कांग्रेस संस्थापनइतर पक्ष भन्छ : सय सिट नपाए मित्रवत प्रतिस्पर्धा गराैँ

|

काठमाडौं : ‘अहिले हामी विभिन्न पार्टीहरूसँग चुनावको तालमेल गर्दै अगाडि बढिरहेका छौँ। यो तालमेल गर्दै अघि बढ्दै जाने क्रममा नै हामी सिटको बाँडफाँड गर्न चाहिरहेका छौं। त्यो कति सम्भव छ, कति सम्भव छैन भन्ने बारेमा पनि प्रश्न उठेको छ‚’ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालको अभिव्यक्ति हो यो। 

अध्यक्ष नेपालको यो अभिव्यक्तिबाट सत्ता गठबन्धनलाई सिट बाँडफाँट सहज छैन भन्ने प्रष्ट बुझ्न सकिन्छ। तर नेताहरूले सहमतिनजिक पुग्न लागेको दाबी गर्दै आइरहेका छन्।  

गठबन्धनभित्र प्रदेशसभा र प्रतिनिधिसभाको सिट बाँडफाँडको विषय पेचिलो बन्दै गएको उनको भनाइ थियो। तर आफूहरूले भागबण्डालाई सम्भव बनाएर अघि बढ्न चाहिरहेको पनि उनले भन्न छुटाएनन्। 

तर पछिल्लो समय अध्यक्ष नेपालसहित गठबन्धन निर्माणमा निर्णायक भूमिका खेलेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उनको कुरा मिल्न सकेको छैन। 

मंगलबार प्रचण्डले गठबन्धनमा सहमतिनजिक पुगिसकेको दाबी गर्दैगर्दा माधव नेपालले गठबन्धनमै हलचलको आशय व्यक्त गरे। उनले सिट, क्षेत्र र प्रदेश एकैसाथ कार्यदलले टुंग्याउन अन्तिम तयारीमा रहेको बताएका थिए। 

‘कांग्रेसले एक सय सिट दाबी गरेको थियो ८० को वरिपरि आउने सम्भावना देखिएको छ। हामीले ६० भनेका छौं‚ थोरै तलमाथि होला। समाजवादीको २५ वरिपरि हुनसक्छ। यसैको आधार सबैजना बसेर टुंग्याउछौँ‚’ प्रचण्डको भनाइ थियो। 

तर प्रचण्डको अभिव्यक्तिमा सत्ता गठबन्धनका सबैभन्दा ठूला घटक कांग्रेसका महामन्त्री गगन थापा सहमत छैनन्। प्रचण्डले कांग्रेस ८० सिट वरपर सहमति जनाउने सम्भावना रहेको बताउँदै गर्दा महामन्त्री थापा सय सिटबाट तल झर्ने ठाउँ नभएको दाबी गर्छन्।  

‘हामी छलफलमै छौँ, सहमति बनिसकेको छैन। प्रचण्डले कसरी त्यस्तो अभिव्यक्ति दिनुभयो त्यो उहाँको कुरा होला तर हामी १०० सिटभन्दा तल झरेर सहमति गर्ने अवस्थामा छैनौँ‚’ उनको भनाइ छ। 

उनले गठबन्धन कार्यदलको बैठकमा सिट दाबीबाहेक अन्य प्रगति नभएको दाबी गरे। 

सत्ता गठबन्धनमा शीर्ष नेताहरूको अभिव्यक्तिमा एकरूपता नआउनाले गठबन्धनमा भागबण्डाको विषय पेचिलो बन्दै गएको आँकलन गर्न थालिएको छ। 

तर मंगलबारको बैठकपछि कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले आजको बैठकले शीर्ष नेतृत्वलाई प्रतिवदेन बुझाउने दाबी गरेका थिए। उनले सबैले जिते भन्ने गरी गठबन्धनमा सम्मानजनक रूपमा सहमति बन्ने उनले बताउँदै आइरहेका छन्। 

कांग्रेस र समाजवादीले अडान छाड्न नमान्दा समस्या भएको एक कार्यदलका सदस्यले बताए।

ती सदस्यले भने, ‘हिजोको बैठकमा हामीले कांग्रेसलाई साइजमा आउनुपर्‍यो भनेर दबाब दिएका छौँ। गठबन्धन पनि चाहिने, धेरै सिट खोज्ने मिलाउन नचाहने तपाईंहरूको कुरा प्रष्ट राख्नुस् भनेका छौँ। उहाँहरूले घटाएर ल्याउँछौँ भन्नु भएको छ।’

कांग्रेस र एकीकृत समाजवादी लचिलो भएर आए सहमति हुनसक्ने ती नेताको भनाइ छ। 

बैठकको श्रृखंला 

शीर्ष तहबाट ११ सदस्यीय सिट बाँडफाँटको लागि कार्यदल गठन गरेपछि निरन्तर बैठक बसिरहेको छ। तर बैठकपछि सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता कार्कीले भन्ने एउटा रेडिमेड जवाफ हो, ‘सहमतिनजिक छौँ। अब केही दिनमा टुंगिन्छ।’ 

तर उनले त्यस्तो जवाफ दिएको एक महिनासम्म पनि बैठकले मूर्त रूप लिन नसकेको एक नेताले बताए। 

ती नेताले भने, ‘सबै दलहरूले आ-आफ्नो तर्फबाट दाबी प्रस्तुत गरेपछि कोही पनि पछि हट्न तयार हुनुभएको छैन। सहमति गर्नुपर्छ भन्नेमा एकमत देखिए पनि सिट घट्ने कुरामा सबै दलको अझै विमति नै छ।’

साउन २० गते गठन भएको एक महिना बितिसक्दा समेत अझै कार्यदलले सिट बाँडफाँटको गाँठो फुकाउन सकेको छैन। दलहरूको आ-आफ्नो अडानले झन् झन् गाँठो कसिँदै गइरहेको छ। 

कार्यदल गठनपछि पहिलो पटक साउन २३ को पहिलो बैठक बसेको थियो। पहिलो बैठकले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई संयोजक चयन गरेर उठेको थियो। त्यसपछि साउनमा २५, २६ र ३० गते गरेर ३ वटा बैठक बस्यो तर कुनै प्रगति देखिएन। 

भदौ लागेपछि पनि कार्यदलका सदस्य निरन्तर बालुवाटार बैठकमा केन्द्रित रहिरहे। भदौ १, २, ३ र ७ गते तालमेलका आधारबारे छलफल गरे पनि निरन्तर निष्कर्षविहीन नै टुंगियो। 

कार्यदलको ९ औँ बैठकमा भदौ ९ गते मात्रै दलको तर्फबाट दाबी पेश गरेका थिए। प्रतिनिधिसभाको १६५ सिटमध्ये बैठकमा कांग्रेसले १००, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४० र जनता समाजवादी पार्टीले ३२ सिट र राष्ट्रिय जनमोर्चाले दुई सिटमा दाबी गरेका थिए। 

दलहरूले सिट दाबी गरेपछि झन् गठबन्धनमा सहमतिको प्रयास बिग्रिँदै गएको छ। दलहरूले आआफ्नो अडान नछोड्दा गठबन्धनमै हलचलको सम्भावना बढेको आँकलन गर्न थालिएको छ। 

सिट दाबीपछि पनि भदौ १२, १३, १४, १५ र १६ मा कार्यदलसहित शीर्ष नेताहरू पनि गृहकार्यमा जुटेका थिए। तर कुनै मार्ग पहिल्याउन सकेनन्। 

त्यसपछि साउन १७ गते निर्णायक भन्दै कार्यदलसँग शीर्ष नेताहरू निरन्तर ११ घण्टा जुटे तर कुनै सहमति बन्न सकेन। त्यसपछि १९, २०, २१ गते पनि निष्कर्षविहीन बन्न पुग्यो। प्रारम्भिक अध्ययनको आधारमा आज प्रतिवेदन तयार गरेको छ। 

‘सम्मानजनक रूपमा भागबण्डा हुनुपर्छ’ 

त्यसो त सिट बाँडफाँटको लागि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले हैसियतभन्दा धेरै मागेको कारणले मिलाउन समस्या परिरहेको कांग्रेसका नेताहरूले बताउँदै आइरहेका छन्। 

तर उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले भने प्रतिनिधिसभामा २४ सिटभन्दा तल नझर्ने अडान राख्छन्। 

उनी भन्छन्, ‘गठबन्धन सबैको फाइदाको लागि नै हो। न्यूनतम आधार र मापदण्ड तय गरेर भागबण्डा टुंग्याउनु पर्छ। तर हामीले अहिले २४ सिटभन्दा तल झर्न नसक्ने अडान लिएका छौँ।’

तर गठबन्धनमा पछिल्लो प्रस्तावअनुसार कांग्रेसलाई लोसपासहित ९० सिट, माओवादीलाई बाबुराम भट्टराई, महिन्द्रराय यादव, वामदेव गौतमसहित ४४ सिट, नेकपा एकीकृत समाजवादीलाई १८, जसपालाई १२ र राष्ट्रिय जनमोर्चालाई १ प्रस्ताव गरिएको छ। 

उनले स्थानीय तहको निर्वाचनका कांग्रेस र माओवादीले आफूहरूलाई धोका दिएको दाबी गर्दै अहिले सिटमा सौदाबाजी नगर्ने बताए। छलफलबाट सिट बाँडफाँटको निकास निस्कने भएकाले गठबन्धनको विकल्प नसोचेको बताए।  

राष्ट्रपति र प्रधानमन्त्रीको ‘बार्गेनिङ’!

यता, गठबन्धनमा सिटको बाँडफाँटको विषयले मात्रै नभएर चुनावपछि सरकारको नेतृत्वको विषयमा पनि विवाद भएको चर्चा चलिरहेको छ। 

कांग्रेसबाट प्रधानमन्त्री तथा सभापति देउवासहित रामचन्द्र पौडेल र गगन थापाले आकांक्षा व्यक्त गरिरहेका छन् भने माओवादीका अध्यक्ष प्रचण्डले पनि सार्वजनिक रूपमा इच्छा व्यक्त गरिरहेका छन्। 

तर कांग्रेसले आफ्नै नेतृत्वको सरकार बन्ने दाबी गरिरहेको छ। अहिले गठबन्धनमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभा अध्यक्षको विषयमा पनि नेताहरूबीच बार्गेनिङ चलिरहेको छ। 

तर अहिले सिटको समस्या सुल्झिएपछि मात्रै राष्ट्रपति, प्रधानमन्त्रीलगायतको विषयमा छलफल हुने माओवादी सचिव दिनानाथ शर्मा बताउँछन्। 

उनी भन्छन्, ‘राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाको अध्यक्ष को बन्ने भन्ने विषयमा मोटामोटी छलफल सिट बाँडफाँटपछि होला। अहिलेको प्राथमिकता भनेको बाँडफाँट नै हो। त्यसैले त्यसैमा केन्द्रित छौँ।’ 

गठबन्धनमा छलफल आवश्यक भए पनि अहिले प्रवेश नपाएको उनको दाबी छ। सिटको कुरा टुंग्याएर समानुपातिक उम्मेदवार टुंग्याएपछि मात्रै यो कुरामा छलफल हुने उनको भनाइ छ। 

‘सय सिट चाहिन्छ’

त्यसो त गठबन्धनमा भागबण्डाको किचलो बढ्दै गइरहेको बेलामा कांग्रेस संस्थापनइतर समूहका नेता अर्जुननरसिंह केसी कांग्रेसले सय सिटभन्दा कममा सहमति जनाउन नसक्ने दाबी गर्छन्। 

उनी भन्छन्, ‘दलहरूले धेरै दाबी गरेका छन्। त्यसलाई संयोजन गर्नुपर्छ साथीहरूले प्रयास गर्नुभएको छ। हामीले शुरूदेखि १०० सिट चाहिन्छ भनेका छौँ। हामीले त्यही दाबी गर्ने हो। अरू दलले पनि आफ्नो समस्या र दाबी हुन्छ। हामीले केही घट्नसक्छ भनेका छौँ। अझै अन्तिम निष्कर्षमा पुगेको छैन।’

१६५ सिटमध्ये ६० प्रतिशत कांग्रेसले नै पाउनुपर्ने उनले बताए। 

‘सभापतिजीलाई हामीले हाम्रो कुरा स्पष्ट रूपमा राखेको छौँ, त्यसभन्दा धेरै उहाँले बिफ्रिङ गर्नु पनि भएको छैन। अब कसरी अघि बढ्छ हामीले त्यहीअनुसार निर्णय गछौँ‚’ उनले भने, ‘हामीले मित्रवत प्रतिस्पर्धा गरौँ भनेका हौँ। स्थानीय तहमा पनि त्यही भनेका थियौँ। अहिले पार्टीले गठबन्धन गर्नुपर्छ भन्ने निर्णय गरिसकेपछि त्यसकै पक्षमा उभिएका हौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.