भुटानले खेल्ने एक मात्र अन्तरराष्ट्रिय प्रतियोगिता महिला साफ

|

इलाम :  छैटौँ महिला साफ च्याम्पियनसिपमा आज नेपालले भुटानविरुद्ध खेल्दै प्रतियोगिता सुरुवात गर्दै छ। नेपालका लागि भुटान सहज प्रतिस्पर्धी हो।

यसअघि भुटान र नेपालबीच ३ वटा खेल भएका छन्। तीनवटै खेल नेपालको पक्षमा रहेका थिए। अर्कोतर्फ नेपाल र भुटानबीचको संयोग हो तीन खेल, तीन क्लिनसिट जित र तेस्रो संस्करण।

नेपालविरुद्ध भुटानले हालसम्म एक गोल पनि गर्न सकेको छैन। नेपाल र भुटानबीचका सबै प्रतस्पर्धा साफ च्याम्पिनयसिपले नै जुराएको हो। तेस्रो संस्करणको ३ खेलमा भुटानले १९ गोल व्यहोर्न पुगेको छ।

तेस्रो संस्करणमा नेपालले पहिलोपटक भुटानको सामना गरेको थियो। सन् २०१४ मा पाकिस्तानमा भएको प्रतियोगितामा नेपालले खेल ८–० ले जितेको थियो। जिन्ना स्पोर्टस् स्टेडियम इस्लामावादमा भएको त्यही खेलबाट सावित्रा भण्डारी (साम्बा) ले राष्ट्रिय टोलीमा डेब्युका साथै गोल समेत गरिन्। उनको अन्तरराष्ट्रिय करियरको त्यो नै पहिलो गोल थियो।

नेपालका लागि सजना राना मगर, अनु लामा र दीपा अधिकारीले समान २-२ गोल गर्दा मेनुका गिरी र सावित्रा भण्डारीले १-१ गोल गरेका थिए।

दोस्रो प्रतिस्पर्धा सन् २०१६ मा भारतको सिलिगुडीमा भएको थियो। चौथो संस्करणको प्रतियोगिताको पहिलो खेलमा नै भुटान उही ८–० ले पराजित भएको थियो। सो खेलमा सावित्रा भण्डारीले दोहोरो ह्याट्रिक गरिन्।

शर्मिला थापा र कृष्णा खत्रीको नाममा १‚ १ गोल रह्यो। प्रतियोगितामा नेपाली टिमका मुख्य प्रशिक्षक कुमार थापा थिए। ६ वर्षपछि उनै कुमारको प्रशिक्षणमा नेपालले घरेलु मैदानमा साफ खेल्दै छ। अन्तिम पटक यी दुई टोली विराटनगरमा भिडेका थिए।

नेपालले पहिलोपटक आयोजना गरेको साफको उद्‌घाटन खेलमा अघिल्लो संस्करण भन्दा सुधारिएको खेल देखाउँदै भुटान ३–० ले पराजित भयो। नेपालको जितमा सावित्रा, मञ्जली योञ्जन र कप्तान निरु थापाले समान १-१ गोल गरेका थिए।  महिला साफको १२ वर्षे इतिहासमा पछिल्ला ५ संस्करणमा भुटान जितविहीन टोली हो। उसले ७७ गोल खाएको ५ भने ३ गोल गरेको छ। भुटानको पोष्टमा नेपालकी गोल मेसिन सावित्रा भण्डारीले मात्रै ८ गोल गरेकी छन्।

भुटानले खेल्ने एक मात्र अन्तरराष्ट्रिय प्रतियोगिता महिला साफ

हालसम्म भुटान ५ वटा अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी भएको छ। सन् २०१० यता अन्तरराष्ट्रिय महिला फुटबलमा सहभागिता जनाएको भुटानले १५ खेल खेलेको छ।

सहभागी सबै खेलमा ऊ पराजित भएको छ। अर्थात् भुटान एक मात्र जीतविहीन दक्षिण एसियाली टोली हो। उसले खेलेका ५ वटा अन्तरराष्ट्रिय प्रतियोगिता महिला साफ गेम मात्र हो।

भुटानले सन् २०१० बाट आयोजना हूँदै आएको हरेक साफ गेम बाहेक एउटा मैत्रीपूर्ण खेलमा सहभागी भएको छ। सन् २०१० मा उसले बंगलादेशविरुद्ध ढाकामा मैत्रीपूर्ण खेल ७–० ले गुमाएको थियो। त्यही खेल भुटानको डेब्यु खेल समेत हो। 

दक्षिण एसियाली खेलकुद (साग) मा सन् २०१० देखि महिला फुटबल समेत समावेश गरिँदै आएको छ।

भुटानी टोलीले साफ गेममा अहिलेसम्म महिला फुटबल विधामा सहभागिता जनाएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.