजिक सन्जालहरु फेसबुक, ट्वीटर, इन्स्टाग्राम आदिमा कृष्ण र राधाको भेषमा सजिएका आफ्ना सन्तानको फोटो राख्ने गरिन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.