|

काठमाडौँ :  इन्द्रजात्रा अवलोकन गर्न बोलाइएका पाहुनालाई काठमाडौँ महानगरपालिकाले बिदाइ गरेको छ। जात्राको अवलोकन, बसन्तपुर, हाँडीगाउँसहित भक्तपुर, ललितपुर र कीर्तिपुरको सम्पदा पद यात्रा, आन्तरिक भेट तथा छलफलसहित कार्यक्रम समापन गर्दै उनीहरुको विदाइ गरिएको हो। 

विदाइ अवसरमा राष्ट्रिय सभा गृहमा औपचारिक समारोह आयोजना गरिएको थियो। त्यस अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले, पर्वलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा प्रवर्धन गर्न काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेका कामको प्रशंसा गरेका थिए।

मन्त्री श्रेष्ठले भने,‘जात्राको गरिमा बढाउन महानगरले गरेका कामप्रति सरकारकाे तर्फबाट आभार प्रकट गर्न चाहन्छु।’ मौलिक, सामाजिक तथा सांस्कृतिक महत्व बोकेको पर्वले दिएको उमङ्ग र एकतालाई सन्देशका रुपमा ग्रहण गर्नुपर्ने उनको भनाइ थियो।

समारोहमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले, काठमाडौँ उपत्यकाको नेवाः सभ्यताले नेपालको परिचय दिने भएकोले यसलाई अन्तराष्ट्रियकरण गर्नुपर्ने बताए। ‘नेवाः सभ्यताभित्र परिचितमध्येको एक येयाँ पुन्ही अर्थात् इन्द्रजात्रामा गरिने हरेक सांस्कृतिक चाल चलनले सहरलाई जीवन्त देखाएका छन्।

मूर्त अमूर्त सांस्कृतिक सम्पदासँग सम्बन्धित पर्वको जीवन्तता विश्वव्यापी रुपमा फैलाउनुपर्छ।’ यस बर्ष भगिनी सम्बन्ध भएका सहरबाट आमन्त्रण गरेका पाहुना मार्पmत यहाँको परिवेश प्रवर्धन गरेको उनको भनाइ थियो। पर्वकै कारण अन्तर्गत सम्बन्ध गाढा भएको, आपसी सहयोग र सहकार्य थप मजबुत भएको प्रमुख शाहको भनाइ छ। 


संस्कृति बचाउनु स्थानीय सरकारको दायित्व हो। जात्रा हेरेपछि गहिरो गरी महसुस भयो, कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले बताए। ‘इन्द्र जात्राको गरिमा म विराटनगर बासीलाई सुनाउनेछु।’ विराटनगरमा महाभारत कालीन तथा जनक राजासँग सम्बन्धित कथासँग जोडिएका ठाउँ छन्।

काठमाडौँको इतिहास लिच्छ वीकाल, मल्लकालसँग सम्बन्धित छ। नेपालका हरेक ठाउँका फरक पहिचान हुनु हाम्रो विशेषता हो। यसलाई आन्तरिक समन्वयबाट फैलावट गर्नुपर्ने उनको भनाइ थियो। 

राष्ट्रिय,अन्तरराष्ट्रिय रुपमा जात्राको गौरव प्रवर्धनतर्फ महत्वपूर्ण उपलब्धी हासिल भएको काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताइन्। ‘भगिनी सम्बन्ध आर्थिक लेनदेनभन्दा माथिको हुन्छ। यसपटकको कार्यक्रमबाट भगिनी सम्बन्ध भएका सहरसँगै सिमाना जोडिएका छिमेकी नगरसँगको सम्बन्ध पनि थप प्रगाढ भएको छ  उनको भनाइ थियो।

त्यस्तैगरी  मेलम्ची नगरकी उपप्रमुख उमा प्रधानले भन्नुभयो, ‘व्यवस्थित रुपमा पर्वको अवलोकन गर्न पाइयो। पर्व वास्तवमै अलौकिक रहेछ।’ जात्राको जीवन्तताका विषयमा कुरा गर्दै, संयुक्त राज्य अमेरिकाको फेड्रिस्वर्ग नगरका प्रतिनिधि स्कट हेनरी देलिसीले, जात्रा प्रवर्धन योग्य भएको बताए।

 आफैँ भित्रका सम्पदा क्षेत्रको अवलोकन भ्रमण 

निम्तालु हरुलाई हनुमानढोका दरबार क्षेत्र आसपासका सम्पदा क्षेत्र र हाँडीगाउँका सम्पदा क्षेत्रको अवलोकन भ्रमण गराइएको थियो। सम्पदा मार्गको यात्राका क्रममा मूर्त अमूर्त सांस्कृतिक सम्पदाका बारेका जानकारी गराइएको थियो। जुद्ध सालिकबाट सुरु भएको सम्पदा पद यात्रा काष्ठमण्डप, मरुहिटी, मरु गणेश, यट्खाबहाल, नरदेवी, किलागल, इन्द्रचोक हुँदै बसन्तपुर फर्किएको थियो।

त्यस क्रममा इन्द्र जात्रासँग सम्बन्धित सामाजिक तथा सांस्कृतिक गतिविधि, हिटी संस्कृति, पुलुकिसी घर, आकाश भैरव, देशेमरु झ्याःसहितका सांस्कृतिक गतिविधि अवलोकन गरिएको थियो। त्यस्तै मठमन्दिर, देवालय, चोक तथा यससँग जोडिएका घटनाका विषयमा जानकारी गराइएको थियो।  

वडा नं. ५ सँगको समन्वयमा हाँडीगाउँ क्षेत्रमा गराइएको अवलोकन भ्रमणका क्रममा स्थानीय भेष भुषा, सामाजिक तथा सांस्कृतिक चालचलनको प्रत्यक्ष अवलोकन गराइएको थियो। स्थानीय बाजागाजा सहितको पद मार्गका क्रममा माटाका भाँडा बनाउने, कपडा बुन्ने, सामाजिक खाना तथा परिकार निर्माणजस्ता क्रियाकलापको अवलोकन गराइएको थियो। यसै गरी विश्व सम्पदा क्षेत्र स्वयम्भू स्तुप परिसरको अवलोकन गराइएको थियो। यसका लागि वडा नं. १५ ले व्यवस्थापन गरेको थियो। 

छिमेकी नगरको अवलोकन 

पाहुनाहरूलाई काठमाडौँ महानगरपालिकाले भक्तपुर नगरसँगको समन्वयमा भक्तपुर दरबार स्क्वायर, ललितपुर महानगरसँगको समन्वयमा पाटन दरबार स्क्वायर अवलोकन भ्रमण गराएको थियो। 

भ्रमणका अवसरमा भक्तपुर नगरका प्रमुख सुनिल प्रजापतिले, आफूसँग भगिनी सम्बन्ध भएका नगर प्रमुख, उपप्रमुख तथा प्रतिनिधिलाई उपत्यकाका नगर हरुको भ्रमण गराउनु काठमाडौँ महानगरपालिकाको महत्वपूर्ण काम भएको उल्लेख गरेका छन्। यसले काम एउटै, जिम्मेवारी एउटै भएका पालिकाहरुको भौगोलिक, सामाजिक तथा सांस्कृतिक परिवेश बुझ्न सजिलो भएको उनको भनाइ थियो।

भक्तपुर नगरले सभा कक्षमा आयोजना गरेको स्वागत कार्यक्रममा संक्षिप्त धारणा राख्दै काठमाडौँ महानगरका प्रमुख साहले, पूर्वाधार निर्माण, जनजीविका र आर्थिक प्रवाहको स्थानीय व्यवस्थापनमा भक्तपुरबाट धेरै सिक्न सकिने बताए।

काठमाडौँ महानगरपालिकाले यस बर्ष कीर्तिपुरलाई पनि सम्झना ग¥यो। अवलोकन भ्रमणका क्रममा कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीले, उपत्यकाको सभ्यतासँग जोडिएका महत्वपूर्ण स्थान र घटना कीर्तिपुरमा भएकाले यसको पृथक पहिचान भएको उल्लेख गरेका थिए।

जात्रा हेर्न आएका पाहुनाहरू

​यस बर्षको इन्द्रजात्रा अवलोकन गर्न काठमाडौँ महानगरले भगिनी सम्बन्ध भएका राष्ट्रिय ५ वटा र अन्तरराष्ट्रिय १८ वटा नगरलाई आमन्त्रण गरेको थियो। विश्वव्यापी रुपमा फैलिएको कोभिड संक्रमणका कारण अन्तरराष्ट्रिय नगरबाट सहभागीको संख्या कम रह्यो।

यसमा संयुक्त राज्य अमेरिकाको फेड्रिस्वर्गबाट स्कट हेनरी विदेशीसहित २ जना उपस्थित रहेका थिए। माल्दिभ्सको मालेबाट काठमाडौँका लागि प्रस्थान गरेका प्रतिनिधि जहाज छुटेका कारण समयमा आइपुग्न सकेका थिएनन्।

भगिनी सम्बन्ध भएका सबै नगरबाट प्रमुख, उपप्रमुखसहित प्रतिनिधिहरू आएका थिए। यसरी सहभागी हुनु हुनेमा डडेल्धुराको अमरगढी नगरका प्रमुख डिल्लीराज जोशी, जुम्लाको चन्दननाथ नगरका प्रमुख राजुसिंह कठायत, नवलपरासी वर्दाघाट पश्चिम, रामग्राम नगरका प्रमुख धनपत यादव, सिन्धुपाल्चोकको मेलम्ची नगरका प्रमुख आइतमान तामाङ,  धनकुटाको पाख्रीबास नगरबाट ज्ञानबहादुर गुरुङसहित उपप्रमुखहरू तथा पदाधिकारीसहित अवलोकनका लागि उपस्थित भएका थिए।

यस बर्ष जात्राका ८ दिने सांस्कृतिक कार्यक्रमहरु भदौ १३ गते सोमबारबाट सुरु भएका हुन् । यस दिन विहान ९ बजेर १७ मिनेटको साइटमा बन प्रस्थान गरेर सोही दिन बेलुका ८ बजेर ९ मिनेटको साइतमा इन्द्र ध्वजका रुपमा गाडिने रुख कटान भएको थियो । १९ गते आइतबार विहान ७ बजेर २४ मिनेटको साइतमा इन्द्र ध्वजलाई नगर प्रवेश गराइयो । भदौ २२ गते बुधबार विहान ७ बजेर १७ मिनेटको साइतमा इन्द्र ध्वज उत्थान गरिएको थियो । 

भदौ २४ गते सुरु भएको कुमारी रथ यात्रा अन्तर्गत त्यसदिन तल्लो टोलमा घुमाइयो । त्यस्तै २५ गते माथिल्लो टोलमा रथ घुमाइयो । भदौ २९ गते नानिचा यात्रा रहेको छ । यसै दिन साँझ ७ बजेर ३३ मिनेटको साइतमा इन्द्र ध्वज ढालेपछि यस बर्षको जात्रा सकिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.