गठबन्धनमा सिट बाँडफाँडको झमेला

|

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली राजनीतिमा माहिर खेलाडीमध्ये एक हुन्। माओवादी तेस्रो शक्तिको रूपमा स्थापित भइराख्दा उनले  त्यसको सदुपयोग गरेर सधैँ सत्ताकै वरिपरि घुमिरहेका छन्।

कहिले कांग्रेस त, कहिले एमालेसँगको सहकार्यमा हातमा सत्ताको चाबी आफैँ राखिरहेका छन्। अर्थात् सरकार गठनमा सधैँ निर्णायक हुन्छन्।

त्यसो त ०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेससँग सत्तामा रहेका प्रचण्डले संघ र प्रदेशको निर्वाचनमा एमालेसँग वाम तालमेलदेखि पार्टी नै एकतासम्मको च्याँखे थापे। जसले चुनावी नतिजामा फाइदै भयो तर पार्टी एकतासम्मको सहकार्य टिकेन।

केपी शर्मा ओलीसँग आलोपालो प्रधानमन्त्री र पार्टी अध्यक्षको सहमति गरेका थिए। तर, ओलीले सहमति लत्याएर प्रचण्डलाई दोस्रो अध्यक्षको दर्जामै सीमित राख्न खोजेपछि पार्टीभित्र विवाद चर्कियो।

एमालेकै पुराना नेताहरू माधव नेपाल, झलनाथ खनालसहित बहुमत आफ्नो साथमा ल्याएपछि प्रचण्डले नेकपाबाट ओलीलाई हटाए र संसदीय दलको नेतासमेत आफूलाई चयन गरेर प्रधानमन्त्रीको बाटो तय गरिसकेका थिए। तर, सर्वोच्च अदालतको नेकपा विवादमा अदालतले पार्टी नै अलग बनाइदियो। प्रचण्डको प्रधानमन्त्री बन्ने योजना तत्काललाई ब्रेक लाग्यो।

ओलीले दुई पटक प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्डले माधव नेपालको साथ लिएर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री अफर गरे। वाम गठबन्धनको कारणले २३ सिटमा खुम्चिएको कांग्रेसलाई प्रचण्डले सत्ताकाे चाबी बुझाए। अहिले त्यही सत्तालाई प्रयोग गरेर देउवाले कांग्रेसलाई पहिलो शक्तिको रूपमा स्थापित गरिसकेका छन्। 

प्रधानमन्त्रीको भोक !

ओली नेतृत्वको सरकार ढालेर देउवालाई सत्ताको चाबी सुम्पिएका प्रचण्डको लक्ष्य मंसिर ४ को निर्वाचनपनि प्रधानमन्त्री हो। उनले पछिल्लो समयमा सार्वजनिक कार्यक्रममा समेत त्यसको संकेत गरिरहेका हुन्छन्। 

असार १० गते काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भनेका थिए, ‘पहिलोचोटी प्रधानमन्त्री हुँदा त मलाई झिलिमिली झिलिमिलीमै गयो। दोस्रो पटक प्रधानमन्त्री हुँदा मैले साँच्चिकै धेरै चिज सुधार गर्ने प्रयास गरेको हूँ। अर्को पटक देशको नेतृत्व गर्ने अवसर पाउने हो भने देशलाई नयाँ युगतिर लैजानुपर्छ भन्ने सपना त मेरो मनभित्र छ।’

तर, प्रचण्डले गठबन्धनभित्र आलोपालोको प्रसंग कोट्याउनु स्वाभाविक भएको माओवादी नेता हरिबोल गजुरेल बताउँछन्।

‘अहिले शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्छ। अब यही गठबन्धनबाट निर्वाचनमा गएपछि सत्ताको नेतृत्वको दाबी गर्नु स्वभाविक हो। तर, अहिले सिट बाँडफाँडको बिषय टुंगिएको छैन। सिटको समस्या समाधान भइसकेपछि नेतृत्वको बिषयमा पनि छलफल हुन्छ’ उनको भनाइ छ।​

गठबन्धनमा किचलो

सत्ता गठबन्धनमा सिट बाँडफाँटको बिषयमा गठबन्धनमा सकस परेको छ। मोडालिटी तयार गर्न गठन भएको सत्ता गठबन्धनको कार्यदल बैठक पटक पटक बसेपनि निष्कर्षविहीन बनेको छ। गठबन्धनमा रहेका दलहरूले प्रतिनिधिसभामा कांग्रेसले १००, माओवादी केन्द्र ६०, नेकपा एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटको दाबी गरेका छन्।

१६५ सिटमा गठबन्धनका दलले २३४ सिटको दाबी प्रस्तुत गरेपछि ७९ सिटमा कुरा मिल्न सकेको छैन। कुनै पनि दलहरू आफ्नो अडानबाट पछि हट्न तयार नभएपछि कार्यदल असफल भएर भागबण्डाको जिम्मा शीर्ष तहलाई दिन खोजेको छ। तर, ठोस सहमति बन्न सकेको छैन।

गठबन्धनभित्र सिट बाँडफाँडमा सकस चुलिइरहेका बेला प्रचण्डले कांग्रेसले धोका दिएमा गठबन्धनभित्रै वामपन्थी मिलेर भएपनि तालमेल गर्नुपर्ने बताउन थालिसकेका छन्।

‘हामी यो चुनावमा कांग्रेससँगै गठबन्धन गरेर जानुपर्छ। त्यसबाट दायाँबायाँ हुने अवस्था छैन। कांग्रेसले धोका दिएमा गठबन्धनभित्रै वामपन्थी मिलेर भएपनि तालमेल हुन्छ’ प्रचण्डको भनाइ छ।​​

उनले चुनावमा वामपन्थी भित्रको पहिलो शक्ति हुने सम्भावना रहेकाले त्यसको तयारीमा राख्न निर्देशन दिइसकेका छन्। तर, प्रचण्डले भागबण्डाको विवाद बल्झिँदै जाँदा गठबन्धनमा कुरा मिल्न सहज नभएको बताएको एक नेताले बताए।

प्रचण्डले मात्रै नभएर कांग्रेसका संस्थापन इतरका नेताहरू पनि १०० सिटभन्दा तल घटेर तालमेल गर्न नहुने पक्षमा छन्।

संस्थापन इतरका नेता अर्जुननरसिंह केसी भन्छन्, ‘हामीले हाम्रो अवस्थाबारे नेतृत्वलाई स्पष्ट रूपमा जानकारी गराइसकेका छौँ। सिट बाँडफाँडको मापदण्ड बन्न सकेको छैन। मापदण्ड बनेपछि अरूले भनेको जस्ता आधा आधाको प्रस्ताव हामीलाई स्वीकार्य छैन।’

मापदण्ड अनुसार दुई चार सिट तलमाथि हुनसक्ने भएपनि पेलेर जान खोजे परिणाम नराम्रो आउनसक्ने चेतावनीसमेत दिए।

त्यसो त कांग्रेसकी सांसद पार्वता जिसी चौधरीले माओवादीसँगको गठबन्धनले देश र पार्टी दुवैको हित नगर्ने बताउँछिन्।

संसद बैठकमा बोल्दै उनले भनिन्, ‘म प्रधानमन्त्री शेरबहादुर देउवालाई भन्न चाहन्छु। अपवित्र गठबन्धन गर्नु जनतासँगको बेइमानी हो। आगामी निर्वाचनमा एक्लै निर्वाचनमा जाने घोषणा गरौँ। कांग्रेसलाई ठूलो पार्टी बन्न कसैले रोक्न सक्दैन।’

उनले देउवालाई जीवनको अन्तिम समयमा एउटा राम्रो काम गर्न भन्दै राम्रो काम नगरे भावी पुस्ताले सराप्ने उनको भनाइ छ। नेताहरूले देउवालाई गठबन्धनविरूद्ध उक्साएपनि उनी पछि हट्ने पक्षमा छैनन्।

उनी ०७४ सालमा झैँ फेरि एमाले र माओवादी मिले आफूहरूलाई लाग्नसक्ने धक्काबारे सचेत छन्। शेखर कोइराला पक्षले दबाब बढाएपनि भागबण्डामा लचक भएर गठबन्धन जोगाउने पक्षमा सचेत छन्। 

जित्न अर्काकै आड

प्रचण्ड अहिले एमालेविरूद्धको सत्ता गठबन्धनलाई नै चुनावमा लिएर जाने पक्षमा छन्। तर, भागबण्डाको बिषयलाई लिएर केही असन्तुष्टिका स्वरहरू सुनिन थालेको छ।

०७४ सालमा एमालेसँग गठबन्धन गरेर चितवन ३ बाट चुनाव जितेका प्रचण्डलाई अहिले त्यति सहज छैन। उनले एमालेले कांग्रेससँग तालमेल गरेका राप्रपाका विक्रम पाण्डेलाई ९ हजार २४१ मतले पराजित गरेका थिए। प्रचण्डले ४८ हजार २७६ मत ल्याउँदा पाण्डेले ३८ हजार ९३५ मत मात्रै ल्याएका थिए।

अहिले पनि त्यही क्षेत्रबाट चुनाव लड्ने घोषणा गरेका प्रचण्डलाई जित त्यति सहज नभएको आँकलन हुन थालेको छ। प्रचण्डविरुद्ध एमाले लागेको बेलामा प्रचण्डले कांग्रेससँगको गठबन्धन नजोगाए हार निश्चित छ।

त्यसैले आगामी निर्वाचनमा प्रचण्ड आफैँ जित्नलाई पनि प्रचण्डले यही गठबन्धन या एमालेसँग मिल्नुपर्ने बाध्यता छ। 

गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतलाई विश्लेषण गर्दा प्रचण्डलाई गठबन्धन अत्यावश्यक देखिन्छ। एमालेको २९ हजार ८५१ र कांग्रेसको २९ हजार ३४३, माओवादी १० हजार ९४०, राप्रपाको ६ हजार १९८ र एकीकृत समाजवादीको ५ हजार ०३७ मत रहेकाे छ। 

‘सरप्राइज’ प्रधानमन्त्री !

त्यसो त सत्ता गठबन्धनमा सिट बाँडफाँडको प्रयास भइरहेको बेलामा एमाले र माओवादी केन्द्रका नेताहरूले  वाम गठबन्धनको गृहकार्य गरिरहेका छन्।

एमाले महासचिव शंकर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ, घनश्याम भुसाल, पृथ्वीसुब्बा गुरूङ, रघुजी पन्तलगायत नेताहरूले वामपन्थी एकताबारे पार्टी नेतृत्वलाई दबाब बढाइरहेका छन्।

माओवादीमा पनि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित देव गुरूङ, वर्षमान पुन, शक्ति बस्नेतलगायत नेताहरू एमालेसहितको वामपन्थी एकतामा जोड दिइरहेका छन्। दुवै दलका दोस्रो तहका नेताहरू आन्तरिक छलफलमा रहेकाले प्रचण्डलाई प्रधानमन्त्री बनाउनेगरी वाम गठबन्धनको ‘सरप्राइज’ दिनसक्ने चर्चा पनि चलिरहेको छ।

चौतर्फी दबाबमा परेका ओलीले प्रचण्डलाई प्रधानमन्त्रीको रूपमा अगाडि सारेर जानसक्ने विश्लेषण भइरहेको छ। यसअघि ०७४ सालको वाम गठबन्धनमा ओलीलाई प्रचण्डले प्रधानमन्त्री बनाएका थिए।

दुवै तहका नेताहरूले वाम गठबन्धनको पहल गरिरहेका बेला प्रचण्डले भने अहिलेकै गठबन्धन लिएर जाने बताएका छन्।

पार्टीको उपत्यका प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘जबसम्म प्रतिगमनकारी प्रवृत्ति परास्त हुँदैन, प्रतिगमनकारीले आफूलाई पश्चातापमा खियाउँदैन, यही गठबन्धन लिएर चुनावमा जान्छौँ। अर्काे बन्न सम्भव छैन। कोही भ्रममा नपर्नुहोला।’

उनले तत्काल वाम गठबन्धन बन्ने सम्भावना नरहेको समेत प्रष्ट पारे।

यता, एमालेका महासचिव शंकर पोखरेल भने स्थानीय तहमा तालमेल गरेर जान सदैव खुला रहेको तर्क गर्छन्।

काठमाडौंमा आयोजित ‘पत्रकारसँग अन्तरसम्वाद’ कार्यक्रममा बोल्दै उनले भने, ‘आगामी निर्वाचनमा गठबन्धनको सन्दर्भमा हाम्रो स्पष्ट नीति छ। हामी कुनै पनि प्रकारको गठबन्धनको पक्षमा छैनौँ। हामी आफ्नो नीतिको आधारमा निर्वाचनमा प्रस्तुत हुन गइरहेका छौँ। स्थानीय तहमा तालमेल हुनसक्छ। तालमेलका बारेमा हामी सदैव खुला छौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.