|

धनगढी : पूर्वमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता प्रेमबहादुर आले सोमबार गृहजिल्ला डोटी पुगे। डोटी विमानस्थलमा निर्माण हुने टर्मिनल भवनको शिलान्यासका लागि आले त्यहाँ पुगेका थिए। उनले डोटीको दीपायलमा राजधानी राख्न आफूले न्वारानदेखिको बल लगाएको दाबीसमेत गरेका छन्।

सरकारले संसदीय निर्वाचन अन्तर्गत मंसिर ४ मा संघ र प्रदेशको एकैपटक चुनाव गर्ने घोषणा गरेका वेला आले गृहजिल्ला केन्द्रित भएका छन्। आलेले आफू सरकारमा भएका वेला गरेका कामको अनुगमन तथा शिलान्यास गरिरहेका छन्।

सोमबार (आज) मात्रै उनले ५ करोड रूपैयाँभन्दा बढी बजेटमा बन्ने विमानस्थलको टर्मिनल भवनको शिलान्यास गरेका हुन्।   

शिलान्यासका अवसरमा उनले आफू मन्त्री हुँदा गरेका काम सार्वजनिक गरेका छन्। उनले आफूले डोटीको दीपायलमा राजधानी राख्न  भरमग्दुर प्रयास गरेको दाबी गरेका छन्।

उनले आफूले २०७४ सालमा प्रतिनिधिसभा सदस्यमा डोटीबाट जित्ने वेला नै दिपायलमा राजधानी भएन भने सांसद पदबाट राजीनामा दिने बताएको दाबी गरे। तर राजीनामा गर्ने भने पनि नगरेको उनले बताए। 

‘राजीनामा दिन्छु भनेर त्यो वेला नै भनेको थिएँ। म अहिले फेरि भन्न चाहन्छु, मैले कुन सन्दर्भमा भनेको थिएँ भन्दा जब हामी त्यो वेला निर्वाचित भयौं। निर्वाचित भइसकेपछि त्यो वेला हाम्रो पार्टीका अध्यक्ष हुनुहुन्थ्यो कमरेड केपी शर्मा ओली। नेकपाको बहुमत पनि आएको थियो र, मैले आफैं गएर बालकोटमा ओलीलाई भेटेर दीपायल भनेको सेन्टर पोइन्ट हो। सुदूरपश्चिमको केन्द्रबिन्दु हो। त्यहीँ राजधानी राख्नुपर्छ भनेर उहाँलाई भनेको थिएँ’, आलेले भने, ‘उहाँ (ओली) ले त्यहीअनुरुप मलाई हामी सरकारमा गएपछि हामी त्यो गर्नेछौं भनेर वचन पनि दिनुभएको थियो। त्यतिमात्र नभएर तत्कालीन नेकपाका नेता माधव कुमार नेपाल, प्रचण्ड जीलाई समेत भेटेर राजधानी दीपायलमा राख्नुपर्छ भनेर मैले भनेको थिएँ। उहाँहरू पनि सकरात्मक हुनुहुन्थ्यो। तर दुर्भाग्यवश नेकपाको सरकार नबन्दै अस्थायी राजधानी घोषणा भयो।’

आलेले अस्थायी राजधानी घोषणा गरिएपछि पनि आफूले प्रयास गरेको दाबी गरे। उनले नेताहरूलाई भेटेरै राजधानी सार्न आग्रह गरेको सुनाए।

‘अस्थायी राजधानी घोषणा भइसकेपछि प्रदेशसभाको शपथग्रहण भयो,’ उनले भने, ‘हाम्रै यहाँका त्रिलोचन भट्ट मुख्यमन्त्री भइसकेपछि धनगढीबाट अस्थायी राजधानीलाई दीपायल सार्न कम्तिमा दुई तिहाइ बहुमत सांसद चाहिने अवस्था भएको हुनाले त्यो सम्भव हुन सकेन। तर म छातीमा हात राखेर भन्न चाहन्छु, त्यो वेला पनि मैलै भरपुर प्रयास गरेको थिएँ। नेताहरूलाई मैले भनेको थिएँ। तर त्यो वेला हाम्रो  सरकारै नभएर राजधानी पहिले नै तोकियो।’

तत्कालीन नेकपाबाट निर्वाचित भएका कैलाली र कञ्चनपुरका सांसदले पहाडमा राजधानी ल्याउन सहमति नदिएपछि राजधानी गोदावरीमा बनाउने निर्णय भएको उनको जिकिर छ। यसलाई उनले डोटी र डोटेलीको लागि दुर्भाग्य भएको बताएका छन्। 

अहिले धनगढीबाट सरेर गोदावरीमा राजधानी आएको तर संरचना बन्न नसकेको उनले जनाए। संरचना निर्माणका लागि पनि दलहरूसँग छलफल अगाडि बढाएको उनको दाबी छ। गोदावरीमा वन जंगलका कारण राजधानीका संरचना निर्माणमा बाधा पुगेको उनको ठहर छ। 

खप्तडको विकासमा पहल गरेको दाबी

आलेले सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तडको विकासका लागि आफूले पहल गरेको दाबी गरेका छन्। सुन्दर खप्तडको अवस्था नाजुक रहेको भन्दै खप्तडमा ध्यान केन्द्र बनाउनका लागि बजेट विनियोजन गर्न लगाएको उनले बताए।

त्यतिमात्रै नभएर बडिकेदारका लागि पनि उनले आफू मन्त्री हुँदा ९ करोड बजेट विनियोजन गरेर अहिले त्यसका लागि काम भइरहेको बताए। पर्यटन विकासमा टेवा पुगाउन बुडरमा रहेको छहरा झरनाका लागि पनि ८ करोड बजेट विनियोजन गराएको उनले बताए।

आले अहिले तत्कालीन नेकपामा रहेको एमाले छाडेर माधव नेपालको एकीकृत समाजवादीमा रहेका छन्। उनी डोटीबाटै फेरि संघमा चुनाव लड्ने तरखरमा पनि छन्।

उनी हालको सरकारको मन्त्रिपरिषदमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पनि बनेका थिए तर छोटो समयमै उनलाई पार्टीले फिर्ता बोलाएको थियो।

त्यसअघि केपी ओलीको मन्त्रिपरिषदमा पनि उनी वनमन्त्री रहेका थिए। २०७४ को आम चुनावमा उनी डोटीबाट निर्वाचित भएका थिए। उनले नेपाली काँग्रेसका हालका प्रदेश सभापनि वीरबहादुर बलायरलाई हराएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.