टेकुको इमर्जेन्सीमा दैनिक २ सयभन्दा बढी ज्वरोका बिरामी

|

काठमाडौं : डेंगुका बिरामी बढेसँगै काठमाडौं उपत्यकाका ठूला अस्पतालमा ज्वरोका बिरामीको घुइँचो लाग्न थालेको छ। 

यसमा पछिल्लो समय टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ज्वरोका बिरामीको भीड थेगिनसक्नु रहेको छ। केही दिनयता अस्पतालको इमर्जेन्सीमै दैनिक २ सयभन्दा बढी बिरामी डेंगुको लक्षण देखिएर उपचार गर्न आउने गरेको र उपचारमा आएकामध्ये अधिकाशंमा डेंगु पोजेटिभ देखिएको अस्पतालका इमर्जेन्सी इन्चार्ज लिलानाथ भण्डारीले बताए।

‘दैनिक २ सयभन्दा बढी बिरामी मात्रै इमर्जेन्सीमा आउनु हुन्छ, बिरामीको चाप यति छ कि बेड नपुगेर एउटै बेडमा दुई तीनजना राखेर उपचार गर्नुपर्ने अवस्था आएको छ। यसरी आएकामध्ये लगभग सबैमा डेंगु पोजेटिभ देखिएको छ, अहिले  उपचार गर्न आउने डेंगुका बिरामीको घुइँचो यति छ कि थेग्नै हम्मेहम्मे परेको अवस्था छ'‚ उनले भने।

हाल अस्पतालमा रहेको इमर्जेन्सी र सहित जनरल बेड सबै डेंगुका बिरामीले भरिएको समेत उनले बताए। ‘अस्पतालमा भएको सबै खालको बेड डेंगुका बिरामीले भरिएको छ तर धेरै बिरामी केही घन्टा बसेर सलाइन चढाएर जाने गर्नु भएको छ’‚ उनले भने।

इमर्जेन्सी मात्रै नभएर टेकु अस्पतालको ओपिडीमा समेत डेंगुको लक्षण लिएर जाने बिरामीको भीड धेरै रहेको अस्पतालका ओपिडी इन्चार्ज शंखर पाण्डेले बताए। ‘अस्पतालमा ज्वरो आयो भन्दै परीक्षणमा आउने बिरामीको संख्या थेगिनसक्नु भएको छ। यसरी उपचारमा आएका लगभग सबैमा डेंगु पोजेटिभ देखिएको छ’‚ पाण्डेले भने।​

अहिलेको अस्पतालमा आएका बिरामी र यसरी आएकामध्ये धेरैमा देखिएको डेंगु संक्रमणले २०७६ सालमा काठमाडौं उपत्यकामा लिएको डेंगुको प्रकोपको झझल्को देखिएको समेत उनले बताए।

स्मरण रहोस् २०७६ मा काठमाडौं उपत्यकासहित देशभर गरेर १९ हजारलाई डेंगु ज्वरो देखिएको थियो भने ६ जना संक्रमितको मृत्यु भएको थियो। त्यतिखेर धरानबाट फैलिएको डेंगु पछि देशभर फैलिएको थियो डेंगु बढ्दै जाँदा त्यतिखेर धरानलाई महामारी क्षेत्र घोषणा गरिएको थियो।

यस्तै योपटक सबैभन्दा धेरै डेंगु संक्रमित ललितपुरमा लेखिएका छन्। हाल देशभर चार हजार १०४ जनामा डेंगु देखिदा ललितपुरमा मात्रै एक हजार ६०० जनामा संक्रमण देखिसकेको छ। डेंगुका बिरामी बढ्दै जाँदा हाल ललितपुरस्थित पाटन अस्पतालमा दैनिक डेढ सयभन्दा बढी ज्वरोका बिरामी पुग्ने गरेको र यसरी पुगेका मध्ये दिनमै ८०/९० जनामा डेंगु पुष्टि हुने गरेको अस्पतालमा निर्देशक डा. रवि शाक्यले बताए। उनले भने‚ ‘अहिले हाम्रो अस्पताको ओपिडी तथा इमर्जेन्सीमा दैनिक डेढ सयभन्दा बढी ज्वरोका बिरामी आउने गर्नु हुन्छ। यसरी आउनु भएकामध्ये ८०/९० जनामा त डेंगु देखिने गरेको छ।‘

यस्तै गत साउन १ गतेदेखि हालसम्म पाटन अस्पतालमा परिक्षण गर्न आउनेमध्ये ११ सय जनामा डेंगु पुष्टि भएको समेत डा. शाक्यले बताए।

यता वीर अस्पतालमा समेत डेंगुका बिरामी उपचारमा आउने क्रम बढ्दै गएको अस्पतालले जनाएको छ। वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकृतमा डा. भूपेन्द्र बस्नेतका अनुसार हालदैनिक सयभन्दा बढी ज्वरोका बिरामी परीक्षणमा आउने र यसरी आएकामध्ये अधिकांशमा परीक्षण गर्दा डेंगु पुष्टि हुने गरेको छ।

डा. बस्नेतले भने‚ ‘हाल हाम्रोमा २५ जना डेंगुका बिरामी भर्ना गरेरै उपचार गरिरहनु भएको छ भने दैनिक सयभन्दा बढी ज्वरोका बिरामी परीक्षण गराउन आउने गर्नु भएको छ।‘

यस्तै पछिल्लो २ हप्ता यता वीर अस्पतालमा ज्वरो आएर परीक्षण गर्न जानेमध्ये ५ सय जनामा डेंगु देखिएको समेत डा. बस्नेतले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.