|

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले पाटनस्थित कृष्णमन्दिरमा पूजाआराधना गरेकी छन्।

उनले आज कृष्ण जन्माष्टमीको अवसर पारी शुक्रवार ललितपुरको पाटनस्थित मंगलबजारमा रहेको कृष्णमन्दिरको दर्शन गरेकी हुन्। कृष्णाष्टमीको दिन पाटनस्थित मंगलबजारमा रहेको कृष्णमन्दिरमा पूजा गर्नेको भीड लाग्छ।

हरेक वर्ष पाटनको कृष्ण मन्दिरमा दर्शनार्थी भक्तजनको भीड हुन्छ। साथै विभिन्न कृष्णगाथाको मञ्चन गरेर समेत कृष्ण जन्माष्टमी पर्व मनाइन्छ। हरेक वर्ष भाद्र कृष्णाष्टमीमा कृष्णको जन्मोत्सव मनाइन्छ। आज देशभर भगवान श्रीकृष्णको पूजा, उपासना गरेर अष्टमी पर्व मनाइँदै छ।

वैदिक सनातन धर्मावलम्बीहरूले आजका दिन जाग्राम बसी श्रद्धा, भक्तिपूर्वक कृष्ण जन्माष्टमी मनाउने गर्दछन्। आजका दिन देशभरका भगवान् विष्णुका मन्दिरमा भक्तजनको भीड लाग्ने गर्दछ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ।

आजको दिन देशभरका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको कृष्णलीला, पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै विशेष गरी ‘व्रत’ गरी रातभर जाग्राम बस्ने प्रचलन छ। कंसको अत्याचारबाट मानवलाई मुक्ति दिन वासुदेव र देवकीको आठौँ गर्भबाट भगवान् विष्णुको आठौँ अवतारका रूपमा आजैका दिन भगवान् श्रीकृष्णको जन्म भएको शास्त्रमा वर्णित छ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको शास्त्रमा उल्लेख छ।


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.