|

पाल्पा : तानसेनमा जितगढी युद्धको सम्झनामा शनिबार रणउजिरेश्वरी भगवती जात्रा निकालिएको छ। भगवती जात्राले नेपाल अङ्ग्रेज युद्धको जितगढी युद्धलाई सम्झाउने गर्छ।​

विसं. १८७१।७२ तिर जितगढीमा भएको अङ्ग्रेज युद्धमा तत्कालीन कर्णेल उजीर सिंहको नेतृत्वमा गएको नेपाली फौजले अङ्ग्रेज फौजलाई परास्त गरेको थियो।भगवतीको भाकल गरी युद्धमा गएका सिंहले साम्राज्य विस्तारको नेतृत्व गरेको अङ्ग्रेज फौजलाई परास्त गरेको सम्झनामा यो जात्रा निकाल्ने चलन छ।​

जितगढीको युद्ध ऐतिहासिक मानिन्छ। युद्धमा विजय प्राप्त गरेपछि खुसियालीमा कर्णेल उजिर सिंहले भगवती मन्दिरको मर्मत सम्भार गर्नुका साथै सिन्दूरजात्रा गरी बजार परिक्रमा गराएका थिए।

विसं. १८७७ सालदेखि  हरेक वर्ष पाल्पामा भगवती जात्रा भव्यताका साथ मनाउन थालिएको हो।​ २०४ औँ संस्करणको रुपमा आज जात्रा निकालिएको हो। साइत अनुसार दिउँसो पौने एक बजे भगवतीको प्रतिमूर्ति निकालिएको थियो।

नेपाली सेनाले सलामी चढाएलगत्तै जात्रा सुरू भएको भगवती गुठी व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष भीमसेन कार्कीले जानकारी दिए। जात्रामा हजारौँ मानिसको सहभागिता थियो। तानसेन बजारका गल्ली गल्ली र घरका छतमा बसेर मानिसले जात्रा अवलोकन गरेका दृश्य थिए।

सुरक्षा व्यवस्था र ट्राफिक व्यवस्था निकै कडा बनाइएको थियो। जात्रामा प्रदेश मन्त्री, संघीय तथा प्रदेश संसद, प्रमुख जिल्ला अधिकारीलगायत उच्च पदस्थ व्यक्तिको उपस्थिति रहेको थियो। सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारी, विद्यालयका शिक्षक, विद्यार्थीसमेतकाे सहभागिता रहेको थियो। बाजागाजासहितको जात्राले करिब ५ घण्टामा तानसेन बजार परिक्रमा गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.