|

अतः सत्यं यतो धर्मो मतो हीरार्जवं यतः।
ततो भवति गोविन्दो यतः कृष्णस्ततो जयः।।

जहाँ सत्य, धर्म, लज्जा र सरलताको बास हुन्छ त्यहीँ श्रीकृष्ण निवास गर्नुहुन्छ र त्यहाँ नै विजय निश्चित हुन्छ।

सन्तहरू भन्नुहुन्छ–कृष्णत्व भनेको नै जीवन जिउने कला हो। भगवान् कृष्ण व्यक्तित्वले भन्दा कथा कहानीको माध्यमबाट परिचित गराउन खोजिएको पाइन्छ। कर्मयोगदेखि लिएर परमार्थ, परमात्मासम्म पुग्ने मार्ग कृष्णको जीवनीले बताउँछ।

कर्मको विकल्प छैन भन्ने तथ्यलाई उनले सिद्ध गरिदिएका छन्। त्यसैले त उनले सबैलाई आह्वान गरे र आश्वस्त दिलाए–म जस्तो परिस्थितिमा पनि उपलब्ध हुनेछु। पाप र अत्याचारको अन्धकार बढोस् या प्रेम र भक्तिको दियो जलोस्, दुवै परिस्थितिमा म उपलब्ध हुनेछु।

अत्याचारमा धर्मको स्थापना गर्न र प्रेम र भक्तिको उज्यालोमा उमंगमा रमाउन म प्राणी जगतको साथ दिनेछु। यो सुन्दा लाग्छ कृष्णको जीवन प्रबन्धनमा आधारित छ र जीवनका हरेक परिस्थितिलाई व्यवस्थापन गर्दै सन्तुलन र स्वीकारमा जिउने सन्देश छ। कुरुक्षेत्रमा दुई पक्षबीच भएको लडाइँमा जुन श्रेष्ठतम ज्ञान दिएका थिए त्यो थियो–जीवनमा अनुकुल आउँदा मात्र होइन प्रतिकुल अवस्थामा पनि शान्त, धैर्य र शौर्य कायम राख्न सक्नुपर्दछ। युद्ध र मृत्युको डर किन ? डर मान्नुछ भने सत्य भेट्दिनँ कि जीवनमा त्यसको बारेमा चिन्तन गर।

अत्याचारमा धर्मको स्थापना गर्न र प्रेम र भक्तिको उज्यालोमा उमंगमा रमाउन म प्राणी जगतको साथ दिनेछु। यो सुन्दा लाग्छ कृष्णको जीवन प्रबन्धनमा आधारित छ र जीवनका हरेक परिस्थितिलाई व्यवस्थापन गर्दै सन्तुलन र स्वीकारमा जिउने सन्देश छ।

तिमीलाई कसले मार्न सक्छ? जब तिमी शरीर, ज्ञान र बुद्धि मात्र होइनौ, आत्मा हौ भने आत्मा त मर्दैन। गीताको सार नै त्यही थियो– जे भयो ठिक भयो, जे हुनेछ ठिक हुनेछ। विगतको पश्चाताप किन? भविष्यको चिन्ता किन? वर्तमान जसरी चलिरहेछ हेर साक्षी भएर र बाँच जिवन्त भएर। हुन पनि हो को विगत र भविष्यमा बाँच्न सक्छ र!

जीवन गम्भीर र उदास होइन यो त एउटा लीला हो, यसलाई भोग्ने र जिउने हो, जीवनको वकालत गर्नुको कुनै अर्थ छैन भन्ने कथा भगवान् श्रीकृष्णको जीवनी र बाल्यकालले जनाउँछ। भगवान\ श्रीकृष्णले गोकुल, वृन्दावन र ब्रजमा रहँदा कैयौँ बाललीला रचाएका घटना उल्लेख्य छन्। कहिले कसैका घरको माखन चोरी खाएका कथा त कहिले गोठालाहरूसँग वनमा गाई चराउन गएका कथा रोचक छन्।

कहिले राधा र गोपिनीसँग रासलीला गरेका कहानी  त कहिले माता यशोदालाई भए नभएका माग राखेर दिक्क पारेका कुराहरू बाललीलाले उमंग र सरलता सिकाएको छ। कहिले पुतना, बत्सासुर, बकासुर, प्रलम्बासुर, केशी आदि ठूला ठूला वीर असुरको बध गरेका त कहिले गोवर्धन पर्वत धारण जस्ता अनेकौँ बाललीलाले जीवनमा उमंग र स्वतन्त्रता पनि जरूरी छ भन्ने सिकाउँछ। जीवन अहिले र यहीँ नै छ।

यसलाई ओशोले पनि मार्मिक तरिकाले बताउँदै वर्तमानमा केन्द्रित रहन आग्रह गर्नुभयो। वर्तमानमा जसले सत्य गर्छ त्यो भूत हुँदा या त भविष्यमा परिणाम आउदा पनि सत्य भएर आउनेछ। समर्थगुरु सिद्धार्थ औलिया यसको मर्मलाई– परमात्मा मंगलमय छ भनेर व्याख्या गर्नुहुन्छ। यसको तात्पर्य हो– तिमी सत्यको बाटोमा हिँड, परमात्माले तिम्रो भलो नै गर्छ। सृष्टि त द्वन्द्वात्मक छ प्रतिकूल, अनुकुल दुवै आउँछ जीवनमा तर जस्तो परिस्थिति आउँछ सत्यको विजय हुनेगरी आउँछ। समर्पण र स्वीकारलाई उहाँले पनि जोड दिनुभएको छ। 

आफ्नो भन्ने अहंकार र घमण्डबाट टाढा रहू 

भगवान् कृष्णको जीवनी र सन्देशले बताउँछ, घमण्ड र अहंकारबाट टाढा रहू। जन्मिँदा तिमीले के लिएर आएका थियौ? श्वास? त्यो कसले दियो? उहि परमात्माले। तिमी के कुरा गुमाउनु परेकोमा चिन्ता गर्छौ? तिमीले के प्राप्त गरेका थियौ र गुमायौ? तिमीले जन्मिदा न केही लिएर आएका थियौ न मृत्युपछि केह लिएर जानेछौ। जे पायौ अस्तित्वबाट पायौ त्यसलाई भोग्यौ, भोग तिमीले गर्‍यौ, अस्तित्वले भोग गर्ने सुविधा दियो तिमीलाई तर त्यसमा तिम्रो केही छैन। जे आर्जन गरेँजस्तो लाग्छ तर त्यो पनि उसकै कृपाले पाएका छौ।

पाएकोमा र अरूलाई दिन सकेकोमा अहोभाव व्यक्त गर। तिम्रो माध्यमबाट अस्तित्त्वले गराउँछ। म, मेरो भन्ने अहंकार त्यागिदेऊ। तिम्रो हुँदो हो त जन्मिँदा साथमा ल्याउँथ्यौ र मृत्युपछि पनि सँगै लैजान्थ्यौ। हिजो कसैको थियो, आज तिम्रो होला, भोलि कसैको हुनेछ। मेरो हो भन्ने प्रसन्नता नै तिम्रो दुखको कारण हो। किनकी आफ्नो भनेपछि त्यो कसैले खोस्छ कि तिमीलाई चिन्ता पर्छ। मेरो नोक्सान हुन्छ कि भन्ने डर हुन्छ। जुन चिजप्रति सधैँ तिमीलाई डर हुन्छ भने त्यो तिम्रो कसरी भयो ? विश्वास नलाग्न सक्छ मानिसलाई अझैं, किनकी यसमा तर्क गर्ने धेरै शब्द र ठाउँहरू हुन सक्छन् तर सत्य माथि थोरैको मात्र विश्वास हुन्छ। किनकी सत्य बोध गरेपछि मात्र, अनुभूतिमा उतारेपछि मात्र सत्यको बारेमा बोल्न सक्छ मानिस।

संसार जति द्वन्द्वात्मक छ त्यति नै परिवर्तनशील पनि छ। कुनै समयमा तिम्रो जन्म भयो, कुनै समयमा मृत्यु आउनेछ। कुनै समयमा तिमी धनाढ्य हुनेछौ त कुनै समयमा गरिब। कहिले सम्मान मिल्छ त कहिले अपमान। केवल स्वीकार गर, अहंकार त्याग। आफ्नो र पराई मनको खेल हो। मनभन्दा माथि हुने कोशिस गर। मेरो होइन हाम्रो र समग्र अस्तित्वको भन्ने भाव नै मनबाट माथि हुने कला र अभ्यास हो। सिक, व्यवहारमा उतार र जीवनलाई श्रेष्ठतम बनाऊ। यही नै कृष्णको देशना हो। कृष्णको भक्ति भावमा डुब्नुअघि र पूजा, अर्चना र व्रतले खुसी बनाउनु अघि आफ्नो स्वभाव, दायित्व र आत्मालाई जान्न सकेमात्र कृष्णत्वको अनुभूति सम्भव हुन्छ।  

संसारको संघर्षलाई आत्मसात गर     

जन्मदेखि मृत्युसम्म जीवन संघर्ष लाग्न सक्छ यसलाई आत्मसात गर्न सक्नुपर्छ यो भगवान कृष्णको देशना हो। कृष्ण स्वयंको जन्म कारागारमा हुनु, जन्मनासाथ यमुना नदी पार गरेर गोकुल बस्तीमा लिएर जानु। जन्मेको तेस्रो दिनमै पुतना आएर कृष्णलाई मार्ने प्रयास गर्नु। यो सब कथा जीवनको शुरूवातको संघर्षको सन्देश हो। मृत्युपहिले द्वारिका डुब्ने संकेत सबै कथाले जीवनमा सत्यलाई पराजय गरी असत्य र दुष्टता हावी हुने प्रयास भइरहन्छ। मानव जीवन लिएपछि भगवानले त संसारिक दु:ख र चुनौती भोग्नुपर्ने रहेछ भन्ने संकेत कृष्णको जीवनीले बताउँछ। तर कृष्णले कहिल्यै जीवनप्रति गुनासो गर्नुभएन।

हरेक परिस्थितिलाई आत्मसात गर्दै जिउनुभयो र परिस्थितिमाथि विजय प्राप्त गर्नुभयो। त्यसैले त कृष्णको उद्घोष रह्यो जस्तोसुकै परिस्थिति आओस्, भाग्ने होइन डटेर सामना गर्ने क्षमता राख्नुपर्दछ। किनकी कर्मयोग नै मानव जीवनको पहिलो कर्तव्य हो र कर्मले नै सबै परिस्थितिमाथि विजय प्राप्त हुन्छ। जीवनको एक मात्र सत्य हो मृत्यु किनकी जीवनमा मृत्यु आउँछ यो निश्चित छ। तर, जीवन कहिलेसम्म जीवित रहन्छ त्यो निश्चित छैन त्यसैले प्रत्येक दिन प्रसन्नता, उमंग, प्रेम र सत्यताका साथ बाँचेर हेर।

यही नै वर्तमानमा रहने कला हो र मृत्यु निश्चित अनि जीवन अनिश्चित जानेपछि असत्य कर्मतिर भड्किनु पर्दैन। असत्यको मार्गमा चल्नुको कारण नै क्रोध, इर्ष्या, द्वेष र हिंसामा उद्यत हुन्छ व्यक्ति। संघर्ष गर्नु नै छ भने सुखद जीवन, प्रेमल जीवन, स्वस्थ जीवन, चिन्तन र चैतन्यको प्राप्तिका लागि गर। रचनात्मक र सृजनात्मक ज्ञानको लागि चिन्तन गर। चिन्ता, शोक, भय तिम्रो स्वभाव होइन। उमंग र सहजता तिम्रो स्वभाव हो। भगवान् कृष्णको आराधना गर्नुपूर्व जीवनको वास्तविकता र कृष्णको सन्देशलाई मनन गरौँ। 

संसार जति द्वन्द्वात्मक छ त्यति नै परिवर्तनशील पनि छ। कुनै समयमा तिम्रो जन्म भयो, कुनै समयमा मृत्यु आउनेछ। कुनै समयमा तिमी धनाढ्य हुनेछौ त कुनै समयमा गरिब। कहिले सम्मान मिल्छ त कहिले अपमान। केवल स्वीकार गर। अहंकार त्याग।

सम्बन्ध र प्रेमलाई उच्च स्थान देऊ! 

भगवान कृष्णको कथाले बताउँछ उहाँले जीवनभर आफ्नो भन्ने र विश्वास लागेको मानिसको साथ छोड्नुभएन। अर्जुन, सुदामा र उद्धव जो पनि उहाँका आफ्ना र मनले खाएका मित्र थिए, जीवनभर उहाँले साथ र प्रेम दिनुभयो। उनीहरूकै लागि लडाइँ लड्नुभयो। संसारमा प्रेमको सम्बन्ध टिकाउनु महत्त्वपूर्ण कसी हो। जति नै धन आर्जन गरेपनि प्रेम आर्जन सकेको छैन भने त्यो व्यक्ति अपूर्णताको जीवन बाचिरहेको बुझ्नुपर्छ।

मित्रता र सम्बन्ध हृदयले बलियो बनाउँछ, भौतिक सम्पदाले होइन। १६ हजार नारीमाथि राक्षस नरकासुरले मच्चाएको आतंक र उनीहरूलाई दिएको दु:खबाट बचाउन भगवान कृष्णले राक्षससँग गरेको युद्ध, युद्ध जितेर नारीहरूलाई बचाएको तर राक्षसको सम्सर्गमा आएका नारीहरू भनेर समाजले अपमान गरी नस्विकारेको अवस्थामा भगवान कृष्णले आफ्ना गोपिनीहरू बनाएर स्वीकारेको कथाले नारीमाथिको सम्मानको उदाहरण दिन्छ। कृष्णको प्रेम पाउनासाथ गोपिनी हुनुको प्रतिकात्मकता हो।

संगतले नै अपवित्रलाई पवित्र तुल्याउन सक्छ। महाभारतको युद्धमा भगवान कृष्णले स्वयं हतियार उठाउनु भएन कुटनीतिको प्रयोग गर्नुभयो। शान्ति, प्रेम, अफ्नाजनको रक्षा, दुष्टता र अहंकारको नाश र मतभेदबाट अलग रहने शिक्षा नै उहाँको लागि वर्णन गरिएका कथाले बताउँछन्। कर्मलाई प्राथमिकता तर परिणामको अपेक्षा नगर्ने किनकी कर्म असल गरेपछि परिणाम पनि असल आइल्हाल्छ। राम्रो नतिजाको होइन सत्य कर्मको मार्गमा हिँड यही नै भगवान कृष्णको जीवनीबाट सिक्ने र बोध गर्ने विषय हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.