|

जुम्ला : मुगुका गमगढी निवासी दानसिंह विक कर्णाली स्वास्थ्य प्रतिष्ठानमा उपचारका लागि आएको एक हप्ता भयो। उनी दम रोग भएका ज्येष्ठ नागरिक हुन्।

उनी आफ्नो छोरा नवराज विकको उपचारका गर्न आएको बताउँछन्। उनको ४० हजार जति रुपैयाँ उपचार नगरी खर्च भइसक्यो। होटलको खाना र वासका कारण छोराको उपचारका लागि कसरी खर्च जुटाउने भन्ने चिन्ता छ।

उनी भन्छन्, ‘डाक्टरले उपचार गर्न मानेनन्।’ चिकित्सकले हाम्रो आन्दोलन छ भन्दै दिनप्रतिदिन फर्काउने गरेको गुनासो सुनाउँदै जुम्ला प्रशासनमा पुगेका छन्।

उनी सहित नौजना विरामी उपचार नपाएको भन्दै प्रशासन गुहार्न पुगेका छन्। त्यस्तै चन्दननाथ नौकी मन्नु दमाई छाती दुख्ने समस्या लिएर प्रतिष्ठान पुगेकी थिइन्।

प्रतिष्ठानका डाक्टरले आन्दोलन छ भन्दै उपचार नगरेको बताउँछिन्। उनले भनिन्, ‘बिरामीलाई दुःख दिने काम भएको छ। बिरामीको स्वास्थ्यभन्दा डाक्टरको आन्दोलन  ठूलो हो?’‚ उनले उपचार नगर्ने डाक्टरलाई कारबाही हुनुपर्ने माग गर्दै प्रतिष्ठान पुगेकी हुन्।

यही भदौ २ गते बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सी वाडमा ड्युटीमा रहेका  डाक्टर करण साहले बालकलाई उपचार गर्न नमानेपछि धनबहादुर शाहीलाई हातपात गर्न बाध्य बनाइएको थियो।

ड्युटीमा रहेका डा.करण साहमाथि कुटपिट भयो भन्दै प्रहरीले हिरासतमा राखेर अनुसन्धानमा राखेको छ तर डाक्टरले विभिन्न बहाना बनाएर उपचार नगर्दा  प्रतिष्ठानमा आउने बिरामीले सास्ती भोग्न बाध्य छन्। एसिया इन्टरनेशनल मोडेल इङलिस स्कुल, जुम्लामा कक्षा युकेजीमा अध्ययनरत चन्दननाथ नगरपालिका–२ जुम्ला भण्डारीवाडाका छ वर्षीय बालक पृथकविक्रम शाहीको उपचारमा डा.साहले बाल हिंसा गरेको भन्दै मुद्दा समेत दर्ता भएको छ।

बाल हिंसाको आरोपमा प्रहरीमा डा. साहविरुद्ध जाहेरी पर्‍यो र त्यसको अनुसन्धान गर्न प्रहरीले अदालतसँग पक्राउ अनुमति मागेको छ। अदालतले पक्राउ पुर्जी जारी  गरेको छ।

जुम्लाका नागरिकले डाक्टर करण साह र शाहीविरुद्ध परेको मुद्दामाथि अनुसन्धान भइरहँदा उपचार नगरेर सेवा बन्द गर्ने काम गरी तलब खाने गर्नुले सरकारी रकमको दुरुपयोग र जुम्लाका जनतामाथि अन्याय भएको भन्दै आन्दोलित भएका छन्।

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले जुम्लाका बासिन्दाले उपचार नपाउनु दुःखद भएको बताइन्। उनले प्रतिष्ठानका पदाधिकारी सरोकारवाला निकाय बसेर यो विवाद सुल्झाउनतर्फ छलफल गर्दै आएको बताइन्। आफ्नो स्कुलमा अध्ययनरत विद्यार्थीले उपचार नपाएको भन्दै एसिया इन्टरनेशनल मोडेल इङलिस विद्यालयका सबै विद्यार्थी आन्दोलित बनेका छन्।

त्यसैगरी यस विषयमा नागरिक समाजका अध्यक्ष राजबहादुर महत भन्छन्, ‘दुवै तर्फका सिसिटिभी फुटेज बाहिरिएका छन्। मुद्दा पनि दुवैतर्फ परेको दुवैको लगत देखिन्छ। यी दुईका विवादले जुम्ली नागरिकको उपचार रोक्नु दुःखपूर्ण छ। यो विवाद सबैले सुल्झाउन जरुरी छ।’ 

इमर्जेन्सीबाहेक सबै सेवा ठप्प, सेवाग्राही मर्कामा

डाक्टर पक्राउ पुर्जी जारी भएपछि चिकित्सक आन्दोलित भएको बताइएको छ। प्रतिष्ठानबाट बाहिरिएको पहिलो लटको सिसी टिभी फुटेजमा शाहीले डाक्टर  कुटेको मात्रै दृश्यमात्रै देखिन्छ। घटनाका आरोपी अहिले प्रहरी हिरासतमा छन्। केही दिनपछि दोस्रो सिसिटिभी फुटेज सार्वजनिक भएपछि पछिल्लो समय घटनाले अर्को मोड लिएको छ।

डा.साह कुटिनु भन्दा अगाडिको सीसी टिभी फुटेज सार्वजनिक भएपछि डाक्टरविरुद्ध जिल्ला प्रहरी कार्यालय जुम्लामा भदौ १३ गते बाल अधिकार हननको मुद्दा दर्ता भयो।

जिल्ला अदालत जुम्लाले डा.साहका नाममा भदौ २० गते पक्राउ पुर्जी जारी गरेपछि झूटा मुद्दा लगाइएको भन्दै प्रतिष्ठानका स्वास्थ्यकर्मी आन्दोलित भएर भदौ २१ गतेदेखि इमर्जेन्सी बाहेक अरू सबै सेवा ठप्प छन्। आन्दोलनकै क्रममा चिकित्सकले इमर्जेन्सीबाहेक सबै सेवा बन्द गर्ने घोषणा गरेका छन्। चिकित्सकले आन्दोलित भएर इमर्जेन्सीबाहेक अरू सबै सेवा ठप्प बनाएपछि सेवाग्राही मर्कामा परेका छन्।

यही भदौ २ गते बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सी वाडमा ड्युटीमा रहेका  डाक्टर करण साहले बालकलाई उपचार गर्न नमानेपछि धनबहादुर शाहीले हातपात गरेका थिए।

चिकित्सकहरूले भदौ २१ गते सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा ‘भयपूर्ण वातावरणमा सेवा दिन असमर्थ रहेको’ भनी उल्लेख छ। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.