बालुवाटार र खुमलटारको स्वार्थमा बालकाेट ‘इन्ट्री’

|

काठमाडौं : मंसिर ४ गते हुने निर्वाचनको लागि प्रतिनिधिसभाको सिट बाँटफाँटमा गठबन्धन जुटेको महिना बित्न लाग्यो। तर गठबन्धनले अहिलेसम्म सिट बाँडफाँटको मापदण्डसमेत बनाउन सकेको छैन। 

गठबन्धनका शीर्ष नेताले सिट बाँटफाँट कार्यदललाई र कार्यदलले शीर्ष तहलाई जिम्मेवारी सुम्पिनुबाहेक गठबन्धनमा सहमतिको ठोस सहमति बन्न सकेको छैन। 

तर गठबन्धन बैठक होस् या कार्यदलको बैठकबाट निस्कने क्रममा कांग्रेस नेता तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले दिने एउटा रेडिमेड जवाफ हो- अन्तिम चरणमा पुगिसक्यौँ। केही दिनमा टुंगो लाग्छ। 

उनले दिएको जवाफजस्तै अहिल्यै गठबन्धनमा सिट बाँडफाँटको विषयमा कार्यदलले शीर्ष तहको निर्देशनअनुसार काम गर्न सकेको छैन। 

तर गठबन्धनको सिट बाँडफाँटका लागि गठित कार्यदलले संघ र प्रदेशको सिट बाँडफाँटको संख्याका साथै निर्वाचन क्षेत्रको पनि एकैसाथ टुंगो लगाउने गरी गृहकार्यमा जुटेको उनी बताउँछन्। 

उनी भन्छन्, ‘हामीले सिट संख्याका साथै निर्वाचन क्षेत्रको बाँडफाँटका विषयमा पनि छलफल गरिरहेका छौँ। न्यायोचित, सम्मानजनक र सबैले जितेको भावनाका साथ सिट बाँडफाँट हुन्छ। हामी अहिले त्यसकै गृहकार्यमा छौँ।’

तर गठबन्धन दलले आ-आफ्नो अडानबाट पछि नहट्दा सिट बाँडफाँटमा समस्या भएको माओवादी केन्द्रका सचिव दिलानाथ शर्मा बताउँछन्। 

उनी भन्छन्, ‘गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेस हो। उसले सबैभन्दा धेरै मागेको कारणले समस्या भएको छ। सत्ता र गठबन्धनको नेतृत्व गरिरहेको पार्टीले सबैलाई चित्त बुझाएर अघि बढ्नुपर्छ।’

कांग्रेस मात्रै नभएर गठबन्धनमा सिटको भागबण्डा मिलाउन सबै लचिलो हुनुपर्ने उनको भनाइ छ। 

त्यसो त गठबन्धनमा पछिल्लो पटक कांग्रेसलाई लोसपासहित ९० सिट, माओवादीलाई बाबुराम भट्टराई, महिन्द्रराय यादव, वामदेव गौतमसहित ४४ सिट, नेकपा एकीकृत समाजवादीलाई १८, जसपालाई १२ र राष्ट्रिय जनमोर्चालाई १ प्रस्ताव गरिएको छ।

तर त्यो प्रस्तावमा माधव नेपाल र उपेन्द्र यादव चर्को रुपमा असन्तुष्टि पाखेका छन्। 

अध्यक्ष नेपालले गठबन्धनभित्र कांग्रेसले हैसियतभन्दा धेरै दाबी गरेको आरोप लगाइरहेका छन्। उनले अरु दलहरूले सबै सिट लिएर आफूहरूलाई उब्रिएको दिन खोजेको भन्दै त्यसमा सह्य नहुने अभिव्यक्ति सार्वजनिक रुपमै दिइसकेका छन्। 

विराटनगरमा पुगेर गत शनिबार उनले भनेका थिए, ‘कांग्रेसमा अहंकार देखिएकाले सिट बाँडफाँट टुंगो लाग्न सकेको छैन। उब्रिएको तिमीहरू बाँड भन्छ। ०७४ को निर्वाचनमा २३ सिट जितेको कांग्रेसलाई ३ गुणा अर्थात ६९ सिटभन्दा धेरै दिन सकिँदैन। हामीले एउटा सिट थपेर ७० दिउँला भन्दैछौं।’

उनले गठबन्धनमा सहमति नभएर आफू एक्लै जान तयार भएको दाबी गर्दै आइरहेका छन्। त्यसो त प्रचण्डले गठबन्धनको बैठकमा कांग्रेसलाई आधा आधा सिटको प्रस्ताव गरेका थिए। तर प्रचण्डको प्रस्तावमा कांग्रेस सकारात्मक छैन। 

बालुवाटार र खुमलटारको स्वार्थ 

देउवा र प्रचण्डबीच सिटको मात्रै नभएर चुनावपछि सरकारको नेतृत्व गर्ने भन्ने विषयमा पनि विवाद भइरहेको छ। आइतबार मात्रै गठबन्धनको बैठक बस्नुअघि देउवा र प्रचण्डबीच एक्लाएक्लै भेटवार्ता भएको थियो। 

तर सिट बाँटफाँटको क्रममा कांग्रेसले आफ्नो एकल बहुमतको प्रयासलाई प्रचण्डले असफल पार्ने खोजेका छन्। उनले गठबन्धनभित्रै पनि समाजवादी केन्द्रका रुपमा उपगठबन्धन खडा गर्न खोजेका थिए। तर त्यो तत्काललाई सम्भव भएन। 

कांग्रेसले भने माओवादी बाहेकको साना दललाई लिएर पनि सरकार गठन गर्ने गरी सिट बाँडफाँटमा भाग खोजेका माओवादी वृत्तमा चर्चा छ। गठबन्धनमा सिट संख्या, भावी प्रधानमन्त्री र बालुवाटार र खुमलटारको आन्तरिक स्वार्थको कारणले सहमति बन्न सकेको छैन। 

सिट बाँडफाँटमा देउवा लचकदार भए पनि शेखर कोइराला पक्षले सय सिटभन्दा तल झर्न नहुने भन्दै देउवालाई दबाब दिइरहेका छन्। प्रचण्डले नै नेतृत्व गरेर केपी ओली नेतृत्वको सत्ता बहिर्गनपछि अब चुनावपछि प्रचण्ड नै प्रधानमन्त्री हुनुपर्ने माओवादीका एक नेताले बताए। 

ती नेताले भने, ‘हामीले २३ सिट जितेर खुम्चिएर बसेको बेलामा सत्तामा पुर्‍याएर पहिले स्थानीय तहको निर्वाचनमा पहिलो शक्ति बनाइसकेका छौँ। अब चुनावपछि आलोपालो प्रधानमन्त्री हुनुपर्छ भन्ने हाम्रो माग हो। त्यसमा देउवाजीले पनि सोच्नुपर्छ।’

माओवादीले प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा अघि सार्दै गर्दा कांग्रेसबाट देउवासहित रामचन्द्र पौडेल र गगन थापाले प्रधानमन्त्रीको आकांक्षा व्यक्त गरिसकेका छन्। 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कांग्रेस महामन्त्रीसमेत रहेको थापाले आफ्नै पार्टी नेतृत्वमा आगामी निर्वाचनपछि पनि सरकार बन्नेमा कुनै अलमल नरहेको दाबी गरेका थिए। 

‘अहिले त अब गठबन्धन भएकाले गर्दा को, कहाँबाट लड्ने? त्यसको तालमेल मिलाउँदैछौँ। अहिले सम्पूर्ण ध्यान त्यसमा छ। केही दिनपछि हाम्रो ध्यान उम्मेदवारी चयनमा हुन्छ। त्यसपछि चुनावी अभियान शुरु हुन्छ। यो पटक निर्वाचन पनि जित्छौं हामी। हाम्रै नेतृत्वमा सरकार पनि बन्छ। त्यसमा पनि कुनै अलमल भएन‚’ उनको भनाइ थियो। 

एमाले-कांग्रेस अर्थपूर्ण संवाद

त्यसो त गठबन्धनमा सिट मिलाउन शीर्ष तहमा हम्मेहम्मे परेको वेलामा कांग्रेसले प्रमुख प्रतिपक्षी दल एमालेसँग संवाद बढाइरहेको छ। गत भदौ ७ गते कांग्रेसका प्रभावशाली नेता मिनेन्द्र रिजाल एमाले अध्यक्ष ओली निवास बालकोट पुगेका थिए। 

त्यसको भोलिपल्ट नै सत्ता बहिर्गनपछि पहिलोपटक ओली भदौ ८ गते प्रधानमन्त्री देउवालाई भेट्न उपाध्यक्ष सुवास नेम्वाङ र विष्णु पौडेललाई साथ लिएर बालुवाटार पुगेका थिए। उनले सत्ता पक्षले प्रतिपक्षसँग कुनै एजेण्डामा छलफल नभएरको भन्दै आक्रोश पोखेका थिए। 

त्यति मात्रै नभएर नभएर स्थानीय तहको निर्वाचनमा सत्ताको दुरुपयोग भएको भन्दै मंसिरमा हुने निर्वाचन निष्पक्ष गराउन माग गरेका थिए। गठबन्धनले प्रतिपक्षलाई बेवास्ता गरेर अघि बढेको भन्दै आगामी निर्वाचनमा एक्लै लड्न चुनौती दिएका थिए। 

ओलीले देउवालाई एक्लै चुनावमा लड्न चुनौती दिँदै गर्दा कांग्रेसकै संस्थापनइतर पक्ष गठबन्धनको पक्षमा उदार छैन। गठबन्धनमा भागबण्डा पेचिलो बनिरहेको बेलामा भदौ गत शुक्रबार शेखर कोइरालाले ओलीसँग भेट गर्न बालकोट पुगेका थिए।

गठबन्धनमा रस्साकस्सी चलिरहेका वेला शेखर बालकोट पुग्नुलाई ‘अर्थपूर्ण’ रुपमा हेरिएको छ। तर शेखरसँगको भेटबारे ओलीले विराटनगर पुगेर समसामयिक राजनीतिक परिदृश्यको विषयमा छलफल गरेको प्रष्ट पारेका थिए। 

‘उहाँसँग समसामयिक विषयमा कुराकानी भएको हो। चुनावको विषयमा पनि कुराकानी भयो। तर भेटलाई लिएर अनुमान र अड्कलबाजी आवश्यक छैन‚’ ओलीको भनाइ थियो।

ओलीले देउवालाई एक्लै लड्न चुनौती दिएलगत्तै शेखर बालकोट पुग्नुले गठबन्धनभित्र चलखेल भइरहेको राजनीति वृत्तमा चर्चा हुन थालेको छ। कांग्रेस र एमाले एक्लाएक्लै लडेर माओवादी, समाजवादीसहित साना दललाई एक्लाउने प्रयास भइरहेको चर्चा छ। 

देउवालाई आफूले गठबन्धन तोडे एमालेसँग मिलेर आफूलाई ०७४ सालझैं धक्का होला भन्ने भयकै कारणले गठबन्धन टिकेको छ। तर ओलीले एक्लाएक्लै लड्छौँ भनेर चुनौती दिइरहे पनि दोस्रो तहका नेताहरू अझै माओवादी केन्द्रका दोस्रो तहका नेताहरूसँग संवादमै रहेको एमाले प्रचारविभाग प्रमुख तथा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ स्वीकार गर्छन्। 

एमाले माओवादीसँग छलफल मात्रै गरे पनि राप्रपा, राप्रपा नेपाललगायत साना दलसँग तालमेलको खाका बनाइसकेको छ। 

बन्ला तेस्रो गठबन्धन ? 

सिट बाँडफाँटको क्रममा प्रचण्डले १६५ सिटको आधा कांग्रेसलाई दिएर आधा गठबन्धनका अन्य दललाई बाँड्ने प्रस्ताव गरेका थिए। तर कांग्रेस प्रचण्डको प्रस्तावमा सहमत छैन। 

कम्युनिष्ट पार्टीको पहिलो र कांग्रेसभन्दा थोरै सिटले मात्रै सानो पार्टी बनाउने प्रचण्डको रणनीति छ। त्यहीअनुसार उनले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग पार्टी एकतादेखि पूर्वसहकर्मी डा. बाबुराम भट्टराई र वामदेव गौतमलाई आफ्नो साथमा लिइसकेका छन्।

तर सिट बाँडफाँटको विषयले गठबन्धनमा विवाद नआउने माओवादी केन्द्रका सचिव शर्मा बताउँछन्। 

उनी भन्छन्, ‘धेरै दाबी गरेर गठबन्धनमा आफूलाई १ सिट भए पनि धेरै लिने सबै दलको प्रयास छ। तर सिट मिलाउन सबै लचिलो हुनुपर्छ र हुन्छ पनि।’
उनले सिट भागबण्डाले गठबन्धन नटुट्ने दाबी गरे। 

‘गठबन्धनको उद्देश्य यतिमात्रै होइन। अहिलेसम्मको उपलब्धिको रक्षा र संस्थागन गर्नका लागि गठबन्धन गरेका हौँ। सिटबारे छलफल गरेर टुंगिन्छ‚’ उनले भने, ‘अहिले कांग्रेसबाहेकका गठबन्धन बन्ने सम्भावना छैन।’

एकीकृत समाजवादीसँग एउटै घोषणापत्र बनाउनेबारे छलफल भइरहेको उनले बताए।

यस्तै, गठबन्धन दलहरूबीच सिट बाँडफाँटको अन्तिम गृहकार्य चलिरहेको कांग्रेस प्रवक्ता प्रकाशशरण बताउँछन्। सिटको विषयलाई लिएर गठबन्धन टुट्ने कुनै सम्भावना नभएको उनको दाबी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.