|

इलाम : नेपालमा फुटबलका गतिविधि नियमित हुँदैनन्। अझ महिला फुटबलको प्रतियोगिता त नगण्य मात्रामा हुन्छन्। 

नेपाल आर्मीले आयोजना गर्ने प्रधान सेनापति कप बाहेक अरु प्रतियोगिता नियमित हुन सकेका छैनन्। कोभिडका कारण गत वर्ष प्रधानसेनापति कप समेत हुन् सकेन। एन्फाले आयोजना गर्ने महिला राष्ट्रिय लिग २०७८ समेत पूरा भएन्। नेपालमा अहिले पुरुष फुटबलका गतिविधि समेत छैन।

यस्तो अवस्थामा फुटबल सुस्ताएको छ। नेपाली खेलाडी खेपमा रमाउँदै आएका छन्। ‘खेप’ शब्द विशेषगरी भारतमा प्रचलित छ। खेप अर्थात् खेल पारिश्रमिक। घरेलु फुटबलमा खेल्ने वातावरण नभएपछि आर्थिक उपार्जनका लागि नेपालमा चर्चा कमाएका खेलाडी भारतका साना प्रतियोगितामा समेत देखा पर्छन्। 

‘भारतका प्रतियोगिताको पुरस्कार राशिको सवाल हुँदैन। दुई लाख रुपैयाँ राशिको प्रतियोगिता जित्न ४ लाखसम्म खर्च गर्छन्। उनीहरूका लागि पैसा हैन, उपाधि ठूलो कुरा हो’, एक खेलाडीले भने, ‘त्यहाँ कुनै स्थायी सम्झौता हुँदैन। इन्जुरीको सारै ठूलो जोखिम हुन्छ तर पनि खेल्नुपर्ने बाध्यता छ पेट त पाल्नै पर्‍यो।’

खेपमा एक खेलाडीले प्रति खेल तीन हजार देखि पाँच हजारसम्म भारु पाउँछन्। पूर्व–राष्ट्रिय खेलाडी एवं मछिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटुवाल खेलाडीको बाँच्ने आधार नै खेप भएको बताउँछन्। ‘भारतमा दैनिकजसो खेल हुन्छ आज एउटाबाट खेल्यो भोलि अर्कोबाट खेल्यो यस्तै गरी खेलाडीले जीवन धानेका छन्।’

अघिल्ला वर्षमा सिक्किम, दार्जिलिङ, आसाम, अरुणाचल लगायतका क्षेत्रमा हुने प्रतियोगितामा प्रदेश १ बाहिरका सीमित खेलाडी हुने गरेका थिए। तर नेपालमा नियमित प्रतियोगिता नहुँदा प्रदेश १ बाहिरका राष्ट्रिय टोलीका खेलाडी नै खेपमा आकर्षित भएका छन्। 

नेपाली फुटबल अस्थिर बन्दै गएपछि अहिले केही खेलाडी भारतका हुने स–साना गोल्डकप र टोलकपमै रमाउँदै आएका छन्। 

विमल घर्तीमगर, दिनेश राजवंशी, तेज तामाङ, अमिर श्रेष्ठ, आदित्य चौधरी, अभिषेक रिजाल, अन्जन विष्ट, गौतम श्रेष्ठ, दीप कार्की, सुनिल बल, विकास तामाङ, बिशाल राई, सञ्जोक राई, छिरिङ गुरुङ, रेजिन धिमाल लगायतका राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरेका खेलाडी केही दिन अघि मात्र खेप खेलेर नेपाल फर्किएका छन्।

पुरुष फुटबलमा देखिएको खेपको प्रचलन महिला फुटबलमा समेत प्रवेश पाएको छ।  भारतको ७६ औँ स्वतन्त्रता दिवसको अवसर पारेर सिक्किमको ग्यालसिंह जिल्ला प्रशासन र याङ्थाङ स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा साउन १८ देखि ३० गतेसम्म भएको प्रतियोगितामा नेपाली महिला खेलाडीले सहभागिता जनाए।

स्पोर्ट व्हिङ नामको क्लबबाट नेपाली राष्ट्रिय टोलीकी पुर्व डिफेन्डर रोजिना श्रेष्ठको कप्तानीमा खेलाडी सहभागी थिए। रोजिनाका अतिरिक्त नेपालको उमेर समुहबाट खेलेका दिव्या यस्माली राई र अञ्जली मचामसी, प्रदेश १ की गोलरक्षक कल्पना क्षेत्री समेत सहभागी थिए। सोराङ क्लबसँग पराजित हुँदै टिम उपविजेता बनेको थियो। क्लबबाट सहभागिता जनाएका २२ खेलाडी नेपालकै थिए। 

‘नेपालमा नियमित फुटबल नभएपछि यो वर्ष भारतमा भएको एउटा प्रतियोगितामा त्यहीको टिमबाट खेल्यौँ। यो हाम्रो बाध्यता हो। नेपालमा एउटा लिग हुन्छ ग्याप भएर हुन्छ। अस्तको लिग पनि हेर्नु न चैतमा भयो। वैशाखमा हुन्छ भनेको भदौ भइसक्यो अझै भएको छैन। फेरि दशैपछि भन्छ गेम नै हुँदैन, ट्रेनिङ मात्र गरेर के गर्ने?’ रोजिनाले प्रश्न गरिन् ‘गेम नै नभएपछि त्यहाँ गएर खेल्दा पकेट मनि निस्कन्छ म्याच एक्सिपिरेन्स बढ्छ भनेर गएका हौँ। लामो समय प्रतियोगिता नहुँदा इन्जुरीको समस्या देखिने गरेको छ। तैपनि खेल्नुपर्ने बाध्यता छ।’

प्रति खेल शुल्कको बारेमा भने रोजिनाले खुलाउन चाहिनन्। ‘हामीलाई खाने, बस्ने सबै क्लबले दिएको थियो। थोरै पकेट खर्च समेत पायौँ’, उनले भनिन्, ‘संगम थापा श्रेष्ठको सम्पर्कबाट त्यहाँ पुगेका हौ।’ 

एन्फाले गत कार्तिकमा गरेको प्रतियोगितामा धनगढी र ललितपुर विजेता र उपविजेता बन्दै राष्ट्रिय महिला लिगका लागि छनोट भएका थिए। एन्फाले प्रतियोगिताको पहिलो चरणको खेल भरतपुरमा सम्पन्न गरेको छ। सधैँको जस्तै विभागीय टोली एपिएफ शिर्ष स्थानमा यथावत नै छ। तर पाँच महिना बित्यो विराटनगरमा  दोस्रो चरणको खेल हुन् सकेको छैन्। गत साउन २६ गतेको एन्फा बैठकले महिला लिगको बाँकी खेल महिला साफ पछि विराटनगरमा गर्ने निर्णय गरेको छ। तर मिति भने निर्क्योल हुन सकेको छैन्। 

एन्फा नेतृत्व राजनीति नियुक्ति र बर्खास्तगीकै दाउपेचमा

एन्फा नेतृत्व राजनीति नियुक्ति र बर्खास्तगीकै दाउपेचमा अल्झिरहेको समयमा स्वतन्त्रता दिवसका अवसरमा भारतका विभिन्न स्थानमा आयोजित स्थानीय प्रतियोगिता खेल्न थोरै शुल्क लिएर नेपाली राष्ट्रिय टोलीका खेलाडी सहभागी भइरहेका छन्। केही खेलाडी विदेश पलायन भएका छन्। केही भने  नेपालमा खेल्ने वातावरण नभएपछि जोखिमपूर्ण मानिने स्थानीय प्रतियोगिता खेल्न भारत पसेका छन्। चैत यता घरेलु फुटबलका अधिकांश कार्यक्रम स्थगित छन्। चुनावका कारण कुनैपनि फुटबलका गतिविधि चैतपछि हुन सकेका छैनन्। 

एन्फामा नयाँ नेतृत्व आएपनि फुटबल कार्यक्रम र क्यालेण्डरको विषयमा कुनै गृहकार्य र योजना बनाएको देखिँदैन। सोही कारण खेलाडी लामो समयदेखि बेरोजगार अवस्थामा छन्। खेलेरै गुजारा गर्नुपर्ने फुटबलर खेल्ने वातावरण नभएपछि भारतको स्थानीय प्रतियोगिता खेल्न सिक्किमदेखि अरुणाञ्चल प्रदेशसम्म पुगेका छन्। 

एन्फाका नवनियुक्त प्रवक्ता सुरेश शाह नयाँ नेतृत्व फुटबलको प्रवर्धनबारे गम्भीर रहेको बताए। ‘भर्खरै नेतृत्व चुनिएको दुई महिना मात्र हुँदैछ। लगत्तै महिला साफको आयोजना गर्नुपर्ने दायित्व आएकाले नयाँ क्यालेण्डर पाएका छैनौ। प्रतियोगितापछि महिला र पुरुष फुटबललाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम आउँछ।’ शाहले भने ‘ महिला लिगको दोस्रो चरणको खेल विराटनगरमा गर्ने निर्णय भइसकेको छ। साफपछि मिति समेत घोषणा हुन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.