|

धनकुटा : नेपालको संविधान २०७२ को धारा ३१ मा शिक्षालाई मौलिक हक भनेर व्यवस्था गरेको छ। तर शैक्षिक सत्र शुरु भएको ४ महिना बित्दासमेत धनकुटाका जिल्लाभरिका विद्यार्थीहरूले नयाँ पाठ्यपुस्तक पाउन सकेका छैनन्।

यस वर्षको शैक्षिक सत्र जेठ १ गते शुरु भए पनि यहाँका आधारभूत तथा माध्यमिक तहका विद्यार्थीले पाठ्यपुस्तक नपाएको गुनासो गरेका हुन्। जिल्लाको साँगुरीगढी गाउँपालिका-७ महाभारतमा रहेको गोलखाडी माविका विद्यार्थीले अझैसम्म पनि नयाँ पुस्तक पाएको गुनासो गरेका छन्।

गोलखाडी माविको कक्षा ८ मा अध्ययनरत १४ वर्षीया विद्यार्थी विनिता राईले अहिलेसम्म पूरा सेट नयाँ पुस्तक नपाएको बताइन्। ‘हामीले शैक्षिक सत्र शुरु हुँदा नै नयाँ पुस्तक पाउछौँ भन्ने सुनेको थिएँ। तर हामीले अहिलेसम्म पूरा सेट पुस्तक पाएका छैनौँ ‚’ राईले भनिन्।

सोही विद्यालयको कक्षा ९ मा अध्ययनरत १५ वर्षीया सुदिक्षा राईले आफूसँग शिक्षा विषयको पुस्तक अहिलेसम्म नभएको बताइन्। उनले पुस्तक अभावले घरमा पढ्न र गृहकार्य गर्न समस्या भएको जानकारी दिइन्। गृहकार्य साथीको पुस्तक मागेर विद्यालयमै गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ।

विद्यालयका सहायक प्रधानाध्यापक वीरबहादुर राईले अभिभावक र विद्यार्थीले दैनिक आएर किताब खै भन्ने गरेको तर आगामी संसदीय निर्वाचनका कारण जनक शिक्षा सामाग्रीले छपाइमा ढिलाइ गरेको खबर आएको बताए।

विद्यालयका प्रधानाध्यापक हरिलाल शाहका अनुसार ७५ प्रतिशत विद्यार्थीले मात्रै नयाँ पुस्तकको सेट नै पाएका छन् भने बाँकी विद्यार्थीलाई कुनै न कुनै विषयको पुस्तक नपाएको जानकारी दिए। कतिपय कक्षा पार गरेका विद्यार्थीबाट पुराना पुस्तक मागेर काम चलाइरहेका छन्।

प्रधानाध्यापक शाहका अनुसार स्थानीय तहले दिने भुक्तानी दिइसकेको छ। तर पुस्तक उपलब्ध हुन सकेको छैन। ‘स्थानीय तहले पुस्तक विक्रेतालाई भुक्तानी दिइसकेको छ’, शाहले भने, ‘शैक्षिक सत्र शुरु भएको ४ महिना बित्दासम्म विद्यार्थी पुरानै पुस्तक पढ्न बाध्य छन्।’

यो पटक पाठ्यक्रम परिवर्तन भएको कक्षा ४, ६, ७ र ९ को पुस्तक पाउन समस्या भएको प्रधानाध्यापक शाहले जानकारी दिए। उनले अरु कक्षाका विद्यार्थीलाई नयाँ पुस्तक नआएसम्म पुराना पुस्तक खोजी गर्न भनिएको बताए।

सरकारले शैक्षिक गुणस्तर सुधारको बहस गरिरहेका वेला विद्यार्थीले पाठ्यपुस्तकसमेत नपाउँदा सरकारप्रतिको अविश्वास झनै बढेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मध्वज राईले बताए।

‘पाना च्यातिएको पाठ्यपुस्तक विद्यार्थीको हातमा छ। अनि कसरी शैक्षिक प्रगति गर्छन्?’‚ राईले भने, ‘शैक्षिक सत्र शुरु भएको ४ महिना बित्दा पनि अहिलेसम्म पाठ्यपुस्तक उपलब्ध हुन नसकेका कारण विद्यार्थीको पठनपाठन प्रभावित भएको छ।’

यता शिक्षा विकास तथा समन्वय एकाइ धनकुटाले पुस्तक अभावको गुनासो नै नआएको जनाएको छ। यो विषयमा बुझेर जनक शिक्षा सामग्रीलाई पुस्तक उपलब्ध गराउन पत्र काट्ने शिक्षा विकास तथा समन्वय इकाइ धनकुटाकी प्रमुख मोहन राईले बताए।

उनले पुस्तकको व्यवस्थापन मिलाउन शिक्षा विकासले समन्वय गर्ने जानकारी दिइन्। धनकुटामा जिल्लाका १ सय ९० ओटा आधारभूत र ९४ ओटा माध्यमिक विद्यालयमा करिब ३५ हजार विद्यार्थी अध्ययनरत रहेको शिक्षा विकास तथा समन्वय इकाइ धनकुटाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.