|

काठमाडौं : काठमाडौं उपत्यकामा डेंगु ज्वरोको संक्रमण तीव्र गतिमा फैलिएको पाइएको छ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको ओपिडीमा हाल दैनिक १५० जनासम्म ज्वरोका विरामी आउँछन्। तीमध्ये अधिकांश विरामीमा ज्वरो आउने, टाउको दुख्ने जस्ता लक्षण देखिने गरेको र परीक्षण गरिएकामध्ये धेरैमा डेंगु पुष्टि हुने गरेको छ। अस्पतालका ओपिडी इन्चार्ज शंकर पाण्डेका अनुसार भदौ लागेसँगै यसरी विरामी आउने क्रम बढेको बताए।

‘अहिले ओपिडीमा ज्वरोका विरामी दैनिक १५० जनासम्म आइरहनु भएको छ‚ परीक्षण गर्दा उहाँहरूमध्ये अधिकांशमा डेंगु पुष्टि भएको छ’‚ उनले भने।

ओपिडीमा मात्रै हैन‚ अहिले टेकु अस्पतालको इमर्जेन्सीमा नै दैनिक ३५ जनासम्म डेंगुका विरामी भर्ना हुने गरेको अस्पतालका इमर्जेन्सी इन्चार्ज लीलानाथ भण्डारीले बताए।‘ दैनिक ३० देखि ३० जनासम्म डेंगुका विरामी भदौ लागेदेखि इमर्जेन्सीमा भर्ना हुन थाल्नु भएको छ। यही तरिकाले गए अझै केही समय डेंगुका विरामी बढ्ने देखिएको छ’‚ भण्डारीले भने।

काठमाडौं र ललितपुरमा तीव्ररूपमा फैलँदै डेंगु

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका भेक्टर कन्ट्रोल निरीक्षक उत्तमराज प्याकुरेलका अनुसार पछिल्लो समय काठमाडौं उपत्यकामा मात्रै हैन‚ देशभरका ६९ जिल्लामा हाल डेंगु संक्रमण देखिएको छ। हाल ६९ जिल्लामा २ हजार १०८ जनामा डेंगु संक्रमण देखिएको प्याकुरेलले बताए।

उनका अनुसार हालसम्मको रिपोटिङ अनुसार यो वर्ष संक्रमण देखिएका ६९ जिल्लामध्ये १० वटा जिल्लामा संक्रमण धेरै रहेको बताए। तीमध्ये हालसम्म ललितपुरमा ६२३ जना‚ काठमाडौंमा ३३३ जना‚ रूपन्देहीमा ३५३ जना‚ सिल्धुलीमा २७ जना र भक्तपुरमा ३८ जना रहेका छन्।

‘एक हप्तायता डेंगु तीव्र बढिरहेको हामीलाई भएको रिपोटिङले पनि देखाएको छ। हालसम्मको रिपोटिङमा यो वर्ष ललितपुरमा सबैभन्दा धेरै संक्रमण फैलिएको छ। त्यसपछि काठमाडौं र रूपन्देहीमा पनि संक्रमण बढिरहेको रिपोटले देखाएको छ’‚ प्याकुरेलले भने।

संक्रमणको अवस्था हेर्दा अझै एक महिनासम्म डेंगु संक्रमण बढ्न सक्ने समेत प्याकुरेलले बताए।

नेपालमा २०७६ सालमा पनि डेंगु तीव्ररूपमा फैलिएको थियो। त्यतिखेर काठमाडौं उपत्यका सहित देशभर गरेर १९ हजारलाई डेंगु देखिएको थियो भने ६ संक्रमितको मृत्यु भएको थियो।

अहिलेको एक हप्तादेखि काठमाडौं र ललितपुरमा बढ्दै गएको डेंगु संक्रमणले कतै २०७६ साल जस्तै संक्रमण फैलिने त हैन भन्ने डर देखिएको प्याकुरेलले बताए। ‘२०७६ सालमा तीव्ररूपमा फैलिएको थियो।  त्यो वर्ष ६ जनाको मृत्यु समेत भएको थियो, बीचका दुई वर्षमा कोभिडले गर्दा भएको लकडाउन तथा निषेधाज्ञाले डेंगु खासै रिपोट भएन तर यो वर्ष हाल संक्रमण तीव्र फैलिरहेको छ‚ हालसम्म नियन्त्रण भित्रै छ’‚ प्याकुरेलले भने।

डेंगु नियन्त्रण गर्न के छ तयारी?

महाशाखाका भेक्टर कन्ट्रोल निरीक्षक प्याकुरेलका अनुसार हाल डेंगु तीव्ररूपमा फैलदै गएको क्षेत्रमा स्थानीय तहसँग मिलेर सचेतना कार्यक्रम भइरहेको छ। व्यापक रूपमा डेंगु फैलदै गएको ललितपुरमा हाल स्थानीय तहले संक्रमण नियन्त्रण गर्न घरदैलो कार्यक्रम गरिरहेको समेत उनले बताए। ‘संक्रमण बढ्दै गएको ठाउँमा स्थानीय तहले नियन्त्रणका लागि सचेतना कार्यक्रम गरिरहनु भएको छ’‚ उनले भने।

नेपालमा २०६१ सालमा पहिलोपटक डेंगुका विरामी फेला परेका थिए। त्यसयता डेंगुको सङ्क्रमण देखिँदै आएको छ। २०६३, २०६७, २०६९, २०७०, २०७४ र २०७६ सालमा डेङ्गु बढेको पाइएको छ।  त्यसपछि अहिले नै डेंगुका बिरामी बढेको प्याकुरेलको भनाइ छ।

तराई–मधेशमा बढी देखिने डेंगु २०७५ पछि भने पोखरा, काठमाडौँ जस्ता पहाडी क्षेत्रमा पनि देखा पर्दै आएको छ। हाल मनाङ‚ मुस्ताङ‚ बाजुरा जस्ता उच्च हिमाली ८ वटा जिल्लामा मात्रै डेंगु संक्रमण पुगेको छैन।

कसरी बच्न सकिन्छ डेंगुबाट

एडिस प्रजातिको लामखुट्टेले मानिसलाई टोकेपछि डेंगुको संक्रमण हुने र यसका अण्डा, प्यूपा र लार्भाबाट हुर्कने सबै लामखुट्टेले टोकेमा डेंगु सर्ने प्याकुरेलले बताए। ‘डेंगु संक्रमण गराउने लामखुट्टे एक महिनासम्म बाँच्न सक्ने हुँदा त्यो खालको लामखुट्टे नष्ट नहुँदाको एक महिनासम्म मानिसलाई टोकेर डेंगु फैलने हुँदा सतर्क रहनु पर्छ’‚ प्याकुरेलले भने।

एडिस प्रजातिको लामखुट्टेले टोकेपछि मानिसलाई दुई दिनसम्म सामान्य टाउको दुख्ने, दुई-तीन दिनपछि लगातार मा १०२ देखि १०३ डिग्रीसम्म ज्वरो आउने गर्छ। यस्तै ढाडका जोर्नी दुख्नु, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, नाक र गिजाबाट रगत बग्ने जस्ता लक्षण देखिने उनको भनाइ छ।

उनका अनुसार घर वरपर रहेको पानी जम्ने खाल्डाखुल्डी पुर्ने, लामखुट्टेको टोकाइबाट जोगिन झुल टाँगेर सुत्ने, घरबाहिर करेसाबारीमा काम गर्न जाँदा सकेसम्म शरीर पूरै छोपिने गरी लुगा लगाउने गर्नुपर्छ। घरवरपर सफा राख्ने, लामखुट्टे भएका स्थानमा किटनाशक औषधि प्रयोग गर्नाले डेंगुको संक्रमणबाट बच्न सकिन्छ।​

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.