|

इलाम :  नीलो र सेतो टोपीमा सजिएका उनीहरूको घाँटीमा इरानी क्लब एस्तेगल तेहरानको झण्डा थियो। कसै–कसैले आफ्नो गालामा मन पर्ने खेलाडीको जर्सी नम्बर समेत लेखेका थिए।

इरान प्रो लिग अन्तर्गत एस्तेगल र मेस केरमानबीचको बिहीबारको खेल शुरु हुनुभन्दा अघि नै महिला फुटबल समर्थक खेलमैदान बाहिर आक्रोशित अवस्थामा थिए। ४ दशकपछि पहिलो पटक महिलालाई लिग फुटबल खेलमा दर्शकको रूपमा हेर्न अनुमति दिइएको थियो।

त्यसको २४ घण्टाअघि मात्रै युवा तथा खेलकुद मन्त्रालयले महिलाका लागि २८ हजार टिकट उपलब्ध हुने घोषणा गरेको थियो।

यद्यपि किकअफको समय प्यारापिटमा करिब ५ सय महिला मात्र थिए। उनीहरूमध्ये धेरै जसो खेलाडीका श्रीमतीहरू थिए। इरानको नेतृत्वले चयन गरेका महिलाहरूलाई मात्र टिकट किन्न अनुमति दिइएको थियो। यस्तोमा एस्तेगल फ्यान सारा (नाम परिर्वतन) जस्ता अन्य महिलाहरूले टिकट पाउने कुनै सम्भावना थिएन।

‘टिकट किन्न नसक्दा म कति दुःखी छु भनेर तपाईं कल्पना गर्न सक्नुहुन्न’, साराले भनिन्, ‘तिनीहरूले बेचेका टिकटको संख्या एकदम कम थियो। उनीहरूले आफन्तहरूलाई धेरै टिकट दिए।’

इरानमा सन् १९७९ को इस्लामिक क्रान्तिपछि फुटबल खेल्न अनुमति दिइएको थियो। त्यसको २ वर्षपछि सन् १९८१ देखि इरानमा महिलालाई पूर्ण रूपमा रंगशाला प्रवेश रोक लगाइएको थियो। बारम्बार रंगशाला प्रवेशको माग उठे पनि इरान सरकार कठोर बन्दै सुनुवाइ गरेको थिएन।

तर ८ सेप्टेम्बर २०१९ इरानको राजधानी तेहरानको आजादी रंगशाला बाहिर घटेको त्यो आत्मदाहले विश्व फुटबल महासंघ (फिफा) लाई नै ध्यानाकर्षण गराउन सफल रह्यो।

इरानी महिला फुटबल फ्यान शहर खोदायारीले अदालतसामु त्मदाह गरिन्। खोदायारी मार्चमा भेष बदलेर इरानको राजधानी तेहरानको आजादी रंगशाला आफनो प्रिय क्लब एस्तेगलको खेल हेर्न पुगेकी थिइन्।

‘ब्लु गर्ल’ अर्थात ‘नीलो केटी’ को उपनामले चिनिएकी उनी नीलो नक्कली कपाल र ओभरकोट लगाएर पुरुषको भेषमा रंगशाला छिरेकी थिइन्। उनलाई पक्राउ गरेर तत्काल जमानतमा छाडिएको थियो। उनी माथि ‘पवित्र कानूनको उल्लंघन, अनैतिक व्यवहार र कानूनका संरक्षकको अपमान’ गरेको आरोप लगाइएको थियो।

पछि ६ महिना कैद हुने भएपछि अदालतअगाडि नै उनले पेट्रोल छर्किएर आत्मदाह गरिन्। उनको गृहनगर कोम नजिकै उनको अन्त्येष्टि गरिएको थियो। उनको परिवारलाई उपस्थित हुन प्रतिबन्धका साथै अन्त्येष्टिमा कुनै पनि रिपोर्ट बाहिर ल्याउन निषेध थियो।

खोदयारीको कथा सामाजिक सञ्जालमा भाइरल भयो। इरानमा महिला उत्पीडनविरुद्धको विरोधको प्रतीक एस्तेगलको क्लब रङका कारण उनी 'ब्लु गर्ल' भनेर चिनिन थालिन्।

उनको त्यागको सर्वत्र चर्चा मात्र भएन‚ इरानी फुटबलमा रंगशालामा गएर महिलाले पुरुष फुटबल हेर्न पाउने अवसरको बाटो खोलेको थियो। उनको सम्झनामा केही युरोपेली महिला टोलीका खेलाडीहरूले प्रतियोगिताका क्रममा पाखुरामा नीलो पट्टी बाँधेर विरोध समेत गरेका थिए।

घटनापछि फिफाले समेत व्यापक आलोचना खेप्नुपर्‍यो। कतिपयले इरानको फुटबल संघलाई निलम्बन गर्न अथवा प्रतिबन्ध लगाउन माग समेत गरे। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पनि यस विषयमा ध्यानाकर्षण गरायो।

अध्यक्ष जियानी इन्फान्टिनो केही हप्तापछि तत्कालीन राष्ट्रपति हसन रुहानी र इरानको फुटबल महासंघ इस्लामिक रिपब्लिक अफ इरान (एफएफआइआरआई) का तत्कालीन अध्यक्ष मेहदी ताजसँग वार्ताका लागि तेहरान गएका थिए।

घटनापछि फिफाले महिलाहरूलाई रंगशाला प्रवेशका लागि अनुमति दिनुपर्ने बताएको थियो। विज्ञप्ति जारी गर्दै फिफाले भनेको थियो‚ ‘फिफाले आफ्नो दृढ र स्पष्ट अडानलाई दोहोर्‍याएको छ कि महिलाहरूलाई फुटबल खेलहरूमा स्वतन्त्र रूपमा प्रवेश गर्न अनुमति दिनुपर्छ र रंगशालामा उपस्थित हुने महिलाको संख्या मागको आधारमा निर्धारण गरिन्छ, जसको परिणामस्वरूप टिकट बिक्री हुन्छ।’

फिफाले सन् २००६ मा इरानको एफएलाई कानुनको पालना नगरेको भन्दै निलम्बन गरेको थियो। फुटबल मामिलामा सरकारी हस्तक्षेपका लागि पहिलो पटक सन् २००६ मा लगाइएको प्रतिबन्ध केही हप्ता पछि हटाइएको थियो।

फिफाको नियमको विपरीत इरान फुटबल संघको विधानको आवश्यक नयाँ संस्करणको मस्यौदा त्यस समयमा महासंघको मामिलामा राजनीतिक हस्तक्षेप भएको, इरानको सरकारी टेलिभिजनमा पूर्व टिभी खेलकुद प्रस्तोता मोहम्मद हेरानीले बताए। इरानी संसद्ले कुनै पनि समयमा एफएफआइआरआई को स्वायत्तता स्वीकार नगरेको हेरानीले आरोप समेत लगाए।

फिफाको अघिल्लो दबाबमा पुरातन रुढीवादी समूहले अन्तरराष्ट्रिय खेलहरूमा महिला प्रशंसाका लागि रंगशालाका गेट खोल्न अनुमति दिएका थिए।

सन् २०१९ मा दशकौंपछि पहिलो पटक, एसियाली च्याम्पियन्स लिग फाइनलको लागि, सयौं इरानी महिलालाई तेहरानमा पर्सेपोलिस र जापानको काशिमा एन्टलरबिचको खेले हेर्न अनुमति दिइएको थियो। गत जनवरीमा आजादी रंगशालामा २ हजारभन्दा बढी महिला दर्शकले विश्वकप छनौट अन्तर्गत इराकविरुद्ध इरानको खेल हेरेका थिए।सो खेलमा इराकलाई हराउँदै इरानले लगातार तेस्रो पटक विश्वकपको लागि छनौट भएको छ। इरानी महिलाहरूले स्टेडियममा हेरेको यो दोस्रो ठूलो फुटबल कार्यक्रम थियो।

यद्यपि मार्चमा इरानी अधिकारीहरूले पवित्र शहर मशादमा इरान र लेबनानबीचको अन्तिम २०२२ को विश्वकप छनोट खेलमा सहभागी हुन महिलालाई रोक लगाए।

त्यतिवेला इरानी मिडियाले १२,५०० टिकट अनलाइन बिक्री भएको बताएका थिए, तीमध्ये २,००० महिलाका लागि आरक्षित गरिएको थियो। तर देशका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीद्वारा नियुक्त प्रभावशाली शुक्रवार प्रार्थना अगुवा अहमद अलामोल्होदाले पुरुष खेलकुद प्रतियोगितामा दर्शकको रूपमा महिला उपस्थितिको विरोध गर्दै यसलाई 'अभद्रता' भने।

जब उनीहरू मशादको इमाम रेजा रंगशालामा पुगे, उनीहरूले आफूलाई प्रवेश निषेध गरेको पाए। महिलाहरूले प्रतिबन्धको विरोध गर्न थालेपछि प्रहरीले उनीहरूमाथि पिपर स्प्रे प्रयोग गरेको थियो। सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोले महिलाहरू पियर स्प्रेको प्रभावबाट पीडित भएको देखिन्छ।

ह्युमन राइट्स वाच (डब्लुएचआर) ले इरानी अधिकारीहरूले सयौं महिला दर्शकलाई विश्वकप छनोट खेलबाट बाहिर निकालेको घटनाको आलोचना समेत गरेको थियो। महिलाहरूलाई रंगशाला प्रवेशमा निषेधका कारण दोस्रो पटक प्रतिबन्धको खतरा रहेको हेरानीलाई उद्धृत गर्दै अन्तरराष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन्।

फिफाले रंगशालामा महिला समथर्कको उपस्थितिको प्रशंसा गर्‍यो। ‘फिफा तेहरानमा भएको लिग खेलमा केही महिलालाई उपस्थित हुन अनुमति दिएको कुरा सुनेर खुसी भएको छ र सही दिशामा यो कदमको लागि फुटबल र सरकारी अधिकारीहरूको प्रशंसा गर्दछ’,  फिफाले भन्यो।

ओपन स्टेडियमकी सदस्य सारा (नाम परिर्वतन) ले भनिन्, ‘फुटबल एउटा खेल हो जसले देशमा साँच्चै कठिन परिस्थितिको सामना गरिरहेका मानिसहरूलाई आशा दिन्छ। हामी यसलाई परिवर्तनको औजारको रूपमा प्रयोग गर्छौं। विशेष गरी महिला अधिकारका लागि हामी खेलकुदलाई समाजमा महिलाको ठाउँहरू खोज्न प्रयोग गर्छौं।’

सारा लगायत ओपन स्टेडियमका अभियन्ताहरू इरान फुटबल संघको प्रतिबन्ध चाहँदैनन्। सबै आलोचना हुँदाहुँदै पनि सारा र अन्य फुटबल प्रशंसकका लागि, स्ट्यान्डमा ५ सय महिलाहरूसँग बिहीबारको खेलले आशाको किरणलाई प्रतिनिधित्व गर्दछ।

साराले भनिन्, ‘हामी यो (महिलाहरू खेल्न जाने) सिनेमामा जाने जस्ता सामान्य कुरा बन्न चाहन्छौं। निश्चित रूपमा हामी फिफासँग कुरा गर्न जारी राख्नेछौँ र उनीहरूले इरानको एफएलाई यसबाट पछि नहट्न दबाब दिनेछन्।’

अन्तरराष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.