मन्त्री श्रेष्ठले गरे उद्घाटन

|

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौंमा पहिलो पटक सम्पदा लक्षित लोकल गाइड तालिमको शुभारम्भ गरेका छन्। नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले स्थानीय कला, शिल्प र काठमाडौं महानगरका सम्पदाबारे आन्तरिक तथा बाह्य पर्यटकलाई जानकारी प्रदान गर्न स्थानीय पथ प्रदर्शक (लोकल गाइड) तालिम संचालन गरेको हो।

स्थानीय पथ प्रदर्शक (लोकल गाइड) तालिमको शुभारम्भ गर्दै मन्त्री श्रेष्ठले स्थानीय पथ प्रदर्शकहरुले स्थानीय कला, शिल्प र सम्पदाबारे पर्यटकलाई बुझाउने बताए। पहिलो चरणमा विश्व सम्पदा सूचीमा सूचीकृत दुई सम्पदा हनुमानढोका दरबार स्क्वायर र स्वयम्भू सम्पदा मार्ग क्षेत्रका स्थानीय युवाहरुलाई तालिममा सहभागी गराइएको छ।

यसबाट पर्यटन प्रवर्द्धन, मौलिक सम्पदाको संरक्षण हुनुका साथै पद मार्गका बासिन्दाको आय–आर्जनमा वृद्धि हुने अपेक्षा गरिएको छ। स्थानीय पथ प्रदर्शक तालिममा स्थानीय महत्त्वका विभिन्न संरचना र दुर्लभ वास्तुकलाको जानकारी दिइनेछ साथै उनीहरुलाई उक्त मार्गमा पर्ने मठ मन्दिर, पाटी, सत्तल, ढुंगेधारा, पार्क, नदी, पोखरीहरूबारे जानकारी दिइनेछ।

हनुमानढोकादेखि मरू गणेश–सन्तानेश्वर महादेव–नरदेवी घःछेँ–मेछ्य हिति–रञ्ति मल्ल सतःघाट–भेलु महादेव–निपु हिटी–भुइँखेल हुँदै स्वयम्भू पुगिने पद मार्ग अन्तर्गत रहेका सम्पदाको मर्मत तथा पुनर्निर्माण कार्यसमेत अघि बढिसकेको मन्त्री श्रेष्ठले बताए।

यस क्षेत्रमा रहेका परम्परागत नेवाः शैलीका भवन, बौद्ध एवं हिन्दू धार्मिक तथा सांस्कृतिक महत्त्वका सम्पदाहरूको संरक्षण गरी काठमाडौंको वैभव देखिने गरी नमुना सम्पदा मार्ग निर्माण गरिने मन्त्री श्रेष्ठले बताए। सम्पदा मार्गले आर्थिक गतिविधि चलायमान हुनुका साथै रोजगारीका विभिन्न अवसर सिर्जना हुने मन्त्री श्रेष्ठको भनाइ थियो।

प्रतिष्ठानका कार्यकारी निर्देशक राजेश उप्रेतीले न्याथममा पहिलोपटक सम्पदा लक्षित स्थानीय पथ प्रदर्शक (लोकल गाइड) तालिम संचालन गरिएको बताए। मन्त्री श्रेष्ठले आफ्नो ७३ बुँदे कार्ययोजनामा समेत स्थानीय पथ प्रदर्शक तालिम संचालनको बिषय समेटेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.