|

धनकुटा : २०२८ सालमा बेलायतीले एभोकाडो नेपाल भित्र्याएका हुन्। एभोकाडो देशभर फैलाउन शिव उदास, भरत जोशी, गोपाल वाग्ले, डा. दामोदर वाग्ले, भरत गुरागाईंलगायतका धनकुटे लागिपरेका छन्।

धनकुटा नगरपालिकाले २०७५ असारमा नगरलाई एभोकाडोको राजधानी घोषणा गरी व्यावसायिक खेतीलाई प्रोत्साहन गरेको छ। नगरपालिकाले व्यावसायिक एभोकाडो खेतीलाई प्रोत्साहन गर्न आधाररेखा सर्वेक्षण पनि गर्‍यो। त्यसपछि एभोकाडो राजधानी घोषणा, एभोकाडोको प्रतिरूप स्थापना, महोत्सव आयोजना र नर्सरी सुधार कार्यक्रम लगायतका काम गरेको छ।

कुनै समय सुन्तलाका लागि प्रख्यात धनकुटा अहिले एभोकाडोको राजधानीको रूपमा परिचित छ। धनकुटामा १२ हजार ९९ रोपनीमा एभोकाडो खेती भइरहेको छ। यसबाट वार्षिक २ लाख ३९ हजार ४१८ केजी एभोकाडो उत्पादन हुने गरेको छ। यस क्षेत्रमा एभोकाडो खेती गर्नेको संख्या बढ्दो छ। 

बजारको एभोकाडो तीनदेखि साढे तीन सयको प्रतिकिलो पर्ने गरेको छ। बजारको समस्या नभएकाले एभोकाडो खेतीमा कृषक उल्लेख्य सहभागी हुन थालेका छन्। धनकुटा नगरपालिकाले २०७५ असार ८ गते एभोकाडो राजधानी घोषणा गर्दै मेयर कृषि पर्यटन कार्यक्रममार्फत एभोकाडोको प्रतिमा स्थापना गर्ने, एभोकाडोको नर्सरीमा सुधार गर्ने, एभोकाडोमा कलमी प्रविधि, एभोकाडो महोत्सव सञ्चालन र एभोकाडोको गणना जस्ता काम गरिरहेको छ। 

त्यसपछि २०७५ सालको सर्वेक्षणमा १ हजार ९६३ परिवार एभोकाडो खेतीमा संलग्न थिए। २०७८ मा ४ हजार ९२६ परिवार एभोकाडोमा संलग्न भएको नगरपालिकाको तथ्यांकमा उल्लेख छ। यसैगरी २०७५ सालमा ४४० रोपनीमा एभोकाडो खेती भइरहेकोमा हाल १२ हजार ९९ रोपनीमा पुगेको छ। 

एभोकाडो उत्पादनमा पनि २०७५ मा ७७ हजार ७५० किलोग्राम भएकोमा हाल २ लाख ३९ हजार ४१८ किलोग्राम पुगेको छ। धनकुटा नगरपालिकामा भित्रिने एभोकाडोको मूल्यमा भारी मात्रामा वृद्धि भएको नगरप्रमुख चिन्तन तामाङले जानकारी दिए।

यस्तै एभोकाडो नर्सरी गर्ने संख्या पनि बढेको छ। २०७५ मा ५ वटा व्यावसायिक एभोकाडो नर्सरी भएकोमा २०७८ मा आइपुग्दा १३७ वटा पुगेका छन्। वर्तमान परिस्थितिमा किसानलाई बजारीकरणको समस्या नभएका कारणले एभोकाडोबाट राम्रो आम्दानी गरिरहेका छन्। व्यापारी नै किसानका घरदैलो तथा फर्ममा एभोकाडो खरिद गर्ने पुग्ने गरेका छन्।

त्यस्तै एभोकाडो सजिलैसँग रोप्न सकिने कारण कृषकहरू एभोकाडोको खेती तानिएको अभियन्ता राईले बताए। एभोकाडो खेती गर्दा क्षेत्रफल भने बढी आवश्यक पर्छ। एक रोपनीमा करिब ६ वटासम्म एभोकाडो रोप्न सकिने कृषि अभियन्ता जीवन राईले बताए। नेपालमा हालसम्म ‘ह्यास’, ‘टोपाटोपा’, ‘इथिन्जर’, ‘ऋथ’, ‘फुक्ड’ प्रजातिका एभोकाडो सूचीकृत भएका पनि उनले बताए।


धनकुटामा एभोकाडो महोत्सव
एभोकाडो खेतीमार्फत कृषि पर्यटनलाई टेवा पुर्‍याउने उद्देश्यसहित धनकुटामा २ पटक एभोकाडो महोत्सव गरिएको छ। धनकुटा जिल्लामा उत्पादन भएको एभोकाडोलाई देश तथा विदेशमा प्रवद्र्धन गर्ने उद्देश्यले धनकुटा नगरपालिकाले २०७५ सालमा र २०७८ सालमा एभोकाडो महोत्सव गरेको थियो।

सुन्तला, जुनार, मुन्तलाजस्ता कृषि उत्पादनमा अगाडि रहेको धनकुटाले यी उत्पादनमा विस्तारै ह्रास आउन थालेपछि धनकुटा नगरपालिकाले एभोकाडोको खेतीमा जोड दिएको थियो। धनकुटा नगरपालिकाले २०७५ सालमा नगरक्षेत्रलाई एभोकाडोको राजधानी घोषणा गरी व्यावसायिक उत्पादनमा जोड दिएपछि कृषकले उत्साहपूर्वक एभोकाडोको खेती गरिरहेका छन्।

आफ्नो जिल्लामा उत्पादन भएको एभोकाडोलाई देशका विभिन्न ठाउँमा प्रवर्धन गर्नका साथै प्रचारप्रसार गर्न एभोकाडो महोत्सव आयोजना गरिएको धनकुटा नगरपालिका एभोकाडो कृषक समूहका अध्यक्ष खेमराज थापाले बताए। 

महोत्सवमा नगरक्षेत्र तथा देशभर उत्पादित एभोकाडो र एभोकाडोजन्य उत्पादनको प्रदर्शनी, बिक्री वितरण तथा विविध सांस्कृतिक कार्यक्रम गरिएको र महोत्सवमा सहभागी नगरक्षेत्रका एभोकाडो कृषकहरुलाई प्रोत्साहन स्वरूप प्रविधि हस्तान्तरण गरिएको थियो।

रोग किराबाट किसान चिन्तित
पछिल्लो केही वर्षदेखि फल अत्यधिक झर्ने, झुसिलकिराले बोट नै नांगो हुने गरी खाइदिने र फलमा समेत स–साना किराले असर पु¥याएको किसान बताउँछन्।

‘यस्तै फल झर्ने अर्को प्रमुख समस्या छ, खेतीमा जति आकर्षण बढ्दो छ, उति रोगको समस्या बढ्दै छ, किसान ज्योतिराम पोखरेलले भने कृषकले प्राविधिक सहयोग नपाउँदा क्षति बढेको छ।’ किसानको तहमा पुग्ने प्राविधिक जनशक्ति नहुँदा लगानी डुब्ने चिन्ता रहेको पोखरेल बताउँछन्। किराका लागि आफ्नै ढंगले विषादीको प्रयोग गर्ने गरेको उनले बताए। 

अर्का किसान खेमराज थापाको पनि उस्तै चिन्ता छ। उनले पनि मुलुकभरमै एभोकाडोका लागि नाम कहलिएको जिल्लामा नयाँ रोग चुनौती रहेको बताए। धनकुटास्थित एभोकाडो कृषक समूहका अध्यक्ष समेत रहेका उनले आकर्षण बढे पनि समस्या समाधान गर्न प्राविधिक ज्ञान अभाव रहेको बताए। उनले भने, ‘समस्या समाधान गर्न बेलैमा प्राविधिक जुटाउन आवश्यक छ।’

कृषिविज्ञ जीवनकुमार राईले खाद्य तत्त्वको अभावले अत्यधिक फल झर्ने समस्या रहेको बताए। रोग किराको मात्र समस्या नभएर एभोकाडोको जात छुट्याउन नसक्दा पनि चुनौती थपिएको उनको तर्क छ। ‘एभोकाडोको जात नै अत्यधिक छ’, उनले भने, ‘जात छुट्याएर सोहीअनुसार भूगोलमा रोप्ने निर्क्यौल गरिनुपर्नेमा त्यसो हुन सकेको छैन।’

किसानलाई रोग किराबारे जानकारी
धनकुटाका किसानलाई एभोकाडोमा लाग्ने रोग किराको बारेमा जानकारी गराउन थालिएको छ। धनकुटा नगरपालिका र कृषि अनुसन्धान केन्द्र पाख्रिबासको आयोजनामा किसान तथा सरोकारवालालाई एभोकाडोमा लाग्ने रोग तथा किराको बारेमा जानकारी गराइएको हो।

कृषि अनुसन्धान केन्द्र पाख्रिबासका वैज्ञानिक तथा फलफूल विशेषज्ञ डा. कृष्ण पौडेलले एभोकाडोमा लाग्ने रोग किरा तथा त्यसको समाधानको उपायबारे जानकारी गराइएको बताए।

उनले धनकुटा नपाको सहकार्यमा अनुसन्धान केन्द्रले एभोकाडो सम्बन्धी सबै काम गर्न तयार रहेको बताए। त्यससँगै रोग किरा पहिचान गरी निदान गर्ने तरिकासमेत सिकाइरहेको उनले बताए। हावाहुरीबाट एभोकाडोलाई बचाउन बोटलाई कसरी रोप्ने र धेरै अग्लो बोट हुन नदिन के गर्ने भन्नेबारे विज्ञहरूले किसानलाई जानकारी दिँदै आएका छन्।

कृषि अनुसन्धान केन्द्र पाख्रिबाससँगको समन्वयमा एभोकाडो खेतीमा देखिएको समस्या समाधानतर्फ जुट्दै आएको नगरप्रमुख तामाङले बताए। कृषकलाई आवश्यक जनशक्ति जुटाउन पनि आवश्यक रहेकोले चासो गएको उनको भनाइ छ। बगैंचा र फलमा देखिएका रोग निदान समाधान गर्न कृषि वैज्ञानिकसँगसमेत समन्वय गरिरहेको तामाङले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.