कसैले देशको बारेमा सोध्दा, नागरिकताबारे सोध्दा उनले एकछिन सोच्नुपर्छ र आफैँलाई सोध्नुपर्छ, 'तिमीलाई थाहा छ देश भनेको के हो?'

|

काठमाडाैं : त्यो दिन दशरथ रंगशालामा गीत सुन्नकै लागि झण्डै ३० हजार मानिस जम्मा भएका थिए।

स्टेजमा उक्लने तयारीमा रहेकी प्रिती कौरको ढुकढुकी सामान्यभन्दा निकै तीव्र गतिमा धड्किरहेको थियो। पहिलो पटक त्यति ठूलो भीडमा गाउन लागेकी उनको उत्साहलाई डरले छोपेको थियो। तर जब उनी मञ्चमा उक्लिइन् र माइक समातिन् त्यसपछि बादल पन्छाएर आकाशमा घाम निस्के जस्तै डर, लाज हटाउँदै उनी भित्रबाट एउटा बेग्लै ऊर्जा बाहिर निस्कियो।

त्यो हजारौँको भीड उनको इशारामा झुमिरहे जस्तो लाग्यो। उनलाई आफैँ भित्रको शक्तिसँग पहिलो पटक साक्षात्कार गरे जस्तो लाग्यो। यही त म हुँ, यही त मेरो ठाउँ हो, यसकै लागि त म छु भन्ने कुरा उनलाई त्यति बलियोसँग पहिलो पटक त्यही स्टेजमा महशुश भयो। 

शिखर म्युजिक बिट कन्टेस्टको फाइनलमा प्रितीले आफ्नो प्रस्तुति दिएको झण्डै दुई दशक भयो। उक्त प्रतियोगितामा उनको ब्याण्ड निभा विजेता घोषित भयो। अन्य विभिन्न अवार्डसहित उत्कृष्ट आवाजको अवार्ड पनि प्रितीको नाममा उनकै ब्याण्डले पायो। त्यही प्रतियोगिता उनको सांगीतिक करिअरमा महत्त्वपूर्ण फड्को थियो।

बाग्मती पुल

त्यो वेला उनी स्कुलमा पढ्थिन्‚ पछि गएर संगीतको सागरमा हराउनेछु भन्ने उनलाई कहिल्यै लागेको थिएन। उनलाई घर, स्कुल र गुरुद्वारा जोड्नेबाहेक अरु बाटोसमेत थाहा थिएन।

कुपण्डोलमा जन्मे, हुर्केकी उनलाई बाग्मतीको पुल तरेर एक्लै थापाथली आएको पनि याद छैन। एक पटक कालो टेम्पो चढेर लाजिम्पाटस्थित आफ्नो साथीकोमा गएबाहेक उनलाई घुम्न कतै गएको पनि याद छैन। तर आफूलाई याद नभए पनि सानै हुँदा बुवाआमाले काखमा राखेर केही ठाउँ डुलाएको भने हुनसक्ने उनी बताउँछिन्।

उनी घरबाट ननिस्किनुको कारण घरको कडा नियम थिएन, स्वभावै त्यस्तो भएर घरबाट ननिस्केको पो हो कि भन्नेमा पनि उनी स्पष्ट छैनन्। बरु आफ्नो स्वभावका आफैँले बुझ्न केही पत्र केलाउन बाँकी रहे जस्तो, आफैँलाई भेट्न बाँकी रहे जस्तो उनलाई लाग्छ।

जब स्कुलको पढाइ सकियो अनि उनी बाग्मती पुल मात्र तरिनन्, काठमाडौंका गल्ली गल्ली चहारिन्। उपत्यकामा आफू पुग्न बाँकी ठाउँ कतै बाँकी छ जस्तो उनलाई लाग्दैन। तर खेतैखेत भएको ठाउँमा घरैघर बनेको, त्यो वेलाको सानो बाटो दोब्बर, तेब्बर चौडा बनेको, जंगल फाँडेर होटल रेष्टुरेन्ट बनेको देख्दा भने यी तिनै ठाउँ हुन् त भनेर एकपटक घोत्लिनुपर्छ उनलाई। 

धेरै पल्ट
घरको सँघार नाघेर बाहिर निस्केपछि नै उनको मन संगीतमा यसरी अल्झियो कि उनलाई लाग्यो उनी संगीतकै एउटा अंश हुन्‚ संगीतको कुनै नोट हुन्। उनले स्कुलपछिको पढाइ संगीतमै गरिन्। उनलाई पश्चिमा संगीतमा विशेष रुची थियो। आफ्ना एल्बमको लागि पनि उनले काम गर्न थालिन्। 

सन् २००४ मा सार्वजनिक ‘प्रिती कौर’ नामक एल्बममा रहेको ‘धेरै पल्ट’ बोलको गीतले अझै धेरै दर्शक स्रोतासम्म जोड्यो। जसको शब्द तथा संगीत कुल पोखरेलको थियो।

त्यो वेला युट्युबको जन्म भइसकेको थिएन। रेडियो र केही टेलिभिजन थिए जहाँ नयाँ आएका गीतहरू बज्थे। बिक्री भएका क्यासेट र सिडी हेरेर यसका दर्शक कति भए, कतिले यो गीत सुने भनेर अनुमान गरिन्थ्यो।

‘धेरै पल्ट’ प्रितीको करिअरका लागि कोसेढुंगो सावित भयो। उनको आवाज मात्र होइन गीतको भिडियोमा उनको नाच र लगाएका कपडाकाे समेत चर्चा हुन्थ्यो। त्यो वेला उनलाई नचिन्नेहरू कमै थिए। उनको नाम थाहा नहुने, अनुहार नचिन्नेले पनि गीत भने सुनेका हुन्थे।

प्रिती भन्छिन्, 'कतिले त अहिले भेट हुँदा पनि त्यो वेलामा टेलिभिजन, रेडियोमा त्यो गीत पर्खेर बस्ने गरेको कुरा बताउनुहुन्छ। कतिले तपाईंले त्यो भिडियोमा लगाएको ड्रेस कस्तो राम्रो थियो भन्नुहुन्छ। म कतिको क्रस रहेछु भन्ने अहिले थाहा हुँदैछ।' उक्त गीतका लागि आफू कुल पोखरेलप्रति सधैँ आभारी रहेको उनी बताउँछिन्।

दाेस्राे इनिङ

छोटो समयमै नेपाली पप संगीतमा स्थापित भएकी उनको करिअरमा एक्कासी ब्रेक लाग्यो। विभिन्न व्यक्तिगत कारणहरूले गायन यात्रा रोकेकी उनी संगीतबाट भने टाढा थिइनन्।

उनी आफ्ना समकालीन सर्जकहरूको सिर्जना हेरिरहेकी थिइन्, नव आगन्तुक कलाकारलाई नियालीरहेकी थिइन्। नेपाली संगीतको ट्रेन्ड कसरी बदलिँदैछ, कस्ता कस्ता नयाँ प्रयोग भइरहेका छन्- उनी संगीतको दुनियाबाट अलिकति पर बसेर यी सबै कुरा हेरिरहेकी थिइन्।

दश वर्षपछि प्रितीले आफ्नो दोस्रो इनिङ शुरु गरेकी छन्। अझ भनौँ उनी घर फर्किएकी छन्।

टेलिभिजन युगकी चर्चित गायिका पुनरागमन गर्दा इन्टरनेट युग उत्कर्षमा छ। हरेक दिन एउटा नयाँ अनुहार चर्चित बन्ने र अर्को चर्चित अनुहार गुमनाम बन्ने यो युगमा पहिलेको लोकप्रियताले काम गर्दैन, जुन कुरा उनलाई थाहा छ, यो थाहा भएरै उनी फेरि फर्किएकी हुन्।

उनी भन्छिन्, 'मलाई थाहा छ त्यो वेलाको लोकप्रियताले अहिले काम गर्दैन। थाहा छ, सबै शून्यबाटै शुरु गर्नुपर्छ। सबै थाहा भएरै, बुझेरै म फर्किएकीँ हुँ। मलाई यो पनि थाहा छ, आश गरेर मात्रै हुँदैन, मेहनत धेरै गर्नुपर्छ। अनि मलाई यो पनि थाहा छ‚ मेरो लागि फेरि त्यो एक दिन अवश्य आउनेछ।'

पहिलाे तीज गीत

उनी पूर्वीय शास्त्रीय संगीतकी विद्यार्थी हुन्। तर श्रोता र गायकको रुपमा भने उनको झुकाव पश्चिमतिर बढी छ। पुनरागमनपछि प्रितीका रहर, चिम्लेर आँखा, तिम्रै लागि, के को शानलगायत गीत सार्वजनिक भएका छन्।

यीबाहेक गत हप्ता मात्रै ‘ढल्की ढल्की’ बोलको तीज गीत सार्वजनिक भएको छ। जुन उनको जीवनकै पहिलो लोक भाकाको गीत पनि हो।

प्रितीलाई दुई फरक विधाका संगीतको संयोजन गर्नु आधुनिक संगीतको सुन्दर पक्ष हो भन्ने लाग्छ। तर त्यसो भन्दैमा जबरजस्ती एउटा विधाको मर्ममै ठेस पुग्ने गरी भने मिश्रण गर्न नहुने उनी मान्छिन्।

प्रिती भन्छिन्, 'मादल सुनिराखेको मान्छेलाई तपाईंले सीधै गितार सुनाउनु मादलमाथि अन्याय हुन सक्छ। तर मादल र गितारको संयोजनमा बन्ने कुनै नयाँ धुन सुनाउनु भयो भने दुवै बाजा र कलाको लागि राम्रो हुन सक्छ जस्तो मलाई लाग्छ। म वेस्टर्न म्युजिक सुन्छु, गाउँछु। मेरो हरेक गायनमा वेस्टर्न फ्लेवर आउँछ। यही ढल्की ढल्कीमा पनि त्यो देख्न सकिन्छ।' 

आफ्नो लागि नयाँ विधा भएकाले ढल्की ढल्कीका लागि केही दिन अभ्यास गर्नु परेको उनी बताउँछिन्, 'यो मेरा लागि नयाँ विधा थियो। म्युजिक गरिराख्ने भनेर अठोट गरेपछि मलाई सबै खाले म्युजिक ट्राई गर्नु थियो। वेस्टर्न गाइराखेको बानी, एक्कासी तीज गीत गाउँदा नसक्ने पो हो कि भन्ने पनि लागेको थियो। केही दिन प्राक्टिस गरेँ। रेडी छु जस्तो लागेपछि रेकर्ड भयो। अहिले धेरैले मन पनि पराइरहनु भएको छ।'

चराकाे देश

झण्डै ७ दशकअघि भारतबाट नेपाल आएका प्रितीका बुवाआमा त्यसपछि यतै बसे। प्रिती पनि यतै जन्मिइन्, यतै हुर्किइन्। पछि उनी भारत गइन्, अमेरिका पनि गइन् तर गनेर ४ वर्ष पनि नेपालबाहिर टिक्न सकिनन्। उनलाई आफ्नो जरा यतै गाँसिए जस्तो लाग्छ। तर कानुनले जरा देख्दैन, भावनाका कुरा मान्दैन। 

कहिलेकाहीँ कसैले देशको बारेमा सोध्दा, नागरिकताको बारेमा सोध्दा उनलाई एकछिन सोच्नुपर्छ। आफैँलाई सोध्नुपर्छ, 'तिमीलाई थाहा छ देश भनेको के हो?' 

उसो त उनी सँधै हाँसेर, खुशी भएर जीउन मन पराउँछिन्। लिने नै हो भने कैयौं चिन्ता उनका पनि छन्, तर एकबारको जुनीमा हाँसेर, खुशी भएर, रमाएर बिताउनुपर्छ भन्ने उनको मान्यता छ। आफ्नो दुःख, चिन्ता, तनावको उपचार उनी आफैँ गर्छिन्। अहिलेसम्म उनी त्यसरी नै बाँचिन्‚ बाँकी जीवन पनि मुक्त पन्छी भएर बाँच्न चाहन्छिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.