गाउँमा बिरलै देखिने नेताहरू स्वार्थकेन्द्रित आश्वासन बाँड्न व्यस्त

|

काठमाडौं : मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै शीर्षस्थ नेताहरूको सक्रियता जिल्लामा बढेको छ। ‘डेन्जर जोन’मा परेका प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्रीसहित शीर्षस्थ नेताहरू सक्रिय भएर चुनावी प्रचारमा लागेका हुन्।  

प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल, नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाललगायत शीर्षस्थ नेताहरू जिल्ला केन्द्रित भएका छन्। 

गाउँमा बिरलै देखिने नेताहरू अहिले आफ्नो चुनाव क्षेत्रमा गएर सभा सम्मेलन र पार्टी संगठन बलियो बनाउने काममा लागिरहेका छन्। प्रचण्ड पछिल्लो समय चितवन केन्द्रित भएका छन्। चितवन ३ बाटै फेरि लड्ने घोषणा गरेका प्रचण्ड बुधबार मात्रै विभिन्न कार्यक्रममा सहभागी भए। 

जिल्लाभर विभिन्न स्थानमा हुने शिलान्यास, उद्घाटन र पार्टी कार्यकर्तालाई प्रशिक्षण दिन व्यस्त रहे। उनले ०७४ को निर्वाचनमा राप्रपाका विक्रम पाण्डेलाई करिब १० हजार मतान्तरले पराजित गरेका थिए। 

प्रचण्डले ४८ हजार २७६ मत ल्याएर विजयी हुँदा पाण्डेले ३८ हजार ९३५ मत ल्याएका थिए। अहिले एमाले प्रचण्डविरुद्ध कडा रूपमा प्रस्तुत हुने भएकाले उनलाई सहज छैन। 

यता, सरकारले निर्वाचनको मिति घोषणा गरेलगत्तै एमाले अध्यक्ष ओली पनि गृहजिल्ला केन्द्रित छन्। उनी हालै झण्डै एक साता गृहजिल्ला झापा बसेर फर्किए। पछिल्लो समय गृह जिल्ला ओलीको आवागमन बाक्लिँदै गएको छ। 

सत्ता बहिर्गमन र पार्टी विभाजनपछि ओलीको सक्रियता बढेको छ। वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा पनि ओली सक्रिय भएर लागेका थिए तर पार्टीले सोचेजस्तो परिणाम ल्याउन सकेन। 

अहिले ओली झापा ५ बाट चुनाव लड्ने तयारीमा छन्। ०७४ सालको निर्वाचनमा एमाले-माओवादी गठबन्धन भएका वेला राप्रपासँगको सहयोगमा चुनाव जितेका थिए तर अहिले उनलाई त्यति सहज छैन। 

ओलीले आगामी निर्वाचनमा पार्टी एकताबद्ध भएर सबैलाई चुनाव लाग्न निर्देशन समेत दिएका छन्। 

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘म साथीहरूलाई आग्रह गर्न चाहन्छु- एमाले अब अत्यन्त सक्रिय हुनुपर्छ। जो नेता साथीहरू हुनुहुन्छ, उहाँहरूको पदको नेता होइन, लिड गरेर कामका नेता। म अहिले पनि १८ घण्टा काम गर्छु। प्रायः साथीहरू त म भन्दा कमै उमेरका हुनुहुन्छ। १८ घण्टा म काम गर्छु भने १८ घण्टा नगर्नुस् तर कमसेकम १४ घण्टा त गर्नुस्।’

त्यसो त अहिले ओलीविरुद्ध सत्ता गठबन्धन लागेको छ। गठबन्धनले राप्रपालाई समेत झापा केन्द्रित भएर ओलीविरुद्ध मोर्चाबन्दीको लागि प्रस्ताव गरेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन बताउँछन्।

उनी भन्छन्, ‘हामीले गठबन्धनको विषयमा कुनै निर्णय गरेका छैनौँ।  सत्ता गठबन्धन र एमालेसँग छलफल भए पनि कुनै निर्णय भएको छैन।’
ओलीविरुद्ध गठबन्धन लाग्दै गर्दा राप्रपा अध्यक्ष लिङ्देन पनि सुरक्षित छैनन्। ०७४ को निर्वाचनमा झापा ५ मा ओलीलाई सहयोग गरेको २ मा एमालेको साथमा जितेका थिए। अहिले पनि त्यही परिस्थिति दोहोरिने सम्भावना भए पनि निश्चित छैन।

अन्तिममा जित्ने दाउ 

पूर्वप्रधानमन्त्रीसहित शीर्षस्थ अधिकांश नेताहरूको सम्भवतः अन्तिम निर्वाचन हुनसक्छ। त्यही अनुसारको चुनावी तयारीमा लागेकामध्ये एक हुन्‚ माधव नेपाल। एमालेबाट विद्रोह गरेपछि उनी पहिलोपटक चुनावमा जाँदै छन्। उनलाई जित्नैपर्ने बाध्यता छ। 

उनीविरुद्ध प्रमुख प्रतिपक्षी दल एमाले आक्रमक रूपमा प्रस्तुत हुने देखिन्छ। उनी मंसिरमा हुने निर्वाचनमा रौतहट १ चुनाव लड्ने तयारी गरिरहेका छन्। स्थानीय तहको निर्वाचनमा सो क्षेत्रमा एक्लै एकीकृत समाजवादीले जितेको छ। 

अहिले उनी सत्ता गठबन्धनबाट प्रतिस्पर्धामा उत्रिँदै छन्। अध्यक्ष नेपाल पछिल्लो पटक यो क्षेत्रबाट २०७० सालमा निर्वाचित भएका थिए। २०७४ सालमा भने उनी काठमाडौं–२ बाट निर्वाचित भएका थिए। चुनावको मिति घोषणा भएपछि उनको रौतहट आउजाउ बढेको छ। 

यसैगरी एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफू अन्तिम पटकका चुनाव लड्ने तयारीमा छन्। इलाम १ बाट सत्तारुढ गठबन्धनको उम्मेदवारका रूपमा चुनाव लड्दै छन्। 

आइतबार बिहान भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भनेका थिए, ‘जनतासँगको माया पिरती टुटेको छैन, ४८ सालदेखि चुनाव लड्दै आएको छु, अब एकपटक लड्छु।’

२०७४ सालको निर्वाचन इलाम निर्वाचन क्षेत्र नम्बर १ मा एमाले र माओवादीको संयुक्त गठबन्धनबाट ३६ हजार ८०५ मत ल्याएर विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भूपेन्द्र कट्टेलले १९ हजार ६३८ मत ल्याएका थिए। उनी पनि अहिले जिल्लामा सक्रिय हुने शीर्ष नेतामै पर्छन्। 

०७४ सालमा वाम गठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठसँग हारेका रामचन्द्र पौडेल अहिले पनि तनहुँ १ बाटै निर्वाचन लड्ने घोषणा गरेका छन् तर उनलाई हराउने श्रेष्ठ पनि सत्ता गठबन्धनमै भएकाले उनलाई टिकटमै प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ। 

नेता पौडेलले गत साता उनले भनेका थिए, ‘सबै नेतासँग समझदारी भइसकेको छ। त्यसलाई केही समयपछि औपचारिक रूप दिन्छौं। गठबन्धनको सूत्रधार नै म भएकाले मैले टिकट नपाउने सम्भावना छैन। मेरो निश्चित हो।’

पौडेललाई हराएका पूर्वमन्त्री समेत रहेका श्रेष्ठले तनहुँ १ मा आफ्नो दाबी स्वभाविक भएको बताइसकेका छन्। 

मंगलबार तनहुँ पुगेका श्रेष्ठले भने, ‘राजनीतिक दलबीच पहिला भएको सहमतिअनुसार ज–जसले जहाँबाट जितेको छ त्यहीँबाट उम्मेदवारी दिने भनिएकाले तनहुँ १ मा मेरो दाबी स्वभाविक हो। यद्यपि पार्टीको निर्णय सबैले मान्नुपर्छ। पार्टीले कञ्चनपुर, बारा, झापा गएर निर्वाचन लड्न भने पनि तयार नै छु।’ 

अहिले श्रेष्ठले पौडेललाई टिकट छाडे पनि उनलाई जित्न मुस्किल पर्ने सहजै आँकलन गर्न सकिन्छ। पूर्व कांग्रेस नेता गोविन्दराज जोशीको तनहुँमा राम्रो उपस्थिति छ। जुन स्थानीय तहको निर्वाचनमै देखिएको छ। उनलाई एमालेले पनि साथ दिने निश्चित भएकाले पौडेललाई जित्न सहज छैन। 

०७४ मा वाम गठबन्धनका तर्फबाट श्रेष्ठले ३४ हजार ४९२ मत ल्याउँदा  पौडेलले २७ हजार ६९० मत मात्रै ल्याएका थिए।

पछिल्लो समय जिल्ला केन्द्रित हुनेमध्येका एक नेता हुन् डा. बाबुराम भट्टराई। उनले जसपाबाट अलग भएर नेपाल समाजवादी पार्टी गठन गरेका छन्। उनले माओवादी केन्द्रकै चुनाव चिह्न लिएर लड्ने सहमति गरिसकेका छन्। 

यसअघि कांग्रेसको सहयोगमा नयाँ शक्ति पार्टीबाट जितेका थिए। गोरखा-२ बाट वाम गठबन्धनका नारायणकाजी श्रेष्ठलाई पराजित गरेका थिए। उनले ३१ हजार ८०७ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले २४ हजार ९३३ मत मात्रै ल्याएका थिए। 

भट्टराई विसं २०६४ र २०७० को संविधानसभा निर्वाचनमा क्रमशः गोरखा २ र १ बाट निर्वाचित भएका थिए। अहिले पनि गोरखा २ बाट लड्ने आन्तरिक तयारी गरे पनि खुलेका छैनन् तर उनको जिल्ला दौडधुप भने राम्रै छ। उनले आफू समानुपातिकमा बसेर छोरी मानुषी भट्टराईलाई अघि ल्याउन खोजेको पनि चर्चा छ।
 
यसैगरी मधेश केन्द्रित दल जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलगायत अन्य शीर्षस्थ नेताहरू पनि चुनावी दौडमा जिल्लामा केन्द्रित भएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.