काठमाडाैं : सन् १९४० को दशक सम्ममा बेलायती लेखक तथा सञ्चारकर्मी जोन बोएन्टन प्रिस्टलीले एउटा लेखक तथा सञ्चारकर्मीको पहिचान बनाइसकेका थिए।
५० वर्षिय प्रिस्टलीले त्यति वेलासम्म एक दर्जनभन्दा बढी नाटक र उपन्यास तथा आधा दर्जन फिल्म लेखिसकेका थिए। तर, उनलाई केही कुरा जो उनी भन्न चाहन्छन् त्यो घाँटी मै अड्किरहेको छ जस्तो लाग्यो।
एउटा उच्च मध्यम परिवारमा हुर्केका प्रिस्टलीले खासै आर्थिक अभाव झेल्नु त परेन तर, अभावसँग लडिरहेकाहरूलाई देख्दा पनि उनको मन अशान्त हुन्थ्यो। मान्छेका स्वभाव तथा मान्छेले बनाएका असल चरित्र र खराब चरित्रका परिभाषा सुन्दा उनी अन्योलमा पर्थे। अड्किरहेका यस्तै कुराहरू समेटेर उनले एउटा नाटक लेखे, ‘एन इन्स्पेक्टर कल्स’, जुन पहिलो पटक सन १९४५ मा मञ्चन भयो।
‘डिटेक्टिभजनरा’मा लेखिएको उक्त नाटक त्यसपछि विश्वका विभिन्न भाषामा विभिन्न देशमा, विभिन्न निर्देशकको निर्देशनमा मञ्चन भयो। विश्वमा सबैभन्दा बढी मञ्चन भएका नाटक मध्ये यो पनि एक हो। यही नाटकमा आधारित रहेर फिल्म पनि बनेका छन्।
प्रिस्टलीको उत्कृष्ट सिर्जनामा गनिने उक्त नाटकको नेपाली अनुवाद यति वेला काठमाडौंको सिनामंगल स्थित पुरानो घर थिएटरमा मञ्चन भइरहेको छ। नेपाली थिएटरमा कमै देख्न पाइने डिटेक्टिभ जनरामा बनेको नाटक राजकमल फकिरको परिकल्पना, अनुवाद तथा निर्देशनमा तयार भएको हो।
‘एन इन्स्पेक्टर कल्स’बाट नाटक निर्देशकको रूपमा डेब्यु गरेका फकिरले प्रिस्टलीका पात्रलाई नेपाली परिवेशमा ढालेका छन्। नाटकको कथा यहाँको माटो सुहाउँदो बनेको छ। सबै ठाउँ र सबै समयमा सान्दर्भिक नाटकको परिचय बनाएको ‘एन इन्स्पेक्टर कल्स’को नेपाली अनुवाद पनि यहाँको लागि समय सान्दर्भिक बनेको छ।
समाजको एउटा प्रतिष्ठित परिवार जसलाई समाज र समाजका मान्छेको चिन्ता छ, देशको चिन्ता छ, जो एक हिसाबले देशको मेरुदण्ड हुन्, जसलाई जिम्मेवारी बोध पनि छ, जो विभिन्न राष्ट्रिय विभूषणको लागि योग्य पनि छ, जो..., जे होस् उक्त परिवारको मूली र अन्य सदस्यका यस्ता धेरै राम्रा कुरा छन्। सबै उल्लेख गरेर साध्य पनि छैन, उनीहरूका अनुसार।
सौर्य मल्लको परिवार त्यस्तै एउटा प्रतिष्ठित परिवार हो। नाटक सुरु हुँदा मल्ल परिवार निकै खुसी हुन्छ। किनकी मल्ल परिवार राणा परिवारसँग पारिवारिक सम्बन्ध बनाउने तयारीमा छ। जो मल्ल परिवार भन्दा पनि प्रतिष्ठित परिवार हो। दर्शकलाई उनीहरूको पारिवारिक उत्सवमा निम्तो मनाउन गएको जस्तो पनि लाग्न सक्छ।
मल्ल निवासको वैठक कोठाबाट सुरु भएको नाटक त्यहीँ सकिन्छ। कथा कोठाबाट बाहिर नगईकन, प्रप्समा धेरै हलचल नभइकन नाटक आफ्नो गतिमा अगाडि बढ्छ। कोठा बाहिरका दृश्य देख्न नपाए पनि दर्शकले नाटकका पात्रको भित्री चित्र भने देख्न सक्छन्। जुन नाटकको मुख्य विशेषता पनि हो।
दर्शकलाई आफू पनि नाटकको कुनै पात्र जस्तो लाग्न सक्छ, इन्स्पेक्टरले कुनै पनि वेला मलाई इशारा गरेर अब तपाईंको पालो भन्ने त होइन? भनेर मनमा अशान्त भइरहन सक्छ, मैले भर्खर के गरेर आएँ?, के अहिलेसम्म मैले गरेका सबै निर्णय, सबै काम सबै दोषमुक्त छन त? भित्रै एउटा जाँच चलिरहन सक्छ, यस्तै प्रश्न अनि उत्तरको खोजीमा डेढ घण्टाको नाटक सकिन्छ।
नाटकका सबै पात्र विभिन्न रंगमा रंगिएका छन्। जुन रंगहरू उनीहरूको वास्तविक रंग नहुन पनि सक्छ। पात्रहरूको वास्तविक रंग कुन हो? त्यही प्रश्नको उत्तर खोज्ने यात्रा नाटक हो। जतिवेला मल्ल निवासमा उत्सव चलिरहेको हुन्छ। त्यति नै वेला कुनै अर्को निवास शोकमा रोइरहेको हुन्छ। अथवा हुन सक्छ।
मल्ल निवासमा इन्स्पेक्टरको प्रवेशले नाटकलाई गति दिन्छ। इन्स्पेक्टरसँग यस्ता प्रश्नहरू छन् जसले अन्य पात्रको बाहिरी रंग पखाल्ने क्षमता राख्छ। र त्यो प्रश्नको छिटा दर्शकमा पनि पर्न जान्छ। जसले दर्शक पनि आफ्नो वास्तविक रंगलाई लिएर जिज्ञासु बन्न सक्छन्।
नाटक सुरु हुँदा कथा र पात्रको मनस्थिति एउटा सरल रेखा जस्तो छ तर, कथा अघि बढ्दै गर्दा त्यो सरल रेखा एउटा जेलिएको धागोको अलिकति टुप्पो जस्तो मात्रै लाग्छ। नाटकमा पात्रहरूले दर्शकले देख्ने गरी खाएको पहिलो पेग र अन्तिम पेगको बिचमा जति उतारचढाव यसको स्वादमा आयो, हरेक पात्रको छुट्टा छुट्टै अन्तरयात्रा र समग्र कथाको सुरुवात, विकास र अन्त्य रक्सीको बोतल र स्वादबाट पनि महशुस गर्न सकिन्छ।
नाटकमा आभाष अधिकारी, विजय ताम्राकार, शारदा अधिकारी, शिशिर शिवाकोटी, सरिता भुजेल, सदिन लुइँटेल र मोनिका थापाको अभिनय छ।नाटकका कलाकारको स्वास्थ्यमा समस्या आएपछि बुधबार र बिहिबारको मञ्चन रोकिएको छ। कलाकारको स्वास्थ्य अवस्था हेरि शुक्रबार अथवा शनिबारदेखि नाटकको नियमित मञ्चन सुरु हुनेछ।
भदौ १७ देखि मञ्चन सुरु भएको नाटक असोज ९ गतेसम्म चल्नेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।