|

बागलुङ : नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन पर्यटकीय हिसाबले पनि निकै चर्चित ठाउँ हो। यहाँ आन्तरिकसँगै वाह्य पर्यटकसमेत आउने गर्छन्।

विदेशी पर्यटक वर्षको दुई पटक यहाँ आउने गर्छन् भने आन्तरिक पर्यटक बाह्रै महिना पुग्ने गर्छन्। विदेशी पर्यटक असोजदेखि मंसिर र फागुनदेखि बैसाखको बीचमा सिकार खेल्नका लागि मात्र आउने गर्छन् भने आन्तरिक पर्यटक हिउँदमा हिउँ खेल्न र बर्खामा गर्मी छल्न ढोरपाटन पुग्छन्।

तर ढोरपाटन जति चर्चित छ, त्यति पर्यटक भने पुग्न सकेका छैनन्। त्यसको मुख्य कारण हो- सडक। राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकको ट्र्याक खुलेको एक दशकभन्दा बढी भइसक्दा पनि स्तरोन्नति हुन सकेको छैन।

ढोरपाटनको प्रवेशद्वारका रुपमा रहेको बुर्तिबाङ बजारसम्म सडक राम्रो छ। जब ढोरपाटन जानका लागि बुर्तिबाङ बजार पार गरिन्छ, तब सडकको दुरावस्था शुरु हुन्छ। सडकका कारण आन्तरिक पर्यटक पनि अपेक्षित रुपमा ढोरपाटन पुग्न सकेका छैनन्।

ढोरपाटन पुगेर फर्किने पर्यटकले पनि निकै दुःख पाउने गरेको गुनासो गर्छन्। चितवनदेखि ढोरपाटन घुम्न पुगेका रमेश बस्यालले अप्ठ्यारो सडकका कारण दुःख पाउनु परेको बताए। बस्यालले ढोरपाटनको नाम धेरै पटक सुनेको र घुम्न आएको भन्दै अप्ठ्यारो सडकका कारण गाडी बिग्रिँदा बाटोमा बिजोग भएको सुनाए।

‘ढोरपाटनको नाम जति चर्चित छ, त्यति सुन्दर पनि रैछ, तर त्यहाँसम्म पुग्ने सडक निकै खराब रैछ। बाइकमा जाने त संभावना नै रहेनछ, गाडीमा पनि निकै मुस्किल हुँदो रैछ। धेरै नाम सुनेको र सामाजिक संजालमा फोटो देखेर घुम्न आएको निकै दुःख पाइयो,’ बस्यालले भने‚ ‘जाने बेलामा बाटोमा गाडी बिग्रियो, रातिको बेला निकै समस्या भयो, झण्डै बितरा परियो। ३ दिन बिदा लिएर आएको गाडी बिग्रिँदा एक दिन ढिला भयो, सडक निकै जोखिमपूर्ण रैछ।’

सालझण्डी-ढोरपाटन सडकलाई पर्यटकीय सडकका रुपमा पनि लिइन्छ। सडकका कारण स्थानीयलाई पनि सास्ती भएको छ।

ढोरपाटन नगरपालिका वडा नम्बर ९ का खिमबहादुर सुनारले सडकका कारण टाढा–टाढाबाट आउने पर्यटकले दुःख पाएको बताए। उनले यो सडकमा ट्रयाक्टरबाहेक अरु हिँड्न नसक्ने भन्दै गाडी लिएर आउने पर्यटक बाटोमा समस्यामा पर्ने गरेको उनी बताउँछन्।

‘यो बाटो खुलेको धेरै वर्ष भयो अहिले पनि यस्तो अवस्थामा छ। अझ दुई वर्षअगाडि आएको बाढीले धेरै ठाउँमा निकै अप्ठ्यारो बनाएको छ, यस्तो सडकमा ढोरपाटन जाने पर्यटकहरु आउँछन्,’ सुनारले भने‚ ’सडकको हालत निकै खराब छ, ट्रयाक्टर पनि राम्रोसँग हिँड्न सक्दैन, यस्तो सडकमा पर्यटकहरुले राम्रो–राम्रो गाडी लिएर आउँछन्, गाडी कहिले हिलोमा फस्छ, कहिले खाल्डोमा अड्किन्छ। त्यसले गर्दा पर्यटक निरास भएर फर्किन्छन्, बाटो राम्रो हुन्थ्यो भने कति धेरै पर्यटक आउँदा हुन्? अहिले यस्तो बाटो छ र पनि पर्यटक आइराखेका छन्।’

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण) ले सडक खुलेको दशकभन्दा बढी भए पनि कालोपत्रे नहुँदा अपेक्षाअनुसार ढोरपाटनमा पर्यटक भित्र्याउन नसकेको बताए।

सालझण्डी–ढोरपाटन सडकको नाम दिए पनि काम भने अर्घाखाँचीसम्म मात्रै हुँदा अपेक्षित रुपमा पर्यटक ढोरपाटन ल्याउन नसकेको उनको गुनासो छ।

‘ढोरपाटन पर्यटकीय हिसाबले देशकै उत्कृष्ट गन्तव्य हो, तर यहाँसम्म पुग्ने सडकको अवस्था निकै जोखिमपूर्ण छ। सडकको नाम ढोरपाटनसँग जोडियो काम भने अर्घाखाँचीतिर मात्रै भयो,’ उपप्रमुख कायतले भने‚ ‘बुर्तिबाङदेखि ढोरपाटनसम्मको सडक राम्रो हुन्थ्यो भने वर्षमा हजारौँ पर्यटक ढोरपाटन ल्याउन सकिन्थ्यो, सडकको यस्तो अवस्था हुँदा निकै समस्या भयो।’

कायतले सडकका कारण ढोरपाटन क्षेत्र पछाडि परेको बताए। विकासको मुख्य आधार सडक भएको भन्दै सडकको दुरावस्था हुँदा ढोरपाटन क्षेत्र पिछडिनु परेको उनको भनाई छ।

उपप्रमुख कायत भन्छन्‚ ‘ढोरपाटनले पर्यटनका हिसाबले निकै संभावना बोकेको छ तर सडकले गर्दा यो क्षेत्र नै पछाडि भयो, वर्षौंदेखि सडकको यो अवस्था छ। एउटै सडकको पनि दक्षिण काम हुने यस क्षेत्रमा काम नहुँदा हामी पछाडि पर्नु परेको छ।’

उनले ढोरपाटन आउने पर्यटक सडकको दुरावस्थाका कारण बुर्तिबाङ बजारबाटै फर्किने गरेको बताए। उनले ढोरपाटन नामले विश्वमा चिनिए पनि कामले भने निकै पछाडि परेको बताए।

‘ढोरपाटन जान धेरै पर्यटक आउँछन्, सडकको अवस्था देखेर कोही बुर्तिबाङ बजारदेखि नै फर्किएर अन्तै जान्छन् भने कोही सहीखोला, दोगाडी र बोबाङसम्म पुगेर फर्किन्छन्। सडकको अवस्था नफेरिएसम्म पर्यटकलाई ढोरपाटन लैजान समस्या छ, ढोरपाटन नामले विश्वमा चिनियो तर कामका हिसाबले निकै पछाडि रह्यो’‚ उपप्रमुख कायतले भने।

उनले सडकको काम तत्काल शुरु गर्न सालझण्डी–ढोरपाटन आयोजनालाई आग्रह गरेको र अहिले टेण्डर आह्वान भइसकेको बताए।

बुर्तिबाङ मध्यपहाडी लोकमार्गले जोडिए पनि ढोरपाटन जोडिएको छैन। बागलुङ सदरमुकाम हुँदै बुर्तिबाङ जोडिएको लोकमार्ग निसीखोला हुँदै रुकुम जोडिएको छ।

ढोरपाटन पुग्न सालझण्डी–ढोरपाटन सडक हुँदै जानु पर्छ। यो सडक अर्घाखाँची हुँदै आएको छ। अर्घाखाँची क्षेत्रमा सडक स्तरोन्नति भइसके पनि बागलुङ खण्डमा हुन सकेको छैन। ढोरपाटन बुर्तिबाङदेखि ३२ किलोमिटरको दूरीमा छ। यहाँसम्म पुग्नै पूरै कच्ची सडकमा सकसपूर्ण यात्रा गर्नु पर्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.