|

काठमाडाैं : नेपाली कलामा उल्लेख्य योगदान दिने थुप्रै कलाकारमध्ये छुट्टै पहिचान कमाएका कलाकारको नाम हो, चित्रकार के.के. कर्माचार्य। कर्माचार्यको जन्म वि.सं. २००४ सालमा भएको हो। उमेरको हकमा अलि पर पुगिसकेका उनी सिर्जनात्मक क्षमतामा आज पनि युवाकालका जस्तै देखिन्छन्।

उनको कलागत सूक्ष्मतालाई केलाउने हो भने उनी भित्र निहित दुई कोशीय कला शैली वा धार प्रष्ट उजेलिएको देखिन्छ। अर्थात् उनका सिर्जनाहरूलाई दुई वादको धरातलमा उभिएको एक सिर्जनात्मक संवेग भन्न सकिन्छ।

कलाकार कर्माचार्य वस्तुवादी यथार्थपरक कलाकार र पूर्ण अमूर्त कलाधारमा केन्द्रित रहेर निरन्तर कलाकर्म गरिरहने एक स्रष्टा हुन्। पोट्रेट (मुहारकला)को संरचनादेखि अमूर्तवादको सागरसम्म पौडिन हौसिरहने एक स्थापित प्रतिभा हुन्। अर्थात् उनी लियोनार्दाे दा भिन्ची या पूर्ण अमूर्तकलाका जन्मदाता वासिली कान्डिस्कीको अमूर्तवादका एक संगम हुन्।

उनी दुवै रुपका कलाकारहरूको शैली र मान्यतामा क्यानभासमा खरो उत्रिने गरेका पाइन्छन्। उनी राम्रा/राम्रा पोट्रेटहरू (व्यक्तिचित्र) बनाउँछन् र सँगै राम्रा राम्रा अमूर्त सिर्जनाहरू पनि गर्दछन्। उनको दक्षता पोट्रेटमा जति देखिन्छ त्यस्तै दक्षता, सशक्तता र गाम्भीर्यता उनको अमूर्तवादका कलामा पनि छाएको देखिन्छ।

अमूर्तकला त्यो हो जो आफैँमा एक प्रश्नको पुञ्ज हो। यसले आफैँ प्रश्न गर्छ र उत्तर पनि दिन्छ। खासमा अमूर्तकला भाव अनुभूतको पदचाप हो जसले आवरण होइन अन्तर्निहित गुदीको उत्खनन गर्दै वास्तविक सनातनी सत्यको पटाक्षेप गर्छ। कर्माचार्यको क्यानभास अमूर्तकला भाव र गतिको एक सशक्त सँगालो हो। उनको अमूर्त कलाले प्रचुर रुपमा गतिलाई प्रस्फुटित गरिरहेको आभाष मिल्छ।

उनको क्यानभाषमा आँखा ठोक्किँदा झुलाजस्ता रंगीन विम्व देखिने उनका अमूर्त कलामा रेखा, रङ्ग, भाव र गतिको प्राधान्यता रहेको हुन्छ। उनको कलाले ई.सं १९१२–५६ मा अमेरिकाका विख्यात कलाकार ज्याक्सन पोलकको क्यानभासको अनुभूति गराउँछ।

​पोलकको कला सिद्धान्त भनेको गति वा मोसनमा केन्द्रित हो।​ माेसन कलाकै कारण विश्वकला जगतमा पोलक चर्चित कलाकार बनेका हुन्। पोलकले गतिको तरङ्गमा विश्वास गरे जस्तै कर्माचार्यले पनि गतिमा आफ्नो पूर्ण विश्वास र भरोसा दिलाएका छन्। तथापि दुईको कलामा प्रशस्तै फरकपन भने पाउन सकिन्छ। माइक्रो लेबलबाट हेर्दा दुईबीचको भाव मान्यतामा एकरुपता छ तर कलाशैलीका अन्य अवयवहरूमा भने समतामा रहेको देखिँदैन।

प्राकृतिक गतिको अनुभूति दिलाउने कर्माचार्यका कतिपय अमूर्त चित्रले प्रकृति जगतको एकआपसको सामन्जस्यता, सम्बन्ध, घर्षण र परिणाम दिन खोजेको हुन्छ। समग्रमा भन्नुपर्दा कर्माचार्यको अमूर्त क्यानभासले छुट्टै किसिमको आफ्नै मौलिक दर्शन र आनन्द छोड्ने गरेको पाइन्छ।

यसरी नेपाली समसामयिक कलाजगतमा अमूर्त कला सँगसँगै कर्माचार्यले वस्तुवादी मुहार चित्रहरू पनि प्रशस्तै सिर्जना गरेका छन्। उनले विभिन्न सर्वसाधारण व्यक्ति, विशिष्ठ व्यक्ति र अनगिन्ती नेपालका मूर्धन्य साहित्यकारहरूको मुहार चित्रहरू बनाएका छन्। वस्तुवाद वा यथार्थवादका हुबहु चित्राङ्कन गर्ने दक्षता उनमा प्रखर रुपमा रहेको पाइन्छ।

नेपाली कलाको उपल्लो दर्शकहरूमा नगई पछिल्ला चरणहरूलाई मात्र सम्झिने हो भने अमर चित्रकारको मुहार चित्रहरूमा छाउने गरेको मिहिनता र गहिरोपनको उचाई जस्तै उत्कृष्टता उनको मुहार कलामा पनि भेटिने गर्छ।

म उनको कलामा मिहिनता, धैर्यता र संयमताको पराकाष्ठा रहेको पाउँछु। यति मात्र होईन, उनीले आफूलाई नेपालमा हुलाक टिकटका विशिष्ठ र वरिष्ठ डिजाइनरका रुपमा र चित्राङ्कन विधिबाट बालबालिकाहरूमा ज्ञान र शिक्षा बाँढ्ने सन्दर्भमा पनि आफूलाई चिनाएका छन्। कर्माचार्यले विविध समयमा राष्ट्रिय र अन्तरराष्ट्रिय क्षेत्रमा एकल र थुप्रै पटक सामूहिक कला प्रदर्शनीहरू लगाइसकेका छन्। राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्र एवं संघसंस्थाहरूबाट दर्जनौँ पुरस्कार र सम्मानहरू पाइसकेका छन्।

उनका कला प्रदर्शनीहरू वि.सं. २०२८ सालमा नाफामा र त्यसपछि जे आर्ट ग्यालरीमा, हार्डवर्ग टाउन जर्मनीमा, स्पेस सेल ग्यालरी दक्षिण कोरियामा, चीनमा, भारत बंगलादेश, जापानलगायत विविध स्थान र देशहरूमा भइसकेका छन्। समूहगत प्रदर्शनीहरू अनगिन्ती छन्।

वि.सं.२०२५ सालमा पहिलोपल्ट द्वितीय पुरस्कार पाएका उनले विभिन्न समयमा नियमित पुरस्कार र सम्मान पाउँदै आएका छन्। उनले वि.सं. २०३० मा नवौँ राष्ट्रिय कला प्रतियोगितामा नाफाबाट, २०३३ मा देशव्यापी पोष्टर कला प्रतियोगितामा, २०४५ सालमा गोरखा दक्षिणबाहु, २०५२ मा स्वर्ण जन्मोत्सव पदक, २०५३ मा रजत पदक, २०५४ मा राष्ट्रिय प्रतिभा पुरस्कार र २०५८ मा वीरेन्द्र ऐश्वर्य सेवा पदक प्राप्त गरेका छन् भने नेपाली कला क्षेत्रमा लागेर योगदान पुर्‍याएवापत उनलाई विभिन्न क्षेत्रले विभिन्न समयमा थुप्रै सम्मान र कदर गरेको छ।

यस्तै स्रष्टा सम्मानलगायत सर्वश्रेष्ठ चित्राङ्कन सम्मान भनेर नेपाल बाल साहित्य समाजले नियमित सम्मान गर्दै आएको छ। बेला बेला अन्तराष्ट्रिय क्षेत्रमा हुने कला वर्कसप एवं प्रदर्शनीमा उनी नेपालका तर्फबाट प्रतिनिधि भएर थुप्रै देशहरूमा गएका पनि छन्। उनको प्रकाशनका हकमा भन्नुपर्दा ४० हुलाक टिकट
डिजाइन सन् २०६२ सम्म र सन् २०१५ मा ६ थानसहित ५ भन्दा बढी सचित्र बाल साहित्य पुस्तकमा चित्राङ्कन गरिसकेका छन्।

नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका पूर्व सदस्यसचिव र वर्तमान कुलपति उनी हाल आफू प्रज्ञा प्रतिष्ठानमा क्रियाशील भइरहँदा प्रज्ञा प्रतिष्ठानको भावना, मर्म र उद्देश्य बाेकी अघि बढिरहेको बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.